दैलेखमा बढ्दै पायल्सका बिरामी

दैलेख । दैलेखमा पायल्सका बिरामी बढ्दै गएको पाइएको छ । पछिल्लो समय आरामदायी जनजीवन र खानपिनका कारण दैलेखमा पायल्सका बिरामी बढ्दै गएको पाइएको हो ।
शनिबार आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजनामा जिल्लाको चामुन्द्राविन्द्रासैनी नगरपालिकामा भएको आयुर्वेद तथा योग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविरमा आएका बिरामीहरू मध्य अधिकांश बिरामीहरू पायल्सका बिरामी भेटिएपछि दैलेखमा पायल्सका बिरामीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

स्वास्थ्यकर्मीका अनुसार पायल्स मलद्वारसँग सम्बन्धित रोग हो । यो समस्या भएपछि दिसा गर्दा दुख्ने र बिस्तारै रगत देखिने, मलद्वारमा रगतका साना साना नलीहरू हुन्छन् । पायल्स भएमा ती नली फुल्दै जान्छन् । यसरी फुल्लेका रगतका नलीहरू बिस्तारै बाहिर निस्कन्छन् यसलाई नै चिकित्सकले पायल्स भन्ने गरेको आयुर्वेद चिकित्सक डा. प्रज्ञा उपाध्यायले बताइन् । उनका अनुसार मलद्वारको समस्या भएकाले धेरैले यो समस्या लुकाउने गरेका छन् । उपचारका लागि जाँदा गोप्य अंग देखाउनुपर्ने भन्दै धेरैले खुलेर समस्या बताउन चाहँदैनन् । समस्या बढ्दै गएपछि अन्तिम समयमा मात्र उपचारका लागि चिकित्सकसम्म पुग्ने हुँदा शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ ।

जयदेव माध्यमिक विद्यालयको प्रांगणमा सञ्चालन गरिएको एक दिवसीय निःशुल्क आयुर्वेद तथा योग स्वास्थ्य शिविरमा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका १ सय ३० महिला र १ सय ४३ पुरुष गरी जम्मा २ सय ७३ जनाले बिरामीले सेवा लिएका छन् ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले यहाँका नागरिकहरूको स्वास्थ्य अवस्थालाई लिएर शिविर गरिदिएकोमा आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखलाई धन्यवाद दिए । उनले यस्ता कार्यक्रममा सबैको सहकार्य हुनुपर्ने बताउँदै नगरपालिकाले पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको बताए । नगरको स्वास्थ्य शाखाले पनि बेलाबेलामा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको जानकारी दिए । नागरिकको स्वास्थ्य भन्दा ठुलो कुरा अरू केही नभएकोले सबै नागरिकले आआफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोधसमेत गरे ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रामप्रसाद महतोले जनतालाई सेवा दिने उद्देश्य भए पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग बजेट अभाव भएका कारण स्थानीय सरकारले सहयोगको भावना विकास गरे आयुर्वेद स्वास्थ्य सेवाले निरन्तरता पाउने बताए । शिविरमा विभिन्न किसिमका सर्ने, नसर्ने रोगका बिरामी जस्तै पायल्स, बाथ, अम्लपित्त, श्वासप्रश्वास, मुटुसम्बन्धी समस्या, माइग्रेन, पिसाबसम्बन्धी समस्या तथा महिलासम्बन्धी रोग, सेतोपानी बग्ने, महिनावारी हुने बेला पेट दुख्ने समस्या भएका बिरामीलाई डाक्टरहरूले चेकजाँच गरेका थिए । शिविरमा ३४ किसिमको औषधि वितरण गरिएको थियो ।

प्रतिक्रिया