आर्टस् होटलमा कला प्रदर्शनी

काठमाडौं । अग्रज तथा नवपुस्ताका चार दर्जन बढी कलाकारका कलाकृतिको एकहप्ते ‘तेस्रो वार्षिक चित्रकला प्रदर्शनी २०२३’ सुरु भएको छ । लायन्स क्लब अफ काठमाडौं फाइन आर्ट्सको आयोजनामा शुक्रबार ठमेलस्थित होटल आर्टस्मा भएको प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एक समारोहका बीच उद्घाटन गरे । उनले प्रदर्शनीले अग्रज पुस्तादेखि नयाँ पुस्ताका कलाकारलाई एक ठाउँमा ल्याएको बताए । उनले भने, ‘नेपाली कलालाई सामाजिकरण गर्ने सन्दर्भमा क्लबले काम गरिरहेको छ । यसले कलालाई देशभित्र तथा बाहिर चिनाउन मद्दत पु¥याउने आशा राख्न सकिन्छ ।’

प्रतिष्ठानका कुलपति हार्तम्छालीले देशको सांस्कृतिक परिवेशलाई कलाकारले कलामार्फत उठाएको विचार व्यक्त गरे । उनले भने, ‘समाजसँग कला र कलासँग समाजलाई जोडेर काम गर्न थाल्नुभएको रहेछ । साथै नेपाली कलालाई नेपालदेखि अन्तर्राष्ट्रिय स्तरमा जोड्ने काम गर्नुपर्छ ।’ उनले कलाको सन्दर्भमा सिर्जना नै प्रमुख कुरा भएको बताउँदै प्रदर्शनीपछि कला मूल्यांकनमा पनि जाने बताए । सो अवसरमा क्लबका पूर्वअध्यक्ष तथा कलाकार नगेन्द्रप्रसाद पौड्यालले प्रदर्शनीले नेपाली कलामा नयाँ सम्भावनाको ढोका खोलेको बताए । उनले कला प्रदर्शनीले नेपाली परिवेश र समसामयिक परिवेशलाई कलात्मक रुपमा उठान गरेको जिकिर गरे । उनले भने, ‘क्लबले छोटो समयमै निकै राम्रा काम गर्न सफल भएको छ । यसलाई अझै व्यवस्थित रुपले अगाडि बढाउनु पर्दछ ।’

लायन्स क्लब रिजन चेयरपर्सन ३२५ आइका संगीता केसीले नेपाली कला र संस्कृतिलाई विश्वव्यापी बनाउन क्लबले काम गर्दै आएको जनाइन् । उनले नेपालीपनलाई चिनाउन यस्ता प्रदर्शनी निकै फलदायी हुने विश्वास व्यक्त गरिन् ।
उद्घाटन कार्यक्रममा लायन्स क्लब अफ फाइन आर्ट्सका उपाध्यक्ष किरण सिगुले प्रदर्शनीमार्फत कलामा अग्रज र नयाँ पुस्ताका कलाकारलाई जोडेको बताए । उनले आगामी दिनमा क्लबले भिन्न र सिर्जनशील कार्यक्रम गर्ने जानकारी दिए । लायन्स क्लब अफ फाइन आर्ट्सका अध्यक्ष चिरञ्जीवी भट्टले कलामार्फत नेपाली संस्कृतिलाई विश्वमा चिनाउने गरी काम गरेको सुनाए ।

उनले भने ‘कलाकारले त्याग गरेको हुन्छ । तथ्यांक त्यसको मूल्यांकन तपाईंहरूले गर्नुहुनेछ ।’ उनले कलाक्षेत्रमा केही पृथक कार्य गर्ने उद्देश्यका साथ सन् २०१९ ताका लायन्स क्लब अफ फाइन आर्ट्सको स्थापना गरिएको बताए । कार्यक्रममा अग्रज कलाकार राधेश्याम मुल्मी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, परम्परागत शिल्पकला विभाग प्रमुख पाल्साङ्गमो लामा लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

अप्रिल ६ सम्म चल्ने प्रदर्शनीमा ४९ स्वदेशी र एक विदेशी कलाकारका कलाकृति राखिएको छ । प्रदर्शनीमा अग्रज कलाकार केके कर्माचार्य, राधेश्याम मुल्मी, नगेन्द्र प्र. पौड्याल, महेश आचार्य, राजेश मानन्धर, रमेश कुँवर, डिबी राई, डि राम पाल्पाली, धन याख्खा, भिम ब.श्रेष्ठ, चिरञ्जीवी भट्ट, एनबि गुरुङ, निमबहादुर तामाङ, किरणकुमार सिगु, आवरण पौडेल, मनारा प्रजापति, अमन ठाकुर, अंकित महतो, अर्जुन देशार, विनिता इजम, विनोद गिरी, विनोद लिम्बु, विशाल लिम्बु, दिपक कुँवर, डिल्लीकृष्ण आले, गिरीराज शर्मा, जे.जी. विल्स, जनक अधिकारी, जितेन्द्र लामा, जीवन तामाङ, ज्योति खड्का, कृष्ण मुनिकार, नवाङ्ग ग्युर्मे लामा, प्रकाश मिजार, प्रतिभा खड्का, लक्ष्मी मास्के (पुनम), पूर्ण वनेम, राजकृष्ण महर्जन, रञ्जु दर्नाल, रेविका शाक्य, सविन आचार्य, सञ्जिव मगर, सरुनादेवी महर्जन, श्रेया हाडा श्रेष्ठ, सुस्मा श्रेष्ठ, सिजन पोखरेल, सोनाम राई, सुमिना श्रेष्ठ, सुरेम देशार, उजेम मानन्धरका कलाकृति राखिएको छ ।

प्रतिक्रिया