सपना

आमा !


म सपना देख्दैछु


तिमीसँगै कोदो टिपेको


मकै रोपेको, गोरु जोतेको

आमा !


म जहाँ छु


जस्तै लागेकै छैन


एक्कासी बिउँझे


छाती भत्भत् पोलेको थियो


अनी एक अंखोरा पानी पिएर


छाती भिजाए ।

विरासतमा जन्मिएको


तिम्रो गर्भको सालनाल


पलाउन खोज्छ


सामुन्ने प्रश्नै प्रश्न तेर्सिन्छ


फोहरको डंगुर जस्तै


बुच्चा बुच्ची नाचे जस्तै


लुटपुटिएर रमाए जस्तै


सपना देखिरहन्छु

त्यसैले त आमा


त्यो फोहर पन्साएर


तिम्रो न्यानो काखमा निदाउ


पसिना चुहाएर काख भिजाउ

तिम्रो रुखो मायालु बोलीमा


ममताको मलजलले


करेसाबारीमा लसुन उमा¥यौ


कोदो फापर र मकैको ढिडो सिस्नो खायौ


आज म बञ्चित छु, म चिन्तित छु


क्रान्तिपछि खसीको टाउको भिरेर


पेट दुख्ने गरी ८४ व्यञ्जन त खाएनौ


मैले नखाए पनि खानेले खाए


थालभरी लिए र फालिदिए

आमा तिमीले हिड्ने बेलामा


पोको पारेर हालिदिएको


गुन्द्रुक र मकै भटमासको पोको


कसैले देख्ला की भनेर सुटुक्क खोले


ह्वास्स गनायो


सम्झे म सपनामा छु


त्यसैले त आमा मलाई


मलाई सपना देखिरहन मन लाग्छ


रैथाने भएर हिडिरहन मन लाग्छ


कालिगण्डकीको शालिग्राम भएर


बग्न मन लाग्छ


सँगै बसेर तिमीले बुलाकी तानेर


डबका भरीको जाँड खाएको


ला खा जाठा भन्दै मलाई पनि दिएको


सम्झिन्छु


खाएर सुतिरहेर सपना देखिरहन मन लाग्छ


किनकी बिउँझियो की दुष्टात्माले घेरिहाल्छन्

तल्ला घरका सन्ते दाइले सिलाइदिएको दौरा–सुरुवाल


जुठेदाइले घाँस काट्न बनाइदिएको हँसिया


पुर्कुटीदाइले बनाइदिएको जुत्ता


जिप्तारे जंगलको भिरमा लडेर हरायो


म छरछर भए रगताम्य भए


बाघले लख्योट्यो


घोडा दौडिएझै हात्ती लम्किएझै लम्किए


बिजुली चम्किएझै चम्किए


र आगोको ज्वालामाथि बसेर


बाघको गोठालो बनेर


अग्निपरीक्षा दिँदैछु आमा ।

प्रतिक्रिया