बंगलादेशको टेराकोटा कार्यशाला

एससी सुमन

लोकचित्रकलाका विभिन्न पक्ष र अभ्यासलाई एकसाथ ल्याउन सक्ने औपचारिक वर्गको कल्पना गर्न गाह्रो छ । कसैले यसलाई पेशाको रूपमा लिन्छन्, कसैले पारिवारिक विरासतका लागि गर्छन् भने कसैले यसलाई धार्मिक वा सांस्कृतिक चाडको रूपमा अभ्यास गर्छन् । एउटै फ्रेममा सबै भाग फिट गर्न धेरै गाह्रो छ । हजारौं वर्षअघिदेखि उत्पत्ति भएको लोकचित्रकलाले वास्तुकला, मूर्तिकला, हस्तकला, भाँडाकुँडा र चित्रकलामा विभिन्न रूप र आकार लिएको छ ।
छ ऋतुको भूमिकाले र आफ्नो प्रकृतिको जीवन्तताले स्थानीय कलालाई प्रभाव पारेको छ भने वातावरण र कृषि गतिविधिले यसलाई धेरै बढाएको छ । अनुसन्धानको आधारमा केही वर्ग तैपनि चित्रकलाको केही पुरातन वा मध्ययुगीन परम्पराको विरासत बोकेका रूपमा फेला परेका छन् । धेरैजसो सामूहिक रूपमा अभ्यास गरिएको, सांस्कृतिक प्रतीक र कथा सम्मेलन सौन्दर्यशास्त्र वा कलाका अन्य पक्षभन्दा बढी महत्वपूर्ण मानिन्छ ।

लोकचित्रकलामा अल्पना, अरिपन वा मण्डला सम्भवतः सबैभन्दा पुरानो आदिवासी अभ्यास हो । भित्तेचित्रकला र काठको नक्काशी दुई अन्य पुराना रूप हुन् । तर, अल्पना वा अरिपन दुई देशमा बाँचेको मात्र छैन, यो हदसम्म बढेको छ कि यो धेरै राष्ट्रिय उत्सव नै बनेको छ । बाँस, जुट, सिकी–मुज (बंगाल र मिथिलामा पाइने एकप्रकारको घाँस) बाट बनाइएका विभिन्न शिल्प अझै पनि ग्रामीण र आदिवासी÷जनजातिमा लोकप्रिय छ । त्यस्तै, भाँडाका सामानहरू, माटोका भाँडाहरू सस्तो घरायसी भाँडा हुन्, जसमा पूजा र भक्तिका लागि हिन्दू देवताका चित्रहरू माटोबाट बनाइन्छ । नेपालको मिथिला र बंगलादेशका अधिकांश भागमा पुतली, खेलौना र धेरै सजावटी टुक्रा पनि बनाइन्छ । उदाहरण स्वरुप मिथिलामा मनाइने पर्व ‘सामा –चकेबा’ लाई लिन सकिन्छ । जसमा माटोको मूर्ति तथा खेलौनाको प्रधानता रहन्छ ।

माटोको अभिलेख हो, पृथ्वीसँगका सफल र विफल सम्बन्धको । यो अमिट माटोलाई हाम्रा पुर्खाले बडो कौशलले पुस्तान्तरण गर्दै आएका छन् । यसबाट खेलौना बने र मन्दिर तथा मूर्तिदेखि लिएर भव्य भवन बने । माटोको यो शिल्पलाई टेराकोटा शिल्प भनिन्छ । टेराकोटाको आशय पाकेको माटो हो । यो इटालियन शब्द हो । गिलो माटोलाई आगोमा पोलेर जो उपादान निर्मित गरिन्छ, त्यसलाई टेराकोटा शिल्पको नाउँले चिनिन्छ ।
छोटकरीमा भन्नुपर्दा मिश्र र मेसोपोटामियाबाट प्राप्त मृणभाँड, मृण्यफलक र मृण्यमूर्ति यसको आरम्भिक उदाहरण हुन् । कलाको रूपमा यो ईसापूर्व सातौं शताब्दीमा प्राचीन युनान र रोममा प्रचलित थियो । पूर्वीय संस्कृतिमा मध्यपाषाणकाल, नव्यपाषाणकाल, सिन्धु र हड़प्पा सभ्यतादेखि लिएर मौर्यकाल र गुप्तकालसम्म र त्यसभन्दा अगाडिको कालसम्म यस माटोको कलाको क्रमबद्ध विकास देखिन्छ । मेहरगढ़मा जो वर्तमानमा पाकिस्तानको बलुचिस्तानमा छ । एउटा रंगीन भाँडो भेटिएको छ । जो नवपाषाण काल (३५०० देखि २८०० ईसापूर्व) को हो ।

घट्दै गए पनि कुमालेलाई पेसा बनाएर आफ्नो जीविकोपार्जनका लागि माटोको भाँडामै निर्भर रहेका धेरै परिवार अझै पनि छन् । आधुनिकताको चपेटामा पनि पुनरावर्ती आकृति कमल, सूर्य, चन्द्रमा, तारा, पात, रूख, फूलका लता, मानवाकृति, देवता, घोडा, हात्ती, माछा, पंक्षी, ताजिया र रथ हुन् ।

प्राचीन बंगालमा टेराकोटा

दक्षिण एसियामा माटोका भाँडाको प्रचलन पुरातन समयको हो । त्यसबेला माटोको भाँडाको अभ्यास धेरै प्रख्यात हुनुको प्रमुख कारणमध्ये सही प्रकारको माटोको उपलब्धता हो । त्यसबेला, अधिकांश घरायसी भाँडाकुँडा टेराकोटाका वस्तु थिए । ढुंगाको सीमित उपलब्धताको कारण, यो एक धेरै लोकप्रिय मन्दिर र भवन डिजाइन तत्व भयो । टेराकोटाको सबैभन्दा पुराना नमूना वारी–बटेश्वर, मोहस्थान गार र त्यसको छेउछाउका क्षेत्रमा पाइन्छ, जुन करिब दुईहजार वर्ष पहिला निर्माण गरिएको थियो । पाल सभ्यताभन्दा पुरानो र विभिन्न कालखण्डका विभिन्न विशेषता बोकेका टेराकोटाका नमूना पनि पहारपुरमा भेटिएका छन् ।
उदाहरणका लागि, वारी–बटेश्वरमा पाइने मूर्तिहरू सिन्धुघाँटी सभ्यतामा पाइने मूर्तिसँग मिल्दोजुल्दो छन् । मौर्य सभ्यतामा ग्रीक र पर्सियाको पनि प्रभाव छ । कारिगरले हातको अलावा टेम्प्लेटहरू प्रयोग गर्न थाले । सोमपुर महाविहार पाला सभ्यताको सबैभन्दा ठूलो गुम्बा हो र यस गुम्बाको केन्द्रीय मन्दिरमा दुई हजारभन्दा बढी टेराकोटा छन् । टेराकोटा कला सेन वंशको कालमा पनि प्रख्यात थियो । सबैमा धर्मको प्रभाव होस् वा स्थानीय चलन, बंगलादेशमा टेराकोटा विभिन्न तरिकामा विकसित भएको देखिन्छ । मध्यकालीन कालमा टेराकोटा बंगालका मस्जिद धेरै सरल र लगभग टेराकोटारहित थिए । तर, पछि, टेराकोटा डिजाइनहरू मिहराब र मस्जिदको बाहिरी भाग र चिहानमा पनि फेला परे । ढुंगाहरूको उपलब्धता नभएको कारणले गर्दा मस्जिदमा विभिन्न प्रकारका टेराकोटा आकृति प्रयोग गरिन्थ्यो ।

नेपाल–बंगलादेश कला तथा संस्कृति महोत्सव २०२३, बंगलादेश कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठको उपलक्ष्यमा ढाकास्थित बंगलादेश शिल्पकला एकेडेमीमा केही दिनअघि सांस्कृतिक महोत्सवको पाँचौं दिन, बन्र्ट क्ले स्टुडियो, कलाकार टोफु खान र गुलाम रसूल नयनसँगको सहकार्यमा बंगलादेश र नेपाली कलाकारको सम्मानमा, माटो कला कार्यशाला आयोजना गरिएको थियो । जसको उद्देश्य दुई देशको लोकजन–जनबिचको सम्बन्धलाई अनुभूत गर्ने रहेको थियो ।

यसै सन्दर्भलाई जोड्दै कलाकार टोफु खानले नेपाल बंगलादेश मैत्री समाज र शिल्प चर्चा आर्ट ग्यालरीले आयोजना गरेको जनाए । उनले भने, ‘सहभागी कलाकार सबै चित्रकार हुन्, चित्रकारको सधैं क्यानभास र रङसँग रहेको हुन्छ, कलाकार आज नयाँ माध्यमहरूसँग काम गर्ने अवसर पाएकोमा धेरै उत्साहित छन् भने, म महसुस गरेको छु । माटोको आफ्नो प्राणवायु हुन्छ । त्यसले आफ्नो परिवर्तनकारी गतिविधिमार्फत मानव र अन्य सजीव तथा निर्जीव, भूत र भविष्यका तत्वहरुसँग हामीलाई जोडिरहेको हुन्छ ।’

हातले माटो मुच्छदै मूर्तिकार, कलाकार अनुराधा थापाले आफ्नो पुरानो दिन सम्झँदै भनिन, ‘धेरैपछि माटोको माया महसुस गरेको छु । विद्यार्थी जीवनको वाराणसीको बसाइपछि गृहस्थजीवनको विराटनगरको बसाइले माटोसँगको प्रत्यक्ष अनुभूति धेरैपछि भएको छ । जीवन सतहमा बाँचिन्छ । हामीले पाउने भनेको जमिन मात्र हो । यसो सोच्दा माटो आखिर मलिलो धुलो मात्रै न हो । हावामा तैरिनुको साटो पृथ्वीको सतहमा टाँसिएको सुक्ष्म कण हो । उनले ‘टु सिस्टर्स’ अर्थात् ‘दुई बहिनी नेपाल र बंगलादेश’ रहेको जनाए ।

सन्दर्भ कूटनीतिक सम्बन्ध र मित्रताको हो, कलाकार रामपुजन ठाकुरले चारगुणा चारको आकारमा नेपाल र बंगलादेशको राष्ट्रिय झण्डाको आकृति बनाए, जसले दुई देशको भातृत्व भाव प्रदर्शित गर्छ । उनलाई सानोछँदा चकचक र खसखसका रूपमा माटो खेलाएर चराचुरूंगी बनाएको याद छ । उनले भने, ‘कलेजमा नङ्ग–मासु मित्र अर्जुन मूर्तिकलाका लागि अब्बल थिए । म किसानको छोरो । करेसावारी र खेत जे गर्दा पनि माटोसँग खेल्दै हुर्किएको मान्छे ! पक्कै आफ्नो शिल्पीले भ्याएसम्म माटोलाई सार्थक बनाउने प्रयोग गर्दै आएँ ।
अहिलेसम्म मूर्ति नै बनाउँछु भनेर भने मैले कहिल्यै पनि पहल लिइन् । यस मानेमा सिर्जनात्मक जीवन बिताइरहेको मेरा लागि बंगलादेशको मूर्ति सिर्जना कोसेढुंगा बन्न पुग्यो । यो उमेरमा, अत्यन्तै खुसीको क्षण थियो त्यो, जब मैले मूर्ति सिर्जना गर्न बंगलादेशको माटो समाएँ !

जीवन मात्रका लागि सबैभन्दा उच्च साइनोमा आफ्नै आमा रहनु जैविक–सत्य हो । तथापि आमाले पनि सबैभन्दा उच्च साइनोमा माटोलाई राख्नु पर्दछ– यो थप अकाट्य सत्य हो । वास्तवमा माटो सर्वोच्चको पनि सर्वोच्च हो, जब पृथ्वी, आकाश, वायु, अग्नि र जलबीच पनि हामी महत्वजन्य तुलना गर्दछौं ।
अब मैले बंगलादेशको माटोलाई समेत सौन्दर्यीकृत गरेँ; मूर्तिकरण गरेँ ।
रचनालाई माटोसँग जोडें, जहाँबाट चना–बनस्पतिको शुरूआत हुन्छ, अंकुरण र, शीरमा खगोलको प्रतीकका लागि माटोकै एउटा गोलाकार राखिदिएँ । नेपाल र बंगलाको माटो एउटै न हो । कार्यशाला भएकाले, त्यो खेस्रा–मूर्ति मात्र रहन सक्यो । कलाकार नगेन्द्रप्रसाद पौड्यालले प्रष्ट्याए । कलाकार उजय बज्राचार्यले कमलको रेखा चित्रमा माटो लिप्दै भने, ‘हिन्दू पुराणका अनुसार कमलको फूलको उत्पत्ति भगवान् विष्णुको नाभीबाट भएको हो, र कमलको फूलबाट ब्रह्माजीको उत्पत्ति भएको मानिन्छ । बौद्ध धर्मको ललितविस्तार ग्रन्थमा कमललाई अष्टमंगल मानिएको छ । भनिन्छ, कमलको फूलजस्तो नै सृष्टि र यो ब्रह्मांडको रचना भएको छ र यो ब्रह्मांड कमलको फूलजस्तो छ । कमल पुष्पलाई ब्रह्मा, लक्ष्मी तथा सरस्वती अपना आसन बनाएका छ्न ।’

बंगलादेशी कलाकार फारिसा महमुदले पनि चारगुणा चारकै पाटामा पुष्पकमलको आकृति सकाउँदै थपिन ’पानीमा उत्पन्न भएर हिलोमा कमल फूल छ । दुवैसँग निर्लिप्त भएर पवित्र जीवन जीउने प्रेरणा दिन्छ । यानी कि नराम्रोबीच रहेर पनि व्यक्ति आफ्नो मौलिकता र पवित्रतालाई कयम राख्न सकोस ।’
यो आमन्त्रण टोलीमा लोक मिथिलाकलाको प्रतिनिधित्व गर्दै म पनि कलाकारको हैसियतले सहभागी थिए । तसर्थ केही पुछारमा भए पनि मेरो कुरा राख्नु असान्दर्भिक हुँदैन जस्तो लाग्छ । ढाकाको बन्र्ट क्ले स्टुडियो, मिरपुर आइपुग्दा, सेतै फुलेको कपाल, कपाललाई रबर–ब्याण्डले पनि टेल स्टाइलले बाँधेको कलेजी रङको टिसर्ट र कालो प्यान्ट लगाएको, मोटो ज्यानको कलाकार टोफु खानले हामीलाई स्वागत गर्नुभयो । कार्यशालामा सहभागी कलाकारसँग सामान्य परिचयसँग स्टुडियो घुमाउनु भयो । माटो मेरो बाल्यकालदेखि नै प्रियवस्तु रहेको छ । हुन पनि हो, भनिन्छ पहिलोपटक बच्चा बामे सर्न थालेपछि बालकले आफ्नो हातले टिपेर मुखा हालने वस्तु माटो नै हो । स्टुडियो घुमिरहँदा मलाई मेरो बाल्यकाल बितेको लहानको कुम्हार टोलको सम्झना भयो । एउटा आत्मियताको आभास भयो । जहाँ म माटासँग मुछिन पुगे ।

स्कुलेजीवनमा रविन्द्रनाथ टैगोरको पढेको कथा ‘सुभा’ सम्झे । जब नवजात बालिकाको नाम सुभाषिनी राखिएको थियो, कसलाई थाहा थियो कि उनी वाकविहीन, वा सरल रूपमा, लाटी हुनेछन् ? उनका दिदीहरूको नाम सुकेशिनी र सु–हसिनी सुन्दर कपाल भएको र राम्रो मुस्कान भएको हो, जो नाउँ अनुरुप ठ्याक्कै मिलेको थियो । ती नामसँग ताल मिलाउनका लागि, उनको नाम सु–भाषिनी राखियो यानि राम्रो बोल्न सक्ने । अब सबैले उनलाई छोटो रूपमा सु–भा भन्थे । बाल्यकालदेखि नै सुभाले आफ्नो जन्म परिवारको लागि श्राप हो भन्ने बुझेकी थिइन् ।

सुभासँग बोल्ने शक्ति थिएन, तर उनका दुईवटा ठूला, कालो आँखाहरू थिए जसमा लामो पहरा र ओठहरू थिए जुन भावनाको अलिकति झट्कामा काँप्छन् । अँध्यारो आँखाको आफ्नै अभिव्यक्ति शक्ति हुन्छ ।

उनको बोलीको कमीलाई प्रकृतिले पूर्ति गर्दथ्यो । सुभा तेतरिको रुखमुनि बसेर आफ्ना ठूला–ठूला, लामा आँखाले संसारलाई हेरिरहन्थिन् । प्रकृति र सुभा एक अर्काको मूक संगतमा एक्लै हुनेछन् । सुभाका आफ्नै केही साथी नभएको होइन । त्यहाँ दुईवटा गाईहरू सर्वशी र पांगुली थिए जसले उनको पाइला चिन्थे । त्यहाँ एउटा बाख्रा र बिरालाको बच्चा पनि थियो, जसलाई उनले पालेकी थिइन् । त्यसपछि त्यहाँ एक उच्च श्रेणीको प्राणी थियो–प्रताप–गोसाइहरूको परिवारको कान्छो । उनको मुख्य काम माछा मार्ने थियो । माछा मार्ने रड लिएर पानीको छेउमा बसेर धेरै समय बिताउन सकिन्छ । तर माछा मार्ने व्यक्तिको लागि, एक मौनसाथी सबैभन्दा राम्रो हो ।

त्यस्तो अचम्मको कुरा केही भएन र सुभा बिस्तारै केटीभन्दा फरक युवती बनिन् । उसले आफ्नो शरीरमा जवानीको लहर आएको महसुस गरिन् । जब पूर्णिमा पथ्र्यो, उनी प्रायः आफ्नो कोठाको ढोका खोलेर डराएर बाहिर निस्कन्थिन् । अघिको जुनेली रात चुपचाप फैलिएको थियो र सुभा चुपचाप उभिएर हेरिरहेको, मेरो मृतिका–उत्कृणमा कैद भएजस्तो ।

चराचर सबैको क्षयपछि बाँकी रहने भनेको माटो हो । जब तत्वले माटो बन्ने आफ्नो प्रकृतिलाई नकार्छ तब समस्या सिर्जना हुन्छ । अवशेष न छोडी विलय भएकाले इतिहासमा ठाउँ नपाएका समाजको पहिचानलाई सायद हामीले आज स्विकार्न आवश्यक होला । गुलाम रसूल नयनले आफ्नो भावना व्यक्त गर्दै यो दिन हाम्रो जीवनमा अविस्मरणीय रहने बताए, किनभने म जीवनमा पहिलो पटक माटोको भाँडा बनाउँदैछु । म यस माध्यमबाट आफ्नो विचार व्यक्त गर्न पाउँदा खुसी छु ।

कार्यशालामा बंगलादेशी कलाकार गुलाम रसूल नयन, एमआर दिदार, कृष्ण दे चटोपाध्याय, एसएम मिजानुर रहमान, तन्जिला सिद्दिकीसहित फोटोग्राफर केएम जहागिर आलम र संयोजक तैयाबुज्जामान टोपु सहभागी थिए । सबैले आ–आफ्नो कलाकृतिको साथ एक तस्बिर खिचे र प्रवृत्ति कायम राख्न रेकर्ड गरे । कार्यशाला बिहान १० बजे उद्घाटन गरी दिउँसो २ बजेसम्म चलेको थियो । नेपाली टोलीमा सहभागी फोटोग्राफर विकास रौनियारको कमी महसुस भइरह्यो । उनी विशेष कामले कोलकाता हिडेका थिऐ । कलाकार टोफु र पंक्तिकार सुमनले आ–आफ्नो कलाकृति साटासाट गरे । अन्तमा कलाकार टोफुले बन्र्ट क्ले स्टुडियो र शिल्प चर्चा ग्यालरीबाट माटोको कार्यशालामा सहभागी हुने सबैलाई धन्यवाद दिए ।

प्रतिक्रिया