इलाम कारागारबाट डाँका मुद्दाका थुनुवा फरार

इलाम । देशकै नमुना सुधारगृह मानिएको इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । इलाम कारागारमा थुनुवाका रुपमा रहेका झापाको मेचीनगर नगरपालिका– ३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन् ।

बिहीबार साँझ अन्दाजी ५ बजेर ४० मिनेटमा कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको कारागारले थाहा पाएको थियो ।

गणनाका क्रममा उनी फेला नपरेपछि साँझ पौने ७ बजे नै सम्बन्धित कार्यालयमा जानकारी गराएको थियो । तर, उनी दिउँसो ३ बजेतिर नै भागिसकेको भन्ने जानकारी कारागारलाई साँझ मात्र थाहा भएको थियो ।

फरार थुनुवाको प्रहरीले खोजतलास गरिरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए ।
डाँका मुद्दाका उनी २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा कारागार चलान भएका थिए ।

इलाम कारागारमा यसअघि कारागारभित्रै मादकपदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भएपछि कारागार थप विवादित बन्दै गएको छ ।

प्रतिक्रिया