हिमाली उत्पादनको ब्रान्डिङमा बढ्दै चासो

गण्डकी । हिमालपारिको जिल्ला मुस्ताङ कृषि उत्पादनका धेरै सम्भावनायुक्त जिल्ला हो । यहाँ उत्पादन हुने स्याउ, खुपार्नी, फापर, उवा, आलुदेखि जिम्बु लगायतका वस्तुको बजारमा निकै माग हुने गरेको छ । पछिल्ला दिनमा यस्तै प्रकारका खानामा मान्छेको चासो बढ्ने गरेको छ ।

समुद्री सतहबाट २ हजार ५ सय मिटरभन्दा माथि उत्पादन हुने यहाँका हरेक फलफूल, अन्न तथा जडीबुटी स्वास्थ्यवद्र्धक एवं बहुपोषणयुक्त मानिन्छ । विगतमा यहाँका उत्पादनले बजार नपाउँदा गाउँमै कुहिएर फाल्नुपरेको वास्तविकतामा स्थानीय जागरुकतासँगै गर्न थालिएको तिनीहरूको प्रशोधन तथा प्याकेजिङ यतिखेर मुस्तांगीका लागि बरदान सावित भएको छ । स्वाद र स्वास्थ्यका दृष्टिले पनि यहाँको खानाप्रति मान्छेको मोह बढेको हो ।

स्थानीय उत्पादन प्रशोधन तथा ब्रान्डिङमा स्थानीय पालिकाले पनि जोड दिँदै विभिन्न तालिम दिन थालेका छन् । स्थानीय उत्पादनको प्याकेजिङ तथा ब्रान्डिङका कारण यहाँका स्थानीय आयआर्जजमा जोडिएको कुच्छपतोरंगा महिला लघु उद्यम समूह घरपझोंग गाउँपालिका–५ का अध्यक्ष श्यामु थकालीले बताए ।
‘प्याकेजिङ तथा ब्रान्डिङ नहुँदा स्याउ, खुर्पानीजस्ता फलफूल कुहिएर फाल्नुपर्ने अवस्था थियो’, उनले भने, ‘अहिले भने यहाँ हुने गरेका हरेक उत्पादनलाई सुकाएर प्याकिङ तथा कतिपय जुस बनाएर बजारमा पठाउने गरेका छौँ ।’ मुस्ताङमा आउँदा पर्यटकले यहाँका उत्पादनलाई कोसेलीस्वरूप लैजाने गरेकाले बजारको कुनै समस्या नरहेको उनले बताए ।

उत्पादनको ब्रान्डिङसँगै स्थानीय महिला आयआर्जनमा जोडिएको बताउँदै उनले आफूहरूको समूहमा १४ जना आबद्ध भएको बताए । उत्पादन प्रशोधनका लागि गाउँपालिकाले पाँचदिने तालिम दिएको र त्यसयता फापरको सागको धुलो, झिलिंगा आदि तयार गरी बजारमा पठाउने गरेको थकालीले बताए ।
ब्रान्डिङ र प्याकेजिङ नहुँदा अन्य ठाउँको उत्पादन पनि मुस्ताङको भनेर बिक्री गर्ने गरेको पाइएपछि गाउँपालिकाले यहाँको उत्पादनलाई ब्रान्डिङ गर्न थालेको स्थानीय बताउँछन् । मुस्ताङको आलुको पहिचान जोगाउन घरपझोंग गाउँपालिकाले आलु ब्रान्डिङ गर्न थालेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष ०७९÷८० का लागि यहाँका पाँच वटै वडामा उत्पादित आलुको ब्रान्डिङ तथा प्याकेजिङ सुरु गरेको हो ।

स्याउका बगैँचामा आलु लगाएर यहाँका स्थानीयले स्याउ र आलु दुवैको उत्पादन लिने गरेका छन् । स्याउ, खुर्पानीजस्ता वस्तु सुकाएर प्याकिङ गर्नुका साथै यिनीहरूको जुस बनाएर पठाउने गरिएको अर्का स्थानीय वित्ती थकालीले बताइन् । उनका अनुसार प्रशोधनले उत्पादित वस्तु कुहिएर जाने समस्या हटेको छ । पछिल्लो समयमा यहाँको फापरको पिठो, सिस्नुको धुलो लगायतका वस्तुको बजारमा निकै माग हुने गरेको उनले सुनाइन् ।

मुस्ताङमा आउने जो–कोही पर्यटकले यहाँ तयार गरिएका जुस, जाम, अचार, क्यान्डी, सुकुटी आदिलाई कोसेलीका रूपमा लैजाने गरेको उनले सुनाइन् । उत्पादन प्रशोधनले स्थानीयलाई आयआर्जनमा जोडेको भुग्मोर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कमला लालचनले बताइन् । आफूले संस्थागतरूपमा प्रयास अघि बढाएको र सात वर्ष अघिदेखि संस्था दर्ता गरी यसमा लागिएको उनले जानकारी दिइन् ।

हिमाली उत्पादनको मौलिकता एवं यहाँको पहिचानलाई कायम राख्दै स्थानीयलाई आयआर्जनसँग जोड्न उत्पादनको ब्रान्डिङमा गाउँपालिकाले जोड दिएको घरपझोंग गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए । पछिल्लो समयमा स्थानीयको जागरुकतासमेत बढ्दै गएकाले आफूहरूलाई थप उत्साहित बनाएको उनले सुनाए ।

मुस्ताङवासी वर्षौंदेखि नै अतिथिदेवो भवःको मन्त्रलाई आत्मसात गर्दै आएको जिल्ला समन्वय समिति प्रमुख माया गुरुङले बताइन् । उनका अनुसार यहाँका स्थानीय उत्पादन प्रशोधन गर्दै कोसेलीका रूपमा पठाउन सक्रियता बढेको छ । मुस्ताङको आफ्नै पर्यटकीय विशष्टिता रहेको र यहाँ हुने उत्पादनको डिजिटल बजार विस्तारका लागि पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले फागुनको अन्तिम साता स्थानीयलाई बजारीकरणसम्बन्धी तालिम दिएको अध्यक्ष कमला गिरीले जानकारी दिइन् । ‘मुस्ताङमा हुने उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ हामीले तालिम दिएका हौँ,’ उनले भनिन्, ‘भौगोलिक विविधतासँगै यहाँ हुने उत्पादन पनि मुस्ताङको विशिष्टता हो ।’

प्रतिक्रिया