नेपालको गलैँचा व्यापार : अवस्था र संभाव्यता

डा.सुमनकुमार रेग्मी

कुनै बेला १० लाखभन्दा धेरैलाई रोजगारी दिएको गलैँचा उद्योगमा हालका वर्षमा प्रत्यक्ष–अप्रत्यक्ष काम गर्नेको संख्या एक लाखभन्दा कम छ । गलैँचा आन्तरिक श्रम बजारमा धेरै रोजगारी दिने क्षेत्र हो । गलैँचाको उच्चतम उत्पादन र निकासी भएको बेला देशभर झण्डै १५ सय गलैँचा उद्योगका इकाई चलेका थिए । त्यतिबेला नौ सय जनासम्म राखेर एक समूहमा काम गरेका थिए भने हाल एक समूहमा २० जनाभन्दा कम राखेर काम गर्ने गरेका छन् । त्यसमध्ये महिला बढी छन् । गलैँचा श्रमिकको विकल्प वैदेशिक रोजगार बन्दै गएको देखिन्छ ।

लामो समयदेखिको राजनीतिक अस्थिरता, मजदुर समस्या, उत्पादनमा हेलचक्र्याई लगायतका कारणले नेपालबाट समुन्द्रपारका मुलुकमा मागअनुसार गलैँचा उत्पादन र निकासी हुन नसकेको देखिन्छ । त्यसबाहेक गलैंचाको डिजाइनमा समेत सम्बन्धितले पर्याप्त ध्यान पु¥याउन सकेको देखिँदैन । नेपालको गलैँचामा अमेरिकी उपभोक्ताले कस्ता डिजाइन खोजेका–मागेका छन् भन्ने बारे ध्यान गएको देखिँदैन । अमेरिकी बजार अध्ययन गरी उपभोक्ताको रुचि–खुसीअनुसार गलैँचा उत्पादन गरे धेरै गुणा निकासी हुन सक्दछ । अमेरिकाको न्युयोर्क, वासिंगटन, क्यालिफोर्निया, बोस्टन, कोलोराडो, सिकागोलगायत अन्य सहरमा नेपाली गलैँचाको माग बढ्दो छ । त्यसलाई सफल गर्न नेपालमा सक्रियता देखाउनुपर्ने र सरकारले सहयोग गर्नुपर्नेछ ।

अमेरिकी बजारमा नेपाली गलैँचाको माग अद्यापि छ । गलैँचा उत्पादन बढाई निर्यात गर्न नेपालले धेरै पहल गर्दा पनि अमेरिका निकासी खासै हुन सकेको छैन । हालका वर्षहरूमा पनि नेपालबाट विभिन्न ब्रान्डमा गलैँचा अमेरिकी बजारमा निकासी भइराखेका छन् । विभिन्न उद्योगबाट उत्पादन गरे पनि एउटै मापदण्ड बनाउन र एकै ब्रान्डको नाममा निकासी गर्न सकिने व्यवस्थाका लागि सुझाव दिइएको छ । अमेरिकी बजारमा निकासी हुने गलैँचा पनि पर्याप्त छैंनन् । अन्य देशबाट अमेरिका गएका गलैँचा सबै एउटै ब्रान्डका देखिन्छन् । त्यसो गरेमा गलैँचा चिन्न सजिलो हुन्छ । त्यसो हुनसके गुणस्तरीय उत्पादनमा जाँच–बुझ गरी निकासी गर्न पनि सजिलो हुन जान्छ । नेपालको गलैँचा व्यवसाय प्रबद्र्धन गर्नसके नेपालको आर्थिक अवस्था धेरै परिवर्तन हुन जान्छ ।

नेपालबाट एकै ब्रान्डमा गलैँचा उत्पादन गरी निकासी गर्नसके अमेरिकी बजारमा प्रतिस्पर्धा सजिलो हुने सुझाव व्यवसायीले दिएका छन् । गलैचाप्रति आकर्षण बढे पनि कम उत्पादन र ब्रान्डको समस्याले मागअनुसार निकासी हुन सकेको छैन । राजनीतिक अस्थिरता, मजदुर समस्यालगायत कारणले नेपालमा नौ वर्ष यता अर्थात ०७१ सालपछि उत्पादन घटेको छ । नेपालको नौ वर्षअघि वार्षिक रूपमा १६ लाख वर्ग मिटर गलैँचा अमेरिका निकासी भए पनि पछिल्लो समयमा करिब सात लाख मात्र निकासी भएको छ । निकासी बढ्न सकेको छैन । कुनै बेला गलैँचा मात्र वार्षिक १० अर्ब जतिको निकासी ०७८÷७९ आइपुग्दा तीन अर्ब रुपैयाँभन्दा कम भएको छ ।

औद्योगिक क्षेत्रको विस्तारका लागि सबैभन्दा ठूलो अवरोध श्रम समस्या हो । तर मजदुरको सामाजिक सुरक्षातर्फ अब ध्यान गएको छ । यस क्षेत्रको व्यवस्थापनको कमजोरीका फाइदा उठाउँदै सुरु भएको अवस्था पनि यो उद्योगको अधोगति थियो । कुनै बेला १० लाखभन्दा धेरैलाई रोजगारी दिएको गलैँचा उद्योगमा हालका वर्षमा प्रत्यक्ष–अप्रत्यक्ष काम गर्नेको संख्या एक लाखभन्दा कम छ । गलैँचा आन्तरिक श्रम बजारमा धेरै रोजगारी दिने क्षेत्र हो । गलैँचाको उच्चतम उत्पादन र निकासी भएको बेला देशभर झण्डै १५ सय गलैँचा उद्योगका इकाई चलेका थिए । त्यतिबेला नौ सय जनासम्म राखेर एक समूहमा काम गरेका थिए भने हाल एक समूहमा २० जनाभन्दा कम राखेर काम गर्ने गरेका छन् । त्यसमध्ये महिला बढी छन् । गलैँचा श्रमिकको विकल्प वैदेशिक रोजगार बन्दै गएको देखिन्छ । उद्योगीहरू गलैँचा निकासी गर्न विदेशबाट अर्डर नभएको–नपाएको बताउँछन् ।

भुटानी शरणार्थीहरू नेपालको पूर्वी जिल्लाहरूबाट तेस्रो देश पुनःस्थापना अभियानमा लागेपछि शिविर आसपासमा खोलिएका ऊनी धागो उद्योगहरू बन्द भएका छन् । भुटानी शरणार्थीहरू काममा आउन छोडेपछि मजदुरको अभावमा यस्ता उद्योगहरू बन्द भएका हुन् । झापा र मोरङका सात वटा शिविर आसपासमा करिब सयवटा यस्ता उद्योग थिए । एउटा उद्योगमा कम्तीमा अढाई सय वटा चर्खा थिए । अमेरिका, कोरिया जस्ता देशहरूमा निकासी हुने गलैँचा, कार्पेट, कुसन बनाउनका लागि काठमाडांैका व्यापारीहरूले शिविर आसपासमा ठूलो संख्यामा चर्खा खरिद गरेर शरणार्थीहरूलाई रोजगारी पनि दिएका थिए ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली गलैँचाको माग आर्थिक वर्ष ०४६÷४७ देखि बढदै गएको थियो । त्यस बेला १६ लाख २८ हजार वर्गमिटर निकासी भयो । जर्मनी, अमेरिका, टर्की, बेल्जियम, स्विट्जरल्यान्ड, संयुक्त अधिराज्य, अस्ट्रिया, फ्रान्स, नर्वे, जापानलगायत देशमा यसको माग बढ्दै गयो । ०५०÷५१ पुग्दा यसको निकासी ३३ लाख वर्गमिटर पुगेको थियो । त्यसपछि नेपाली गलैँचामा विषादि रंग मिसाएको र बाल श्रम प्रयोग भएको प्रचारका कारणले अन्तर्राष्ट्रिय स्तरमा नराम्रो सन्देश गयो । हालको गुण विभ (रंगमार्क नामक संस्था) ले बालश्रम प्रयोग भएको गलैँचा उपभोग नगर्न भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार ग¥यो । नेपाली गलैँचामा पनि बालश्रम प्रयोग नभएको पुष्टाई गर्नुपर्ने भयो ।

गलैँचा उद्योगका पुनःस्थापित गर्न ०६६÷६७ सालमा मजदुर र गलैँचा उद्योगका सञ्चालकबिच सहमति भएको थियो । जसअनुसार कुनैै माग राखेर बन्द–हड्ताल नगर्ने र उद्योगीले राज्यले तोकेको न्यूनतम पारिश्रमिक दिने सहमति भएको थियो । त्यतिबेला यस क्षेत्रको छुट्टै श्रम ऐन तथा नियमावली नबनेसम्म नयाँ श्रम विवाद नराख्ने सहमति भएको थियो ।

नेपाली गलैँचाको उत्पादन र निकासीमा कमी आउनुको अर्को कारणमो सरकारी नीतिको कमी हो । त्यस्तै गलैँचा व्यवसायबाट राजस्व बढाउन सरकारले यस उद्योगलाई घरेलुबाट मझौला उद्योगमा लगिदियो । मझौला वर्गीकरणमा लगेपछि उद्यमीले उत्पादन र निकासीमा थप कठिनाइ महसुस गरे । त्यसको साथै लामो लोडसेडिङले तोकेको समयमा सामान पठाउन नसकेकोले अन्तर्राष्ट्रिय आयातकर्ता गुमाउनुपरेको देखिन्छ । व्यवसायीका अनुसार भारतले विदेशबाटगलैँचा अर्डर पाएको ९० दिन भित्रमा अमेरिका, युरोपलगायत देशमा सामान पठाउन सक्दछ । त्यही सामान नेपालबाट पठाउँदा १ सय ८० दिन लाग्दछ । भारतमा उत्पादित गलैँचा नेपालमा भन्दा ४० प्रतिशत सस्तो पर्दछ । भारतमा गलैँचा उत्पादनमा कुनै पनि कर लाग्दैन । तर, नेपालमा नेपाली गलैँचामा कर लिइएको छ । त्यसर्थ रोजगारी र वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख गलैँचाको निकासीमा कर छुटको व्यवस्था जरुरी बताइन्छ ।

व्यवसायीले गलैँचाको विविधीकरण गर्न सकेका छैनन् । नेपालमा उत्पादित गलैँचा ६०, ८० र १०० नटका मात्र छन् तर भारतले गलैँचामा विविधीकरण गरिरहेको छ । नेपालबाट गलैँचा किन्ने प्रमुख कम्पनी विसनब्याच, किब्डकेटिप्च र एटलस ग्रुप थिए । नेपालबाट निकासी हुने गलैँचा मध्ये ७० प्रतिशत यी तीन कम्पनीले खरिद गर्दै आएका थिए । अहिले यी कम्पनीले भारतबाट किन्ने गरेका देखिन्छ । नेपालबाट गलैँचा खरिद गर्नेहरू भारत, इन्डोनेसिया आदितर्फ आकर्षित भएका छन् । नेपालको ठमेलमा रहेका गलैँचा व्यवसायीले भारतको पहाडगञ्ज र गोवामा पसल राखेर त्यहीँबाट सामान पठाउन थालेका थिए ।

शान्ति प्रक्रिया सुरुआतपछि गलैँचा श्रमिकले न्यूनतम पारिश्रमिकको विषय उठाए । गलैँचामा ठूलो श्रम विवाद देखियो । श्रम विवादले गर्दा गलैँचा अर्डर गरेबमोजिम समयमा नै पूर्ति गर्न नसकेपछि नेपाली गलैँचाको उत्पादन र निकासी घट्दै गयो । नाम चलेको विदेशी आयातकर्ताले नेपालको गलँैचाको अर्डर छाडेर भारतको अर्डर लिन थाले । नेपालका अधिकांश निकासीयोग्य वस्तु यही कारणले थप संकटमा पर्दै गएका छन् । तयारी पोसाक र पस्मिना लगायतले यही समस्या भोगिरहेका छन् ।

विश्व आर्थिक मन्दी र श्रम समस्याले पनि गलैँचाको निकासी घटेको बताइन्छ । अहिले लोडसेडिङ हटे पनि श्रम समस्या, कर र अन्य कारणले गलँैचा उत्पादनको लागत बढ्न गएको छ । कुनै बेला १५ सयभन्दा बढी गलैँचा उद्योगका इकाई रहेकोमा अहिले इतिहासमै सबैभन्दा नाजुक अवस्थाबाट गलैचा क्षेत्र गुज्रदै गएको छ । हालका वर्षहरूमा उत्पादन वातावरण स्थिति र व्यवसाय वातावरण ठिक बन्दै आए पनि गलैँचाको उत्पादन र निकासी बढन सकिरहेको छैन । नाजुक अवस्थामा पुगेको यो उद्योगलाई बचाउन ढिलाइ भइसकेको छ । छुट्टै गलैँचा नीति, छुट्टै श्रम ऐन, विशेष गलैँचा कार्यक्रम ल्याउन र कार्यान्वयन गर्न जरुरी देखिन्छ । त्यसको साथै लगानी पुँजीका आधारमा यस उद्योगलाई घरेलु र मझौला उद्योगमा राख्न उपयुक्त देखिन्छ । त्यसो गरेमा साना गलैँचा उद्यमी मारबाट बच्नेछन् । तर यसको उत्पादन बृहत् स्केलमा गर्न जरुरी छ । थोरै संख्यामा गलैँचा कारखाना भए पनि उत्पादन बृहत् रूपमा भएमा निकासी बजारको माग पूरा गर्न सकिन्छ ।

प्रतिक्रिया