सत्ता गठबन्धनकाे बैठक फेरि निष्कर्षविहीन, दिउँसो ३ बजे पुनः बस्ने

काठमाडौं । आज बिहान बसेको गठबन्धनको बैठक फेरि निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठक भागबण्डा नमिलेपछि निष्कर्षविहीन भएर फेरि दिउँसो ३ बजे बस्ने बताइएको छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भइनसकेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

मंगलबार पनि कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३–३ मन्त्रालय पाउनैपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल,कांग्रेस सभापति शेरबहादुर देउवा,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जसपा अध्यक्ष उपेन्द्र यादव,लोसपा अध्यक्ष महन्थ ठाकुर,जनमत अध्यक्ष सिके राउतलगायत नेता सहभागी थिए ।

यसअघि दाहाल नेतृत्वमै एमालेसहितको सरकार हुँदा पनि साझा कार्यक्रम ल्याइएको थियो। तर,गठबन्धन परिवर्तन भएसँगै उक्त कार्यक्रम खारेज गरेर नयाँ ल्याउन लागिएको हो ।

प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिएका जनमोर्चाबाहेक दललाई सरकारमा सहभागी गराउन खोजेका छन् । प्रधानमन्त्रीले कांग्रेसलाई ७ मन्त्री र १ राज्यमन्त्रीसहित ८, माओवादीलाई ४ मन्त्रालय, जसपा र नेकपा एसलाई २–२ मन्त्रालय र १ राज्यमन्त्री दिने गरी खाका तयार गरेका छन् ।

यीबाहेक लोसपा,जनमत, नागरिक उन्मुक्तिलाई १–१ मन्त्रालय दिएर सरकारमा सहभागिता गराउने प्रयत्न प्रचण्डले गरिरहेका छन् ।

प्रतिक्रिया