माओवादीका नेता शिवचन्द्रप्रसाद कुशवाहा सिके राउतको पार्टीमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्रप्रसाद कुशवाह नेकपा माओवादी त्यागेर सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् । उनले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आफू जनमतमा प्रवेश गरेको बताएका हुन् ।

‘उपेन्द्र यादव सप्तरीमा ठूलो मतान्तरले पराजित हुनुभयो, सीके राउतसँग, उपेन्द्र यादवमा सत्तामोह देखियो, बारा २ का जनताको भावना विपरीत पदलोलुप सत्ताबिना बाँच्नै नहुने व्यवहार उपेन्द्र यादवमा देखिएको छ,’ पत्रकार सम्मेलनमा कुशवाहाले भने, ‘उपेन्द्र यादवलाई पराजित गर्नका निम्ती बारा २ बाट उम्मेदवारी दिने निर्णय गरेको छु ।’

उनले माओवादी पार्टीभित्र आफूमाथि जालझेल भएको बताए । उनले भने, ‘पार्टीभित्र ममाथि ठूलो षडयन्त्र जालझेल भयो र म प्रतिनिधिसभा चुनाव ३५४ मतले पराजित भए ।’

मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी बारा क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रका उम्मेदवार थिए । तर, जसपा उम्मेदवार रामसहायप्रसाद यादवसँग उनी ३५४ मतले पराजित भएका थिए । यादव उपराष्ट्रपति भएपछि त्यहाँ वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया