आज पनि सत्ता गठबन्धनको बैठक : यी हुन् सहभागी शीर्ष नेता

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक आज पनि जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो ।

मंगलबार बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकमा दलहरूले मन्त्रालयबारे आ–आफ्ना दाबी यथावत् राखेपछि आज पुनस् नेताहरु छलफलमा जुटेका हुन् ।

मन्त्रालयको विषयमा सत्तारुढ दलहरुबीच कुरा नमिलेपछि न्यूनतम साझा कार्यक्रमतर्फ विषय मोडिएको छ । आज पनि न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउतलगायत नेता सहभागी छन् ।

गठबन्धनको बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रस्तुत गरेका थिए । उक्त मस्यौदा साझेदार सबै दललाई वितरण गरिएको र त्यसमा आन्तरिक छलफलपछि थपघट गर्ने तयारी छ ।

यसअघि दाहाल नेतृत्वमै एमालेसहितको सरकार हुँदा पनि साझा कार्यक्रम ल्याइएको थियो। तर, गठबन्धन परिवर्तन भएसँगै उक्त कार्यक्रम खारेज गरेर नयाँ ल्याउन लागिएको हो।

प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिएका जनमोर्चाबाहेक दललाई सरकारमा सहभागी गराउन खोजेका छन् ।

प्रधानमन्त्रीले कांग्रेसलाई ७ मन्त्री र १ राज्यमन्त्रीसहित ८, माओवादीलाई ४ मन्त्रालय, जसपा र नेकपा एसलाई २र२ मन्त्रालय र १ राज्यमन्त्री दिने गरी खाका तयार गरेका छन् ।

यीबाहेक लोसपा, जनमत, नागरिक उन्मुक्तिलाई १र१ मन्त्रालय दिएर सरकारमा सहभागिता गराउने प्रयत्न दाहालले गरिरहेका छन् ।

एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहाल एक्लैले १६ वटा मन्त्रालयको जिम्मा उनकै काँधमा छ। सत्ता गठबन्धनबीच कसले कुन मन्त्रालय पाउने भन्ने अन्तिम भागबन्डा नभएको र दलभित्रै पनि कसलाई मन्त्री बनाउने भन्ने निष्कर्षमा दलहरू नपुग्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ।

प्रतिक्रिया