बन्दनाको ‘पिपलसँगै बर’

काठमाडौं । गायिका बन्दना पाण्डेको आवाज रहेको ‘पिपलसँगै बर’ बोलको गीत सार्वजनिक भएको छ । गायिका पाण्डेको शब्द तथा संगीत रहेको गीत ‘बन्दना पाण्डे’ युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा प्रेम र बिछोडको कथालाई कलात्मक रुपमा उधिनिएको छ । सार्वजनिक गीतको भिडियो मिराज अर्यालले खिचेका हुन् । अर्यालले नै गीतको भिडियो सम्पादन गरेका छन् । गायिका पाण्डेका यसअघि ‘गुल्मेली हुम तर’ बोलको गीत चर्चामा रहेको थियो ।

पाण्डे २० असार २०४५ सालमा बुबा वीरबहादुर पाण्डे र आमा गीतादेवीको कोखबाट भारतको पुनामा जन्मिएकी हुन् । बाल्यकाल भारतमै बिताएकी उनी बुबाको अवकाशपछि नेपाल आएर अध्ययनलाई अघि बढाएकी थिइन् ।

स्कुलेजीवनदेखि नै गायनमा सहभागी हुँदै आएकी गायिका पाण्डेले आफू गायनमा लाग्ने सपना देखेरै यसक्षेत्रमा आएको सुनाइन् । उनले असल र सफल गायिका बन्ने चाहना पूरा भएको सुनाइन् । उनले घाँस दाउरा, मेलापात गर्दा साथीसँगीको अनुरोध गीत गाउने गरेको स्मरण गर्छिन् ।

गायिका बन्दनाले कक्षा ९ मा पढ्दा बिमाकुमारी दुराको ‘गाईलाई चराउँदै’ बोलको गीत गाएर प्रथम स्थान हासिल गरेको सम्झिइन् । उच्चशिक्षा हासिल गरेसँगै गीत संगीतको यात्रालाई अघि बढाउने सपना बोकेर २०६४ सालमा बन्दना देशकै काठमाडौं आएको सुनाइन् ।

काठमाडौं आइसकेपछि संघर्षका सुरूवातीका दिनमा शुल्क तिर्न नसकेर संगीत कक्षा छोड्नु परेको सम्झँदै उनले जीवनयात्रा मोड्नु परेकोसम्म अनुभव आफूले सँगालेको बताइन् ।

स्टुडियो रिसेप्सनदेखि बजार प्रतिनिधिसम्म, रोधिमा गाउनेदेखि नखाइ नखाइ कर्मशील यात्रामा धाउनेसम्मको अनुभव उनले सुनाइन् । अनेकौँ घुम्तीका उकाली ओराली, उतारचढाव आउँदा पनि गायिका बन्दनाले चुनौतीलाई छिचोल्दै कलामै क्रियाशील भएको बताइन् ।

कलाकारलाई सरकारले व्यवस्थापन गर्न नसकेको उनले गुनासो पोखिन् । रेडियो नेपालबाट स्वर परीक्षा पास गरेकी उनले गायन यात्राकै क्रममा करिब एक सय हाराहारी गीतमा आवाज दिइसकेको जनाइन् ।

प्रतिक्रिया