आन्तरिक पर्यटक तान्दै चरिंगे दह

दाङ । घोराही उपमहानगरपालिका–१ मा अवस्थित पर्यटकीयस्थल चरिंगे दहको मनमोहक दृश्यले त्यहाँ अवलोकन गर्न जाने आन्तरिक पर्यटकलाई लोभ्याउने गरेकोे छ । कुनै समय सुनसान हुने गरेको उक्त दहमा अहिले दैनिकजसो अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेका छन् ।
वरिपरि घनाजंगलले घेरिएको यो दहले पर्यटकहरूको मन जित्दै गएको छ । विशेषगरी शनिबार र बिदाका दिन पिकनिक खान तथा घुमफिर गर्न जानेहरूको चहलपहल हुन्छ । केही वर्षपहिले यस दहको बारेमा सुइँको पनि सुनिँदैन थियो, न त दह हेर्न लायक नै थियो । सानो पोखरीमा मात्रै सीमित ‘चरिंगे’ अहिले ठूलो दह बनेको स्थानीय कमला पोख्रेलले बताइन् । उनले भनिन्, ‘चरिगे दहलाई पर्यटकीय क्षेत्रका रुपमा विकास र संरक्षण गर्नुपर्छ भन्ने स्थानीयको सोच र प्रयासकै कारण यो पोखरी अहिले दहमा परिणत भएको हो ।’

दह संरक्षण र पर्यटकीय क्षेत्र बनाउन भन्दै स्थानीयले सुरुमा संरक्षण समिति गठन गरे । सोही समितिले दह संरक्षणका लागि विभिन्न निकायसँग आर्थिक सहयोग जुटाउनाका साथै जनश्रमदानका लागि स्थानीयमा उत्प्रेरणा जगाउने काम गरे पनि पछिल्ला वर्षमा स्थानीय सरकारले त्यति चासो नदिँदा पूर्वाधार निर्माणले गति लिन नसकेको स्थानीय थानेश्वर पुनले बताए ।

‘पर्यटकीय क्षेत्रका रुपमा परिचित यो दह स्थानीयको अथक परिश्रम र मेहनतले यहाँसम्म आएको हो तर स्थानीय सरकारले भने यसलाई त्यति चासो दिएको छैन,’ उनले भने । दह अहिले आन्तरिक पर्यटकका लागि आकर्षक र सुन्दर ठाउँ बनेको छ । ‘दह अवलोकन गर्न पुगेका तुलसीपुरका लिला सापकोटाले चारैतिर वनजंगल तथा शान्त ठाउँमा रहेकाले दहको मनोरहम दृश्यले सबैलाई लोभ्याउने बताए ।
उनले भने, ‘अष्ट्रेलियामा अध्ययनरत आफ्नी छोरी पाँच वर्षपछि घरमा आएको मौका छोपी सपरिवार यहाँ घुम्न आएका हौँ । दह रमणीय ठाउँमा रहेछ तर पूर्वाधार विकास भने भएको रहेनछ ।’

दहसम्म पुग्ने बाटो पक्की र त्यहाँ नजिकमा चमेना गृह, खानेपानीको उचित प्रबन्ध, दहको वरिपरि पर्खाल र त्यहाँ केही उत्खनन गरेमा पर्यटकलाई सहज हुने र बाह्य पर्यटक पनि तान्न सकिने सापकोटाले बताए । दह संरक्षण र विकासकै लागि शुल्क लिने गरिएको छ । स्थानीका अनुसार बीच जंगलमा गुप्प परेको चरिंगे दह अहिले फराकिलो भएको छ । दह वरिपरिको झाडी फालिएको छ ।

त्यसैगरी पिकनिक स्पट निर्माण गर्नाका साथै दहको उत्तरतर्फ एउटा मन्दिरसमेत बनाइएको छ । दहको उत्तरीतर्फ रहेको डाँडोबाट दहमा झरेको माटो फालेर चौडा पारिएको छ । उक्त डाँडोबाट खसेको माटोले दहको क्षेत्रफल साँघुरो बनाएकामा स्थानीयले श्रमदान गरी केही वर्षपहिले माटो फालेपछि अहिले तीन हेक्टर क्षेत्रफलमा दह फैलिएको छ । दह संरक्षण समितिका संयोजक कमल पोख्रेलले दह संरक्षणका लागि यहाँका बासिन्दाको धेरै श्रमदान र विभिन्न सरकारी निकायबाट आर्थिक सहयोग प्राप्त भएकोे जानकारी दिए । पछिल्ला वर्षमा भने स्थानीय सरकारले दहको संरक्षणका लागि खासै चासो नदिएको उनकोे गुनासो छ ।

गत वर्ष जिल्ला वन कार्यालयले उपलब्ध गराएको २० लाख रुपैयाँले दहको चारैतिरको भागमा पर्खाल लगाइएको थियो तर यस वर्ष घोराही उपमहानगरपालिकाले दहसम्म पुग्ने बाटो पक्की गर्नका लागि बजेट विनियोजन गरेको भन्ने सुन्नमा आए पनि कति बजेट र कहिलेबाट काम सुरु गर्छ भन्नेबारेमा कुनै जानकारी नभएको संयोजक पोख्रेलले बताए ।

दहलाई जिल्लाकै पर्यटकीयस्थलका रुपमा विकास गर्न सबैको सहयोग अति आवश्यक रहे पनि बजेट अभावका कारण अति आवश्यक पूर्वाधार निर्माण गर्न पनि नसकिएको उनको दाबी छ । यस अघि दह संरक्षणका लागि साबिक जिल्ला विकास समिति, नेपाल पर्यटन विकास बोर्ड, चरिंगे दह सामुदायिक वन समूह र त्यहाँ रहेका पाँचवटा महिला समूहले पनि दह संरक्षणका लागि सहयोग जुटाएका थिए । दह संरक्षणका लागि जुटेका रामपुर–६ र ७ का जनताले दहलाई नै आयस्रोतको गतिलो माध्यम बनाउन केही समयअघि व्यावसायिकरुपमा माछा पालन पनि गरेका थिए ।

प्रतिक्रिया