एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी सातौँ संस्करणको विराट गोल्डकपमा साविक विजेता सशस्त्र प्रहरी (एपीएफ) सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा विदेशी टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई २–१ गोलले हराउँदै एपीएफ प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।

खेल सुरू भएको तेस्रो मिनेटमा एपीएफका युवराज खड्काले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सविन थापाले निकालेको पासमा खड्काले हेडमार्फत गोल गरेका थिए । एपीएफले सुरुवाती अग्रता लिएपनि खेलको ३३औं मिनेटमा भुटानका फोफोना इब्रहीम गोल गर्दै खेल १–१ को बराबरीमा फर्काएका थिए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफको अतिरिक्त समयमा भुटानका खेलाडी कान्टे मुसाको पेनाल्टी एरियामा हेन्ड गरेपछि एपीएफले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै एपीएफका अरमान्द्र वेडमलले गोल गर्दै टिमलाई जित दिलाए ।

प्रतियोगिताका भुटानका कान्टे मुसाले पहिलो रेड कार्ड पाएका छन् । एपीएफका युवराज खड्का डिबक्स बाहिरबाट प्रहार गरेको बल मुसाले हातले रोकेपछि उनलाई रेफ्रीले रातो कार्ड दिएका थिए । खेलको म्यान अफ द म्याच एपीएफका अरमान्द्र बेडम घोषित भए । एपीएफले अब फाइनल प्रवेशका लागि भारतको लुका सकर र संकटा क्बल बीचको विजेता टिमसँग खेल्नेछ ।

प्रतिक्रिया