एकीकृत समाजवादीले नेकपा छोडे एकता सम्भव छ : उपेन्द्र यादव

धनगढी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा (एकीकृत समाजवादी) पार्टीले नेकपा छोडे पार्टी एकता हुन सक्ने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीले नेकपा छोडेर ब्राकेटको एकीकृत समाजवादी भनेर अगाडि बढ्न सके मात्रै एकता सम्भव हुने उनले बताए ।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने, ‘नेकपा एकीकृत समाजवादीले नेकपा छोडेर एकीकृत समाजवादी पार्टी बनाएर अगाडि बढौँ भन्ने कुरामा छलफल भएको हो, उहाँहरुले अगाडिको नेकपा छोडेर ब्राकेटको एकीकृत समाजवादी भनेर अगाडि बढ्न सक्नु भो भने यो सम्भव छ, हैन भने हामी सबै मिलेर काम गरी नै रहेका छौँ ।’

‘नेकपा (एकीकत समाजवादी) र जसपाका बीचमा एकता गर्ने कुरामा चर्चा परिचर्चा अगाडि आएको छ,एकआध पटक छलफल पनि भएको छ’, यादवले भने, ‘मुलभूत कुरामा धेरै कुरा मिल्छ तर मुल गाँठो एकठाउँमा परेको छ, त्यो केहो भने जसपा समाजवादी पार्टी हो र अगाडि बढीसकेको छ,समाजवादी लोकतन्त्रको अवधारणाका साथ अगाडि बढेको छ, कम्युनिष्ट पार्टी जसपा बन्न सक्दैन् ।’

जसपा समाजवादी धारबाट अगाडि बढिसकेको छ पछाडि फर्किने सम्भावना छैन् उनले भने, ‘उहाँहरुको पनि एकीकृत समाजवादीको पहिचान बनिसकेको छ, नेकपा छोड्दै जानुभाछ, त्यही धारलाई समात्दै अगाडि बढ्ने सम्भावनाका साथ हामीहरु विचार विमर्शमा छौँ, अहिले तत्कालै भनि हाल्दैन तर भविश्यमा सम्भव छ ।’

‘जसपा, एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) का बीचमा मोर्चा बन्ने कुरा पनि चलेको छ’, उनले भने, ‘समाजवादी मोर्चा बनेर त्यही माध्यमबाट अगाडि बढ्दै जाने, राष्ट्रिय समस्याहरुलाई हल गर्ने मुलुकमा सुशासन र समृद्धिका लागि काम गर्ने र मुलुलकलाई समाजवादी धारमा अगाडि बढाउने प्रयासहरु हुन्छ ।’ सरकारले केही दिनमै पूर्णता पाउने उनले बताए ।

प्रतिक्रिया