प्रतिगामी गतिविधिमा पूर्वराजाको प्रत्यक्ष संलग्नता

मोहनविक्रम सिंह

प्रतिगामी गतिविधिहरूमा पूर्व राजा पनि सहभागी भएका घटनाहरू बाहिर आएका छन् । त्यस सन्दर्भमा झापाको प्रतिगामी गतिविधिमा पूर्वराजाको प्रतक्ष संलग्नता भएको उदाहरण विशेष रूपले उल्लेखनीय छ । त्यस प्रकारको प्रतिगामी खतरालाई हल्का रूपमा लिनु गम्भीर प्रकारको गल्ती हुनेछ । त्यस प्रकारको प्रतिगामी खतराका विरूद्ध सही विचार राख्ने शक्तिहरूसित एकतावद्ध भएर त्यो खतराका विरूद्ध संघर्ष गर्नु अहिलेको राष्ट्रिय आवश्यकता हो ।

राष्ट्रपतिको चुनावमा आठ दलको उम्मेदवारको विजय प्रतिगमनलाई ठुलो धक्का हो । तैपनि एकातिर, साम्राज्यवादी शक्तिहरू अर्कातिर, राजावादी शक्तिहरूका कारणले हामीले लामो समयसम्म लोकतन्त्र तथा राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि लामो र कडा सङ्घर्ष गरिरहनु पर्नेछ । त्यस सन्दर्भमा राजावादी र साम्राज्यवादी शक्तिहरूका विरूद्धमा सङ्घर्ष ता गर्नु नै पर्ने छ । त्यसका साथै राष्ट्रपतिको चुनावमा एकतावद्ध भएका राजनीतिक शक्तिहरूवीचका विभिन्न मतभेदहरूका कारणले पनि हामीले उनीहरूसित सङ्घर्ष गरिरहनुपर्ने स्थिति आउन सक्ने छ ।

प्रतिगमनका विरूद्ध उनीहरूसितको एकतालाई निरन्तरता दिने प्रयत्न गर्दै उनीहरूसित मतभेद भएका विषयहरुमा सङ्घर्षलाई पनि सन्तुलित रूपले अगाडि बढाउने नीति अपनाउनु पर्नेछ । त्यस सन्दर्भमा विभिन्न वामपन्थी शक्तिहरूसितको एकता र सङ्घर्षको नीतिलाई पनि हामीले द्वन्द्वात्मक र सन्तुलित प्रकारले अगाडि बढाउन प्रयत्न गर्नु पर्नेछ । मूल रूपमा उनीहरू सामन्तवाद र साम्राज्यवाद विरोधी शक्तिहरू नै हुन् । तर कतिपय राजनीतिक प्रश्नहरूमा उनीहरूमा वैचारिक अस्पष्टता रहेको हुनाले उनीहरूले कैयौँ गम्भीर प्रकारका नीतिगत कमजोरीहरू पनि देखाउने गरेका छन् । सर्वप्रथम ता रणनीतिक र कार्यनीतिक प्रश्नहरूबारे सही र सन्तुलित दृष्टिकोण अपनाउन नसकेको हुनाले नै उनीहरूका तर्फबाट कैयौँ गम्भीर कमजोरी हुने गरेका छन् । त्यसैले उनीहरूले समाजवाद वा नयाँ जनवादलाई तात्कालिक कार्यदिशाको रूपमा प्रस्तुत गरेका छन् ।

त्यस प्रकारको गलत सोचाइका कारणले अहिले नेपालको विशिष्ट प्रकारको राजनीतिक अवस्थामा, अर्थात देशमा अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा पुँजीवादी प्रजातान्त्रिक क्रान्तिको, सर्वहारा नेतृत्वका कारणले जो नयाँ जनवादी क्रान्ति बन्न जान्छ, त्यो अवस्थामा नेपालका जनताले करिब एक शताब्दी लामो सङ्घर्ष वा त्याग र बलिदानद्वारा प्राप्त गरेको पुँजीवादी गणतन्त्रको प्रगतिशील चरित्रलाई सही प्रकारले बुझ्न असफल हुन्छन् । त्यसैले उनीहरूले अहिले देशमा विद्यमान गणतन्त्रमाथि हमला गर्न पुग्दछन् र त्यसरी प्रकारन्तरले उनीहरू राजावादीहरूको गणतन्त्रमाथिको हमलाको प्रतिगामी राजनीतिको सेवा गर्न पुग्दछन् ।

त्यसै गरेर उनीहरूले आज राजावादी शक्तिहरूले घोषित रूपले नै संसदभित्र र बाहिर गणतन्त्र, धर्मनिरपेक्षतामाथि खुला रूपले नै हमला बढाउँदै लगेको अवस्थामा पनि देशमा प्रतिगमनको गम्भीर खतरा भएको वास्तविकतालाई अस्वीकार गर्दछन् । त्यसरी उनीहरूले प्रतिगमनका विरूद्धको सङ्घर्षलाई कमजोर पार्ने नीति अपनाउन पुग्दछन् । कतिपय पक्षहरूले नेपालमा अहिलेको क्रान्तिको चरण नयाँ जनवादी क्रान्ति भएको कुरा स्वीकार गर्दागर्दै पनि सामन्तवादसितको अन्तर्विरोधलाई गौण वा नगण्य भएको बताउन पुग्दछन् । त्यो प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सामन्तवादको नै सेवा हो ।

कतिपय वामपन्थी शक्तिहरूले आपसमा पार्टी एकीकरणका लागि प्रयत्न गर्न थालेका छन् । तर त्यो सिद्धान्तहीन प्रकारको एकता नै हुने छ । किनभने उनीहरू मध्ये कतिपय पक्षले नेपालको अहिलेको क्रान्तिको चरण नयाँ जनवादी क्रान्तिको भएको ठान्दछन् भने कतिपय पक्षहरूले समाजवादी क्रान्तिको ठान्दछन् । नेपालको अहिलेको क्रान्तिको चरण नयाँ जनवादी क्रान्तिको वा समाजवादी क्रान्तिको ? त्यो आधारभूत रूपले नै बेग्लाबेग्लै सैद्धान्तिक विश्लेषणद्वारा टुङ्गिने कुरा हो । ती दुबैलाई एकै ठाउँमा मिलाएर पार्टी एकताको कुरा गर्नु गम्भंीर प्रकारको सिद्धान्तहीन र अवसरवादी कार्य नै हो । यो कुरा हामीले हेर्न बाँकी नै छ । उनीहरूले त्यस प्रकारको सिद्धान्तहीन र अवसरवादी एकतालाई कसरी व्यवहारिक रूप दिन्छन् ? त्यो कुरा जे भएपनि उनीहरूको पार्टी एकताको आधार प्रतिगमन दिशाउन्मुख राजनीति नै हुनेछ । किनभने उनीहरूले नयाँ जनवादी वा समाजवादी ‘क्रान्तिकारी’ताको कुरा गरेर विद्यमान गणतन्त्रको विरोध गर्दछन् । त्यो ‘वामपन्थी’ संकीर्णवादी सोचाइ हो । त्यस प्रकारको एकताको सन्दर्भमा हाम्रो पार्टीबाट फुटेर गएका फुटपरस्त तत्वहरूको एकता पनि अत्यन्त तल्लो स्तरको सिद्धान्तहीन र अवसरवादी प्रयास नै हुने छ ।

हाम्रो पार्टीबाट फुटेर गएपछि कतै न कतै कुनै आश्रय खोज्नु उनीहरूको बाध्यता हो । प्रथमता, त्यो एकता हुन्छ भने उनीहरूले सङ्घीयताको विरोधको नीतिलाई त्याग्नुपर्ने छ, जस्तो कि हाम्रो पार्टीमा छँदासम्म सङ्घीयताको घोर विरोध गर्ने कतिपय तत्वहरूले अन्य पक्षहरूमा विलय भएपछि पहिले पनि सङ्घीयताको अवधारणालाई त्याग्ने गरेका छन् । द्वितीय, मसाल नामसित पार्टीको गौरवपूर्ण इतिहास जोडिएको हुनाले पार्टीबाट पहिले फुटेर जाने सबै पक्षहरूले आफ्नो समूहको नामसित ‘मसाल’ जोड्ने गरेका थिए । हाम्रो पार्टीबाट अलग भएका अहिलेका फुटपरस्त तत्वहरूले पनि अन्य पक्षहरूमा विलय हुँदा ‘मशाल’लाई पनि त्याग्ने छन् । तृतीय, यो कुरा स्पष्ट छ कि पार्टीबाट अहिले फुटेर जाने तत्वहरू अत्यन्त सिद्धान्तहीन, अवसरवादी र थोरै पनि कम्युनिस्ट नैतिकता नभएकाहरू हुन् । पार्टीबाट पहिले फुटेर गएका सबै पक्षहरूले आफू एउटै पार्टीमा हुँदासम्मको पार्टीको गोपनीयता भङ्ग गर्ने जस्तो कुनै कार्य गरेका थिएनन् । पछिल्लोपल्ट हाम्रो पार्टीबाट फुटेर जाने तत्वहरूले पार्टीको गोपनीयताबारे नाङ्गो रूपले दुश्मनहरूका अगाडि पनि सार्वजनिक गर्ने काम गरेका छन् । त्यस प्रकारका अविश्सनीय तŒवहरूलाई नयाँ बन्ने ‘पाटीी’मा कुन प्रकारको ‘सम्मान’ प्राप्त हुने छ । त्यो कुरा आउने दिनहरूमा नै थाहा हुँदै जानेछ ।

हाम्रो यो अडान रहँदै आएको छ कि द्वन्द्वकालमा दुई परस्परविरोधी पक्षहरूका बीचमा भीडन्त भएर मृत्यु वा घाइते भएका व्यक्तिहरू बाहेक त्यो द्वन्द्वकालमा निर्दोष जनतामाथि गरिएका मानवअधिकारको हनन् वा अपराधजन्य कुनै पनि कार्यका लागि जिम्मेवार दुबै पक्षहरू मध्ये कुनै पनि पक्षसित सम्बन्धित व्यक्तिहरूमाथि निष्पक्ष र उच्च स्तरीय छानवीन गरेर अपराध अनुसार दण्ड सजाय गरिनुपर्दछ । त्यस सम्बन्धमा हाम्रो यो पनि सोचाइ छ कि त्यस प्रकारका कार्यहरूका लागि जिम्मेवार व्यक्तिहरूलाई उन्मुक्ति दिने प्रकारका कुनै पनि कानुन वा कार्वाहीहरूलाई हामीले गलत मान्दछौँ । त्यस प्रकारका अपराधजन्य कार्यहरूका लागि विना कुनै भेदभाव विना कुनै पूर्वाग्रह दुबै पक्षका जिम्मेवार व्यक्तिहरूमाथि कारवाही गरिनुपर्दछ । कुनै एउटा पक्ष वा व्यक्तिमाथि मात्र बदलाको भावले गरिने कार्वाहीलाई हामीले गलत मान्दछौँ ।

आगामी वैशाखमा चितवनमा हुन थालिरहेको उपचुनावलाई हाम्रो पार्टीले गम्भीर रूपमा लिएको छ । त्यो चुनावलाई सामान्य उपचुनावको रूपमा मात्र लिनु सही हुने छैन । त्यो चुनावलाई हाम्रो पार्टीले अमेरिकी साम्राज्यवादको देशमा बढ्दै गइरहेको हस्तक्षेपकारी नीति वा स्पष्ट शब्दमा भन्ने हो भने अमेरिकाको नेपाललाई इण्डोप्यासिफिक रणनीतिअन्तर्गत नेपाललाई अमेरिकी सैन्य क्याम्पमा लैजाने दीर्घकालीन योजनाका विरूद्ध संघर्षको रूपमा लिन्छौँ र लिनु पनि पर्दछ । अमेरिकाले अब, जस्तो कि त्यसले संसारका अन्य कैयौँ देशहरूमा पनि गर्ने गरेको छ, नेपालमा आफ्नै निर्देशनमा चल्ने राजनीतिक पार्टीको गठन गरेर नेपालको राजनीति, सरकार वा नीति निर्माण सम्बन्धी कार्यहरूलाई पनि प्रत्यक्ष रूपले आफ्नै निर्देशनमा सञ्चालन गर्न चाहन्छ । त्यही रणनीतिअन्तर्गत, त्यसले नेपालमा कथित स्वतन्त्र पार्टीको गठन गरेको छ । त्यस प्रकारको पार्टीको गठन नेपालको राष्ट्रियता, सार्वभौमिकता र वृहत्तर राष्ट्रिय हित समेतको लागि गम्भीर खतरा हो र नेपालको राजनीतिमा त्यसका दीर्घकालीन दुष्परिणामहरू हुनेछन् । त्यसैले हाम्रो पार्टीले अमेरिकाको त्यस प्रकारको साम्राज्यवादी रणनीतिका विरूद्ध व्यापक रूपले भण्डाफोर र आन्दोलन गर्नुपर्ने राष्ट्रिय आवश्यकता भएको कुरा स्पष्ट गर्न चाहन्छ । हामीलाई विश्वास छ कि त्यसरी नै हामीले अमेरिकाको अवाञ्छित प्रकारको भूमिकालाई रोक्न सक्ने छौँ र रोक्नु पनि पर्दछ । त्यही राष्ट्रिय आवश्यकतामाथि ध्यान दिँदै हाम्रो पार्टीले चितवनको उपनिर्वाचनलाई उपयोग गर्ने निर्णय गरेको छ ।

प्रतिगमन अहिले देशको गम्भीर राजनीतिक खतरा बनेको छ । नेपालमा प्रतिगमनका विरूद्धको लामो र गौरवपूर्ण सङ्घर्षको पृष्ठभूमि रहेको छ । त्यस प्रकारको सङ्घर्षको क्रममा प्रतिगमन बारम्बार पराजित हुने र ऐतिहासिक उपलब्धिहरू प्राप्त हुने गरेका छन् । त्यही क्रममा नै राजतन्त्रको अन्त भएको छ र देशमा गणतन्त्र र धर्मनिरपेक्षताको स्थापना भएको छ । तर त्यस प्रकारका उपलब्धिहरू प्राप्त भएको बेलादेखि नै राजावादीहरूले गणतन्त्र र धर्मनिरपेक्षता समाप्त गर्नको लागि अभियान चलाउँदै आएका छन् । एकातिर, ओलीले नेतृत्व गरेको एमालेसितको उनीहरूको साँठगाँठ, अर्कातिर, भारतका कट्टरवादी हिन्दु शासक वर्गको समर्थनका कारणले अहिले उनीहरूलाई थप बल प्राप्त भएको छ ।

त्यही कारणले नै गत मंसिरमा भएको चुनावमा उनीहरूको शक्तिमा केही वृद्धि पनि भएको छ । चुनावपछि उनीहरूले संसदभित्र र बाहिर पनि गणतन्त्र र धर्मनिरपेक्षताका विरूद्ध उग्र प्रकारका गतिविधि बढाएर लगेका छन् । त्यस सिलसिलामा त्यस प्रकारका प्रतिगामी गतिविधिहरूमा पूर्व राजा पनि सहभागी भएका घटनाहरू बाहिर आएका छन् । त्यस सन्दर्भमा झापाको प्रतिगामी गतिविधिमा पूर्वराजाको प्रतक्ष संलग्नता भएको उदाहरण विशेष रूपले उल्लेखनीय छ । त्यस प्रकारको प्रतिगामी खतरालाई हल्का रूपमा लिनु गम्भीर प्रकारको गल्ती हुनेछ । त्यस प्रकारको प्रतिगामी खतराका विरूद्ध सही विचार राख्ने शक्तिहरूसित एकतावद्ध भएर त्यो खतराका विरूद्ध संघर्ष गर्नु अहिलेको राष्ट्रिय आवश्यकता हो ।

प्रतिगमनका विरूद्ध सङ्घर्षको क्रममा जुन गठबन्धन वा सहकार्य हुन गइरहेको छ, त्यसको राष्ट्रिय महत्व हुनुको साथै त्यसमा कतिपय नीतिगत वा व्यवहारिक जटिलताहरू भएको कुराप्रति पनि हाम्रो ध्यान छ । पहिले भएको पाँचदलीय गठबन्धनको सन्दर्भमा हामीले एकातिर उनीहरूसित कैयौँ गम्भीर प्रकारका मतभेदहरू अगाडि बढाउनु परेको थियो, जस्तै कि एमसीसी र नागरिकता विधेयकबारे । चुनावमा भएको सहमतिको उलङ्घन र साझा उम्मेदवारहरूका विरूद्ध कतिपय अन्तर्घातका कारणले उनीहरूसितको सहकार्यलाई कमजोर पार्ने काम ग¥यो । तर त्यस प्रकारको प्रवृत्तिहरूको आवश्यकताअनुसार आलोचना गर्दै हाम्रो सँधै प्रतिगमनका विरूद्धको एकतालाई कायम राख्ने जोड दिने तर्फ नै रह्यो ।

त्यसरी हामीले विरोध र एकतालाई सन्तुलित प्रकारले अगाडि बढाउने प्रयत्न गर्दै आ्रएका छौँ । त्यसो गर्नुको पछाडिको हाम्रो अभिप्राय प्रतिगमनबाट सम्भावित अवाञ्छित दुष्परिणामहरूलाई रोक्नु नै थियो र अहिले पनि छ । अहिले पनि पारस्पारिक सहमतिका कतिपय पक्षहरूद्वारा अतिक्रमण हुने, हाम्रा बीचमा कतिपय प्रश्नहरूमा मतभेद हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तैपनि हामीले नीतिगत प्रश्नहरूमा आÇनो अडान कायम राख्दै प्रतिगमनका विरूद्धको एकतालाई कायम राख्ने नै हाम्रो प्रयत्न हुने छ । हाम्रो सँधै यो प्रयत्न हुने छ कि हाम्रा बीचको फुटले प्रतिगमनलाई मदत नपुगोस् र त्यसबाट देशमा कुनै अनिष्ट परिणाम नहोउन् ।

(२०७९ फागुन २९ र ३० गते सम्पन्न ने.क.पा.(मसाल) केन्द्रीय समितिको बैठकमा महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको अंश)

प्रतिक्रिया