राष्ट्रिय जनगणना २०७८ : कुन प्रदेशमा कति जनसंख्या ? (पूर्णपाठ)

काठमाडाैं । नेपालको १२औँ राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । आज काठमाडौंमा १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको हो ।

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ छन् ।

नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या करिब ६ लाख ५० हजार बढी छ । यसपटक बागमती र मधेस प्रदेशमा करिब २१ प्रतिशत जनसंख्याको बसोबास छ । कर्णाली प्रदेशमा सबैभन्दा कम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको १२औँ राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । त्यस्तै भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ ।

कुन प्रदेशमा कति जनसंख्या ?

यसअघि २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्या पुगेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो । अहिले २७ हजार ९ सय २ कम रहेकाे तथ्यांक सार्वजनिक भएकाे हो ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ ।

जुन गत २०६८ को जनगणनामा क्रमशः २०.८७ र ५.९३ प्रतिशत रहेको थियो । यसैगरी, मधेस प्रदेशमा दोस्रो ठूलो जनसंख्या रहेको छ ।

२०७८ मा जनसंख्याको आकारको हिसाबले तेस्रो, चौथो, पाँचौँ र छैटौँ क्रमशः कोशी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेश रहेका छन् ।

प्रतिक्रिया