कोशी प्रदेशकाे विराेधमा आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन नेम्वाङको आग्रह

पाँचथर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन आग्रह गरेका छन् । प्रदेश एकलाई कोशी नामाकरण गरिए पछि पहिचान पक्षधरले आन्दोलन गरिरहेको बेला नेम्वाङले प्रदेश सरकारलाई यस्तो आग्रह गरेका हुन् । । कोशी प्रदेश खारेजको माग गर्दै आन्दोलन चर्किदै गएको छ । अध्यक्ष हर्क नेम्बाङले पहिचानको आन्दोलनको नाममा माओवादी विरुद्ध गतिवविधि भइरहेको बताएका छन् ।

नेम्वाङले लेखेका छन्, ‘पहिचान माओवादीले उठाएको एजेण्डा हो । पहिचानको लागि जनयुद्ध साथै धेरै बलिदानी गर्ने पनि माओवादी नै हो र जबसम्म पहिचान प्राप्त हुदैन तबसम्म संघर्ष निरन्तर जारी रहनेछ ।’ उनले पहिचानको आन्दोलनका नाममा पहिचान विरोधी भन्दापनि माओवादी विरुद्ध आक्रमण बढेकाले त्यस्ता गतिविधिको भत्र्सना गरेका छन् ।

केही अराजक समुहहरूले पहिचान विरोधीलाई होईन माओवादी र माओवादी नेतृत्वलाई गालि र आक्रमण गरेको गतिविधि सुनियोजित र निन्दनीय भएको अध्यक्ष नेम्बाङले बताए । ताप्लेजुङमा नेकपा माओवादी केन्द्र कोशी प्रदेश सभा ससंदीय दलका नेता इन्द्रबहादूर आङ्बो ‘मौसम’माथि भएको घटना यसकै एक उदाहारण भएको उनले बताए ।

उनले भनेका छन्, ‘त्यस्ता प्रवृतले आपसी अन्तरद्वन्द बढाउदै आन्दोलनलाई नै कमजोर बनाउदै लगेको छ हामी यस्ता प्रवृति संग अविराम प्रतिवाद गर्न तयार छौं ।’

माओवादी केन्द्रले पहिचानको पक्षमा हुने जस्तोसुकै आन्दोलनको समर्थन गरेको उनले बताए । अध्यक्ष नेम्बाङले आन्दोलनरत पक्षलाई यथासिघ्र वार्तामा बोलाउन र वार्ताबाटै समस्या समाघान गर्न प्रदेश सरकारसँग जोडदार माग गरेका छन् ।

पहिचानवादीहरूले कोशी प्रदेश खारेज गर्न माग गर्दै ठूला तथा साना सहर बजार लगायत ठाउँमा बिरोध स्वरुप कालो झण्डा गाडेका छन् ।

प्रतिक्रिया