चैत १७ देखि पुष्प मेला हुँदै

काठमाडाैँ । पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित यही चैत १७ देखि २० गतेसम्म २४ औँ फ्लोरा एक्स्पो मेला आयोजना हुने भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सञ्चालन गर्न लागिएको मेलामा ७० वटा कक्ष रहने बताइएको छ ।

व्यवसायी ६० वटा रहने छन् भने सूचनामूलक १० कक्ष प्रदर्शनमा राखिने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

अध्यक्ष तामाङका अनुसार मेलामा विभिन्न पुष्प नर्सरी, फार्म तथा संस्थाको सहभागिता रहने छ । मेलामा चार सय ५० भन्दा बढी प्रकारका फूल बिरुवाको प्रदर्शन तथा खरिद बिक्री हुनेछ ।

नर्सरी व्यवसायीद्वारा उत्पादित आलङ्कारिक फूल बिरुवा, मौसमी फूल, स्टल सजावट, बगैँचा सजावट, पुष्प सजावटजस्ता उत्कृष्ट विधामा प्रतिस्पर्धा गराई पुरस्कृतसमेत मेलामा गराइनेछ ।

प्रदर्शनीले विभिन्न प्रकारका फूल बिरुवाको एकै थलोमा अवलोकन तथा खरिद गर्ने अवसरको साथै आधुनिक खेती प्रविधिबारे सूचना आदानप्रदान गर्ने अवसर दिने विश्वास एसोसिएसनले लिएको छ । मेला बिहान ९ बजेदेखि साँझ ५ः३० रहने छ ।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको बताइएको छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको अध्यक्ष तामाङले जानकारी दि‍ए । नेपालमा हाल व्यवसायीकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदैआएको छ ।

नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

कोरोना महामारीकै कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठिन परेको भए पनि अहिलेकै अवस्थामा कारोबार गर्न सके यस वर्ष लक्ष्यमा पुग्न निकै सहज हुने विश्वास एसोसिएसनले लिएको छ ।

नेपालमा २००७ सालदेखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । कात्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । – रासस

प्रतिक्रिया