‘बहाव’ मा विद्रोही सुरक्षा

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त अभिनीत चलचित्र ‘बहाव’ २४ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । पन्तको मुख्य भूमिका रहेको चलचित्र उनी प्रेमी, विद्रोही र साइको किसिमको चरित्रमा प्रस्तुत छन् । चलचित्रको सार्वजनिक ट्रेलरमा सुरक्षालाई सुँगासँग संवाद गरेको र सुँगाको निकट रहेको देखाइएको छ ।

चलचित्रको चितवनमा भएको दुई महिने कार्यशाला र छायांकन हुँदा अभिनेत्री सुरक्षा सुँगासँग बढी नजिकिइन् ।
उनले भनिन्, ‘म सुँगासँग दुई महिना वर्कसपमा बसें । हामी जनावर भन्नेबित्तिकै छि…छि र दुरदुर गर्छौ । सुँगासँगको मेरो अनुभव केही फरक रह्यो ।

उनले सुँगाको मनोविज्ञान र अवस्थाले यसका बारेमा आफूलाई निकै ज्ञान मिलेको सुनाइन् । उनले भनिन्, ‘मैले सुँगालाई निस्की भनेर पिँजडाको ढोका खोलिदिए पनि उ निस्किएन । उसमा अन्यौल थियो । उसमा डर पनि हुँदो रहेछ । उसले हाम्रो भाषा बुझ्ने भए पनि ऊ समझदार थियो । जनावरमा आफैंमा अनौठो किसिमको गुण हुँदोरहेछ । फिल्मको कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ ।’

उनका अनुसार सुरुमा सुँगा उनीसँग नजिकिएन । तर विस्तारै नजिकियो । उनले भनिन्, ‘मसँग सुँगा सुरुमा मानेन । तर ऊसँग बस्दै बोल्दै गएपछि उसले मलाई पत्यायो । जबकी मबाहेक अन्य व्यक्तिसँग सुँगा नजिक भएन । बिस्तारै सुँगा मसँग यति नजिकियो कि मेरो खुट्टा वरपर नै घुम्न थाल्यो । राती सुत्दा पनि सुँगा मेरो सिराने छेउमा रहेको स्टेण्ड लाइटमा गएर खुट्टा अड्काएर सुतिरहेको हुन्थ्यो ।’

सार्वजनिक ट्रेलरमा सुरक्षाले सुँगासँग ‘तलाई उड्न मन लाग्दैन हो’ भनेर सोधेकी छन् । तर सुरक्षाको अनुभवमा सुँगालाई उड्न मन लागे पनि ऊभित्र एक किसिमको डर छ । उनी भन्छिन्, ‘सुँगामा उड्न चाहने इच्छा भए पनि उडानमा उसलाई खस्ने डर छ । अथवा उसको गन्तव्य निश्चित छैन । किनकी ऊ पिँजडाभित्रै रमाइरहेको छ ।’ सुरक्षाले आफू चलचित्रको अर्को सुँगा भएको दाबी गरिन् ।

सुरक्षाले भनिन्, ‘म घरबाट निस्कन चाहन्छु र तर समय तथा बाध्यताले त्यो अवस्था हुन दिँदैन । म बहावको अर्को सुँगा हुँ ।’ स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । श्रीधर पौडेलको लगानी रहेको यस चलचित्रमा अभिनेत्री सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।

सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको चलचित्रमा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायांकन छ ।

चलचित्रमा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जीत क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्ने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया