हाइस्पिडको बहानामा क्लासिकटेकको लुटधन्दा

धादिङ । राजधानी काठमाडौंका कृष्ण आचार्यले केही दिनअघि क्लासिकटेक कम्पनीको इन्टरनेट जडान गरे ।
भिडियोग्राफी र मल्टिमिडियामा दक्ष अनुभव बटुलेका पत्रकार आचार्यले क्लासिकटेकको आधिकारिक वेबसाइट र फेसबुक पेजमा देखिएको हाइस्पिड इन्टरनेटको विज्ञापनलाई विश्वास गरी कम्पनीमा टेलिफोन गरे ।

कम्पनीका कर्मचारीले इन्टरनेट जोड्नुअघि उक्त प्याकेजसँगै विभिन्न प्याकेजहरूबारे पनि जानकारी गराए । कर्मचारीहरूकै जानकारीमा पहिले तीन महिनाको इन्टरनेट प्रयोग गरी हेर्न सल्लाह दिएपछि आचार्यले पनि कर्मचारीको भनाईमा विश्वास गरी तीन महिनाको रकम भुक्तानी गरी दुई सय एमबिपिएस स्पिडको इन्टरनेट जडान गरे ।

तर, कम्पनीको कुरा विश्वास गरी इन्टरनेट जडान गरेका आचार्य नराम्ररी ठगिएको उनले बताए । जडान गरेको परीक्षणकाल अवधि तीन दिनसम्म ठिकठिकै चलेको इन्टरनेटको स्पिड, रकम बुझाएपछि भने ह्वात्तै घटेको उनले बताए ।

इन्टरनेटको स्पिड घटेको भन्दै कम्पनीमा पटकपटक टेलिफोनमार्फत गुनासो गरे पनि इन्टरनेटको स्पिडमा कुनै परिवर्तन नआएको आचार्य बताउँछन् । इन्टरनेट कम्पनीले आफूमाथि ठगी गरेको ठानी आचार्यले कम्पनीको कस्टमर केयरमा जानकारी गराँउदासमेत आफ्नो सुनुवाई नै नभएको उनी बताउँछन् ।

टेलिफोन गरी आफू पत्रकार रहेको र उक्त ठगीधन्दाबारे मिडियामा समाचार लेख्छु भनेपछि बल्ल तपाइँको डिभाइसमा फाइभ जी बन्द भएको रहेछ, टु जि भएर नेट स्लो भएको हो भन्ने जवाफ पाएको उनले बताए ।
‘पछिल्लो समय हरेक इन्टरनेट कम्पनीले यसैगरी ठगी गर्दै आएको छ । यसअघि पनि मैले सुबिसु, वल्र्ड लिंक, भाया नेट लगायतको इन्टरनेट प्रयोग गरेको छु । सबै इन्टरनेटको यस्तै लुटधन्दा छ ।

यसरी मैले झँै कराउन सक्नेहरूले त केही हदसम्म भए पनि चित्त बुझ्ने नेट चलाउँछन् तर अन्य सोझा सिधा जनताले त के गर्लान्’, प्रश्न गर्दै आचार्यले भने । इन्टरनेटमा अहिले सबैभन्दा बढी ठगी गर्ने कम्पनी नै क्लासिक टेक रहेको पनि आचार्यले बताए । आचार्य मात्र होइनन् पछिल्लो समय हाइस्पिड इन्टरनेटको बहानामा कैयौँ जनता ठगिएका छन् ।

सरकारी नियामक निकायले ध्यान नदिँदा क्लासिकटेकले दुई सय एमबिपिएसको स्पिड भन्दै ठगीधन्दा गर्दै आएको छ । निजी क्षेत्रको ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीको रूपमा दावी गर्ने क्लासिकटेकले अधिकांश ग्राहकलाई झुक्याउँदै ठगी गर्दै आएको जनगुनासो छ ।

‘कहिलेकाहीँ त सूचना पनि नदिई नेट काटिँदो रहेछ । हामीलाई सुरुमा दुई सय एमबिपिएस नघटाई इन्टरनेट दिन्छौँ भनिएको थियो । तर अहिले त जम्मा सय केबिपिएस् स्पिडको मात्र इन्टरनेट दिएको छ’, उनले भने, ‘उनीहरूले यस्तै गरेर ठगी गर्दा रहेछन् । मलाई जति दुई सय एमबिपिएस स्पिडको भनेर रसिदमा लेखिएको छ । तर नेट भने असाध्यै स्लो चलिरहेको छ ।’

करिब एक दशकदेखि इन्टरनेटसम्बन्धी सेवा सञ्चालन गर्दै आएको सो कम्पनीले ग्राहकलाई हाइस्पिडको गेमिङ प्याकेज दुई सय एमबिपिएस सेवा उपलब्ध गराउने भन्दै ग्राहकबाट त्रैमासिक पाँच हजार रुपैयाँ लिँदै आएको छ । तर डाउनलोड र अपलोड दुवैमा सय केबिपिएस मात्र उपलब्ध गराएर ठगी गर्ने गरेको हो ।

यस विषयमा इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको कस्टमर केयरमा सम्पर्क गर्दा त्यस्तो नभएको र प्राविधिक कारणले त्यस्तो हुन गएको बताउँछन् । तपाइँले दैनिक रूपमा १२–१३ जिबी इन्टरनेट खपत गरिसकेको भन्दै सबैजसो कम्पनीले यसैलाई अनलिमिटेड भन्ने गरेको समेत ती कर्मचारी बताउँछन् ।

उक्त विषयमा आपूmले धेरै बोल्न नमिल्ने भन्दै हेड अफिसमा गई त्यहाँ नै कुरा गर्नसमेत ती कर्मचारीले आग्रह गरे । यद्यपि आधिकारिक व्यक्तिसँग कुरा गर्न सम्पर्क नंं. माग्दासमेत नम्बर दिन नमिल्ने ती कर्मचारी बताउँछन् ।

प्रतिक्रिया