भूमिकास्थानले बनायो आवधिक नगरविकास योजना

अर्घाखाँची । ‘कृषि, पर्यटन, उद्योगको विकास र स्वरोजगार, शिक्षा स्वास्थ्य, पर्यावरण भूमिकास्थानको आधार’ भन्ने मुख्य सोच निर्धारण गरी भूमिकास्थान नगरपालिकाले पहिलो पञ्च वर्षीय आवधिक योजना निर्माण गरेको छ ।

दीर्घकालीन सोचसहित तीन दिनसम्म नगरपालिकाको कार्यालय नुवाकोटमा सञ्चालन भएको गोष्ठीले पाँच वर्षे रणनीति, मुख्य कार्यक्रम, विकास र लागत अनुमान सहितको मार्गचित्र तयार पारेको सूचना अधिकारी हरिसचन्द्र भुसालले जानकारी दिए ।

आवधिक नगरविकास योजनाका प्रमुख अथिति एवं लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले स्थानीय तह र आवधिक योजना निर्माण भए बमोजिमको बाटोबाट विकास निमार्णको कामलाई अगाडि बढाउनुपर्ने बताए ।

सांसद घिमिरेले मुलुकमा स्थिर सरकार नहुँदा दिगो विकास, योजनाबद्ध विकासले गति लिन नसकेको भन्दै संघीयतापछि जनताले धेरै भरोसा गरेको, पहँुचमा रहेको नजिकको बलियो स्थानीय सरकारले जनताको माग र आवश्यकको आधारमा विकासको गतिलाई योजनाबद्ध रूपमा अगाडि बढाउनुपर्ने बताए ।

सांसद घिमिरेले भने, ‘जिल्लाको बिकासमा केन्द्र तथा प्रदेश सरकारको लक्ष्य उद्देश्य र योजनासँगै स्थानीय सरकार पनि अगाडि बढ्नुपर्छ, विकासलाई प्राथमीकरण गरेर अगाडि बढ्नुपर्छ, विगतका पाँच वर्षमा प्रदेश सरकारबाट पनि हामीहरूले प्रर्याप्त बजेट ल्याउन सफल भएका छौँ, अब प्रदेश सरकारबाट स्थानीय सरकारले आवधिक योजनामार्फत तय भएका योजना मात्र अगाडि बढाउँछौँ, आवधिक योजनालाई मुख्य मार्गदर्शन मानेर सबै अगाडि बढ्नुको कुनै बिकल्प छैन ।’

नगरपालिकाले जनताको भावना आवश्यकता तथा स्रोत साधनको अवस्थाको विश्लेषण गरी अगाडि बढ्ने नगरप्रमुख झबिलाल थापाले बताए ।
नगर प्रमुख झबिलाल थापाले सेवाग्राहीमैत्री उत्पादन तथा वितरणलाई केन्द्र भागमा राखी अबको बिकास बसाइँसराइ घटाउने, स्वरोजगार अगाडि बढाउने, स्वास्थ्यलाई सहज सर्वसुलभ, प्रविधियुक्त, बनाउने, शिक्षाको गुणस्तर विकास गर्ने कृषि पर्यटन र उद्योगको विकास गर्ने भन्ने सवालमा एकीकृत साझा दस्ताबेज आवधिक विकास योजनामार्फत अगाडि बढ्ने बताए ।

नगर उपप्रमुख बालकृष्ण बन्जाडेले नगरपालिकाको विकासमा माथिका दुबै सरकारले पनि उत्तिकै ध्यान दिनुपर्ने भन्दै जनताको विकास निर्माणको कार्यलाई छिटोछरितो, गुणस्तरीय, प्रभावकारी र सहज बनाउन आफूहरू निरन्तर लाग्ने बताए ।

आवाजविहीनलाई आवाज दिने, बेरोजगारलाई रोजगारी दिने, अधिकारविहीनलाई अधिकार दिने, स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी अगामी दिनहरूमा बस्न योग्न, गर्व गर्न योग्य, भन्न योग्य नगरपालिका बनाउने मुख्य ध्येयका साथ अगाडि बढ्ने प्रमुख प्रशासकीय अधिकृत नारायण पोख्रेलले बताए ।

नेपालको संघीयता सहकारितामूलक संघीयता हो, स्थानीय सरकारले सेवाको उत्पादन र वितरणलाई प्रभावकारी बनाउन सेवाग्राही जनताले खोजेको सेवा, आकारमा, प्रकारमा गुणस्तरमा, समयमा अनिवार्य दिनुपर्छ, हामी सधैँ जनताको सेवामा छौँ प्रमुख प्रशासकीय पोख्रेलले भने ।

विकास निमार्णका मुख्य पाँच क्षेत्र र विभिन्न विषयगत उपक्षेत्रमा कसरी ? कहिले ? किन ? कति बजेटमा के काम गर्ने ? भन्ने दीर्घकालिन सोचसहित आगामी पाँच वर्षको भूमिकास्थान नगरपालिका विकासको दस्ताबेज तयार पार्न सफल भएको विज्ञ समुहका प्रमुख बिके महर्जनले बताए ।

आगामी पाँच वर्षमा भौतिक पूर्वाधार, आर्थिक विकास, सामाजिक विकास, वन, वातावरण, संस्थागत विकास र सुशासनका क्षेत्रमा नगरपालिकाले गर्ने योजनाबद्ध विकासको रणनीति नीति कार्यक्रम र बजेट समेतको आवधिक योजनामा तयार पारिएको छ ।

अलना इन्टरनेसन सर्भिसेज प्रालिको सहजीकरण प्रदेश सुशासन केन्द्रको आर्थिक सहयोग तथा नगरपालिकाको आयोजनामा आयोजित तीनदिने नगरविकास गोष्ठीमा जनप्रतिनीधि, राजनीतिक दल, कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि विज्ञ समूह, पत्रकार र अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया