गोदावरी महोत्सव हुने

काठमाडौं । आर्थिक क्रियाकलाप बढाउने लक्ष्यका साथ ललितपुरको गोदावरी नगरपालिकामा प्रथम गोदावरी महोत्सव हुने भएको छ । गोदावरी नपाको संरक्षकत्व तथा गोदावरी उद्योग वाणिज्य संघको आयोजना र इभेन्ट सोलुसन प्रालिको व्यवस्थापनमा आगामी चैत २९ देखि २०८० साल वैशाख ३ गतेसम्म ५ दिने गोदावरी महोत्सव हुने भएको हो ।

नेपाली नयाँ वर्ष २०८० र गोदावरी नगरपालिका स्थापना दिवसको अवसरमा ‘आर्थिक समृद्धिका लागि संस्कृति’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवले गोदावरी नपामा रहेका स्थानीय वस्तु, कला, संस्कृति, नवप्रवर्तक, विद्यमान एवं नवउद्यमीहरुलाई बजारीकरणका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

महोत्सवको मुख्य आकषर्णको रुपमा संस्थागत खरिदकर्ता र उत्पादकबीच भेटघाट, लगानीकर्ता र उद्यमीबीच छलफल, स्थानीय उत्सव, खेल उत्सव, साहित्य उत्सव, गोदावरी कन्क्लेभ रहनेछन् ।

महोत्सवअन्तर्गतको बायर सेलर मिटमा देशका मुख्य खरिदकर्ताहरु तथा महोत्सवस्थलमा रहेका स्थानीय उत्पादनकर्तासँग भेटघाट गरी स्थानीय उत्पादनको खरिद र दिगो व्यापारका लागि संयुक्त समझदारीपत्रसमेत गरिने वातावरण निर्माण गरिनेछ ।

यसैगरी बैंकर बरोअर मिटमार्फत स्थानीय क्षेत्रमा रहेका उद्योगी र बैंकहरुलाई एकै स्थानमा राखी लगानीको वातावरणलाई अझ सहज बनाउन भूमिका खेलिने आयोजकले जनाएको छ ।

महोत्सवमा गोदावरी क्षेत्रका स्थानीय क्षेत्र र जातजाति तथा संस्कृतिको पहिचान दिने गरी स्थानका आधारमा स्थानीय उत्सवको आयोजना गरिनेछ । थेचो, चम्पापुर, ठैव र कोड्कुमा छुट्टाछुट्टै उत्सव हुनेछन् । त्यस्तै साहित्य र खेल उत्सवसमेत आयोजना गरिनेछ ।

स्थानीय क्षेत्रका आदिवासीहरु दनुवार, पहरी, तामाङ आदिको सांस्कृतिक पहिचानलाई उजागर गरिने महोत्सवको अर्को आकर्षणको रुपमा गोदावरी कन्क्लेभ हुनेछ । उक्त कन्क्लेभमा देशका प्रतिष्ठित आर्थिक व्यक्तित्वसँगको छलफल र प्रश्नोत्तर कार्यक्रम राखिनेछ ।

महोत्सव अवधिभर पर्यटकहरुको मनोरञ्जनका लागि परम्परागत सांस्कृतिक कार्यक्रम, सांगीतिक कार्यक्रम, साहसिक गतिविधि तथा व्यापारिक कार्यक्रमहरु आयोजना गरिनेछ । महोत्सवमार्फत स्थानीय कला र संस्कृति, पर्यटन, महिला उद्यमशीलता प्रवर्द्धन, स्थानीय कलाकारको आकर्षक कार्यक्रम, घरेलु तथा लघु उद्यमको प्रवर्द्धनका विशेष कार्यक्रम सञ्चालन हुने आयोजक गोदावरी उद्योग वाणिज्य संघले जनाएको छ ।

संघका अनुसार महोत्सवमा २०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टलहरु राखिनेछ । मुख्य रुपमा स्थानीय उत्पादन, हस्तकलाका सामग्री, संस्कृति झल्काउने सामग्री, गार्मेन्ट, स्थानीय खाद्य उत्पादन, फूल तथा कृषि उत्पादन, वित्तीय संस्था, बीमा, शैक्षिक संस्था, परामर्श संस्था, अनलाइन व्यापार तथा सेवालगायतका विभिन्न विधाका स्टलहरु राखिनेछ ।

महोत्सवमा १ लाखभन्दा बढी अवलोकनकर्ताहरु प्रत्यक्ष सहभागी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया