बिच्छाइएका पाइपबाट जहिल्यै चुहावट

मेलम्चीको पानी

काठमाडौं । मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता विच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । निर्देशनालयले एसियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र १ हजार १० किमी पाइप विच्छाएको थियो । नयाँ पाइपमा पनि अरू निकायले काम गर्दा क्षति पुगेकाले चुहावट हुन थालेको निर्देशनालयको सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए ।

उनका अनुसार ढल तथा सडक बनाउँदा, विद्युत् अन्डरग्राउन्ड गर्दा पाइपमा क्षति पुगिरहेकाले पनि सडकमा धेरै ठाउँमा चुहावट पाइएको उनले बताए । ‘पुरानो पाइपमा त चुहावट हुने नै भयो नयाँ पाइपमा पनि चुहावटको समस्या भइरहेको छ’, उनले भने ।

निर्देशनालयले यसअघि बिच्छाइएको पाइपको परीक्षण गरिरहेको छ । नयाँ पाइपमा परीक्षण गर्दा ठाउँठाउँमा चुहावट पाइएको र ती ठाउँमा मर्मत गरेर पुनः परीक्षण गरिने उनको भनाइ छ । ‘अन्तिम परीक्षणमा पनि समस्या नभएको पाइए मात्रै नयाँ पाइपबाट पानी पठाउन सकिनेछ’, उनले भने ।
नयाँ पाइप परीक्षणको क्रममा हुँदा हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पुरानो संरचनाबाट नै पानी वितरण गरिरहेको छ । उपत्यकामा झण्डै एक सय वर्ष पुरानो पाइप रहेकाले पनि पुराना पाइपमा बढी समस्या भइरहेको कार्यालयको भनाइ छ ।

पहिलो कम परिमाणमा पानी वितरण हुने गरेको तर मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पाइपमा समस्या भएको हो । नयाँ पाइप परीक्षणका क्रममा भएकाले अहिले पुरानो पाइपबाटै पानी वितरण भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

खासगरी ललितपुरको लगनखेल र आसपासका क्षेत्र, काठमाडौंमा पुरानो बस्ती क्षेत्रमा चुहावटको समस्या बढी छ । सरकारले गत महिनाबाट उपत्यकामा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरेको थियो । मेलम्चीको पानीको वितरण दुई वर्ष पहिले नै सुरु भए पनि बाढीका कारण धेरै संरचनामा क्षति पुगेकाले बर्सेनि हिउँद महिनामा मात्रै पानी वितरण भइरहेको छ ।

प्रतिक्रिया