कुश्मा ठुलीपोखरीमा सञ्चालित स्वास्थ्य शिविरमा पहिलो दिनमै झण्डै ५ सय जनाको चेकजाँच

पर्वत । कुश्मा नगरपालिका १२ ठुलीपोखरीमा आइतबारदेखि सुरु भएको स्वास्थ्य शिविरमा पहिलो दिन मै ४ सय ९४ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । एक्सरे, ईसिजी, सर्जरी, सामान्य शल्यक्रिया, हाडजोर्नी, मनोरोग, युएसजी, छाला सम्वन्धी, दन्त रोग, आँखा, ग्याष्ट्रीकलगायतको चेकजाँच गरिएको हो । आइतबारदेखि संचालन भएको तीन दिने निशुल्क स्वास्थ्य शिविरको पूर्व स्वास्थ्य मन्त्री तथा सांसद पदम गिरीले उद्घाटन गरेका हुन्।

शिविरको उद्धाटन समारोहमा बोल्दै पूर्व मन्त्री गिरीले दुरदराजमा आर्थिक अभावका कारण उपचार गर्न नसकेर रोग लुकाएर बस्न बाध्य नागरिकहरुका लागि यो शिविर ठुलो अवसर भएको बताए । गिरीले निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी दिवसको अवसर पारेर शिविर संचालन गरेकोमा धन्यवाद व्यक्त गर्दै सवै नागरिकले आफ्नो स्वास्थ्य परिक्षण गराउन आग्रह गरे । रोगले च्यापेपछि मात्र उपचार गर्न जाने प्रचलन रहेको बताउँदै उनले स्वस्थ्य देखिने व्यक्तिले समेत शिविरमा शरीरिको सवै भागको परिक्षण गराउन आग्रह गरे ।

कार्यक्रममा निजामती कर्मचारी अस्पतालका कार्यकारी प्रमुख विधाननिधि पौडेलले अस्पतालको बार्षिक कार्यक्रम अनुसार आफ्नो जन्मठाउँ र अध्ययन गरेको ठाउँका नागरिकहरुको स्वास्थ्य अवस्था सुधार गर्ने उद्धेश्यले शिविर संचालन गरिएको बताए । उनले बढि भन्दा बढि नागरिक सहभागि भएर आफ्नो स्वास्थ्य लाभ लिन समेत आग्रह गरे । महिला २ सय ८६ र पुरुष २ सय ८ जनाको परिक्षण गरिएको हो । सवैजसो रोगका विषेशज्ञ डाक्टरहरु शिविरमा आएको बताउँदै यहाँ उपचार हुन असम्भव विरामीलाई पोखराका विभिन्न अस्पताल र काठमाण्डौमै लगेर निजामती कर्मचारी अस्पतालमा उपचार गरिने समेत जानकारी दिए ।

सो अवसरमा कुश्मा नगरपालिका वडा नं। १२ का वडा अध्यक्ष झलक रिमालले स्वागत गरेका थिए । उनले आफ्नो ठुलो मेहनतवाट शिविर संचालन गर्न सफल भएको बताउँदै यसवाट सवैले लाभ लिन आग्रह गरे । उनले पूर्व स्वास्थ्य मन्त्री गिरी समक्ष ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक जनशक्ति र उपकरण माग गर्दै माग पत्र समेत बुझाएका थिए । पूर्व मन्त्री गिरीले उक्त माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उप–प्रमुख स्वस्थानी रिजाल लगायत वार्ड अध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया