नेपाली चियाले पायो गोल्ड मेडलसहित १० वटा अन्तर्राष्ट्रिय पदक

काठमाडौं । चीनमा आयोजित दोस्रो विश्व कालो चिया गुणस्तर मूल्यांकन प्रतिस्पर्धामा नेपालले एउटा ग्राण्ड गोल्ड मेडल, ५ वटा स्वर्ण पदक र ४ वटा रजत पदक हासिल गरेको छ । चाइना टि मार्केटिङ एसोसियसनले चीनको फुचियान प्रान्तको फुआन शहरमा सेप्टेम्बरमा आयोजना गरेको उक्त प्रतिस्पर्धामा १६ वटा चियाका नमूनाहरू पठाइएकोमा १० वटाले पदक जित्न सफल भएको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालभरका ४० वटा चियाका नमूनाहरू संकलन गरी बोर्डमै भएको चियाको स्वाद एवं गुणस्तर परीक्षणका आधारमा १६ वटा नमूनाहरू छानेर प्रतिस्पर्धाका लागि चीन पठाएको थियो ।

बोर्डले बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीका सल्लाहकार हरिबोल गजुरेलले पदक जित्न सफल उत्पादक संस्थाहरूलाई पदक हस्तान्तरण गरे । तीनजुरे टि फारमर कोअपरेटिभ सोसाइटी लिमिटेडको पर्ल गोल्डेन ब्लाक टि नमूनाले ग्राण्ड मेडल जित्न सफल भएको थियो ।

त्यसैगरी फारमर टि प्रोसेसिङ इन्डस्ट्रिको एफटि हिमालयन गोल्ड नमूना, हिमालय सांग्रिला टि प्रोड्युर्सको सांग्रिला गोल्ड, गोर्खा टि इस्टेट प्रा.लि.को जीटीई गोल्डेन टि, सिद्ध देवी टि इस्टेट प्रा.लि.को सिल्भर विङ्स र कञ्चनजंघा अर्गानिक अर्थोडक्स चिया उद्योगको गोल्डेन टिप्स टिले स्वर्णपदक प्राप्त गरेको छ ।

हिमालयन सांग्रिला टि प्रोड्युर्सको सांग्रिला गोल्डको हिमालयन सनराइज ब्युटि, श्री बारह टि इन्ड्रस्ट्रिज प्रा.लि. को स्पेसल ब्लाक टि, तीनजुरे टि फारमर कोपरेटिभ्स सोसाइटी लिमिटेटको नरमल गोल्डेन ब्लाक टि र माइपोखरी चिया प्रसोधन उद्योग नेपालको एमपी १० ले रजत पदक पाएको छ ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. विष्णु भट्टराईले नेपाली चिया उत्पादकहरूले प्राप्त गरेको यो पदकले नेपाली चियाको गुणस्तर विश्वमै अब्बल रहेको प्रमाणित गरेको बताए । उनले भारततर्फ संकेत गर्दै नेपालको चियाको गुणस्तरबारे अप्रमाणित हल्ला फैलाइरहेको अवस्थामा चीनमा भएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली उत्पादनले १६ मध्ये १० वटा पदक हासिल गर्नुले उक्त हल्ला गलत सावित गरेको दावी गरे ।

उहाँले यो सफलताले नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन तथा निर्यातका लागि उपयुक्त वातावरण सृजना भएको र आगामी दिनमा पनि चियाको गुणस्तरीय उत्पादनमा बृद्धि गर्दै दीर्घकालीन बजारको समस्या समाधानका लागि सरोकारवाला पक्षहरूबीच निरन्तर सहकार्य, समन्वय र सहयोग हुन जरुरी रहेको बताए ।

कार्यक्रममा चिया उत्पादकहरूले चिया क्षेत्रमा समाहित किसानको भविष्य सुनिश्चित गर्नु राज्यको दायित्व भएको भन्दै चिया क्षेत्रमा रहेको समस्याको नीतिगत सम्बोधन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया