काठमाडौं । बागमती प्रदेशसभाको शनिबार बसेको बैठकले विधेयक व्यवस्थापन विशेष समिति गठन गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले १५ सदस्यीय विशेष समिति गठन गर्न स्वीकृति प्रदान गरेको हो । उक्त विशेष समितिमा प्रदेशसभाका सदस्यहरू आशा लामा, उद्धव थापा, कुन्दनराज काफ्ले, छिरिङदोर्जे लामा, जयराम थापा, डा दिनेशचन्द्र देवकोटा, प्रकाश श्रेष्ठ, रामकृष्ण चित्रकार, राधिका तामाङ, रत्नप्रसाद ढकाल, वसन्तप्रसाद मानन्धर, शैलेन्द्रमान बज्राचार्य, मधुसुधन पौडेल, सृजना सैजू र सुरेन्द्रराज गोरसाईं छन् ।
यसैगरी सोही बैठकमा शनिबारै साँझ विशेष समयमा ११ जना प्रदेशसभाका सदस्यले प्रदेश सरकारको विभिन्न घटनाक्रमलाई लिएर आ–आफ्नो धारणा व्यक्त गरेका थिए । उनीहरूले प्रदेशको सिन्धुली र मकवानपुरमा केही दिनदेखि जङ्गली जनावर (हात्ती र बाघ)को आक्रमणले तीन नागरिकको मृत्यु भएकामा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरूले जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारप्रति समवेदना प्रकट गर्दै क्षतिपूर्ति दिलाउनुपर्ने माग गरे ।
यसैगरी उनीहरूले हिंस्रक वन्यजन्तुबाट मावन बस्तीमा बरोबर आक्रमण गर्ने र बालीनालीप्रति क्षति पु¥याउँदै आएकामा वन्यजन्तु आरक्षले ती जनावरलाई नियन्त्रण गर्ने प्रयास नगरेकामा र पीडित भएका परिवारलाई अहिलेसम्म पनि सम्पर्कमा नरही उनीहरूलाई औषधोपचार क्षतिपूर्ति नदिएकोप्रति आपत्ति जनाउँदै प्रदेश सरकारले सङ्घीय सरकारमार्फत वन्यजन्तु आरक्षलाई सम्बन्धित निकायमार्फत सम्पर्क गराउनुपर्ने माग गरे ।
प्रतिक्रिया