‘दाल’ उत्पादक कृषकलाई अनुदान

कृषि उपजको आयात घटाई निर्यात बढाउने उदेश्य

इलाम । बढ्दो कृषि उपजको आयात घटाई निर्यात बढाउने उदेश्यले इलामको माङसेबुङ गाउँपालिकाले चालू आर्थिक वर्षदेखि विभिन्न ६ प्रकारका कृषि उपजमा अनुदान दिने कृषि प्रोत्साहन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
गाउँपालिकाले कृषि प्रोत्साहन कार्यक्रम कार्यविधि २०७९ पारित गरी मंगलबारदेख कृषि प्रोत्सहन कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । गाउँपालिकाले मंगलबार दाल उत्पादन गरेका कृषकलाई प्रोत्साहन रकम हस्तान्तरण गरेको छ ।

एक सय किलोग्राम भन्दा बढि ’पहेँली दाल’ उत्पादन गरेका कृषकहरुलाई प्रतिकिलो २० रुपैयाँका दरले प्रोत्साहन रकम हस्तान्तरण गरेको हो ।
माङसेबुङ गाउँपालिका वडा नम्बर १, ३, ५ र ६ का कृषकहरुले दाल बालीमा प्रोत्साहन रकमका लागि दिएको निवेदनमध्ये ७१ जना कृषकहरुको मापडण्ड पुगेको थियो ।

७१ जना कृषकको नापतौल गर्दा २८ हजार चार सय २८ किलोको प्रतिकिलो २० रुपैयाँका दरले पाँच लाख ६८ हजार पाँच सय ६० रुपैयाँ प्रोत्साहन गरकम वितरण गरिएको आर्थिक विकास समितिका संयोजक तथा गाउँपालिका प्रवक्ता सुसन राई (रुङमाहाङले) जानकारी दिए ।

गाउँपालिकाले वडा नम्बर ३ को बालदिप आधारभुत विद्यालयमा र माङसेबुङ गाउँपालिका वडा नम्बर ५ को वडाकार्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी प्रोत्सहन रकम वितरण गरेको हो ।

वडा नम्बर ३ मा वडाध्यक्ष जनम खम्बुको अध्यक्षता र ५ मा वडाध्यक्ष नरेन्द्रकुमार राईको अध्यक्षतामा कार्यक्रम गरी कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राईले कृषकलाई प्रोत्साहन रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाले आगामी दिनमा दाल बालीलाई अझ व्यवस्थित र व्यावसायिक बनाउन पकेट, ब्लक, जोन हुँदै सुपरजोनको रुपमा विकास गरेर लगिने बताए । अध्यक्ष राईले कृषि तथा पशु विकास क्षेत्रमा कृषि प्रोत्साहन कार्यक्रमसँगै उन्नत जातको गाईको बाछी वितरण, पालिकाभरी एक घर एक एभोकार्डो बिरुवा वितरणलगायतका कार्यक्रमहरुको समेत तयारी भईरहेको बताए ।

माङसेबुङ गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा दूध उत्पादन, दाल उत्पादन, स्कूस उत्पादन, केराखेती उत्पादन, कफि उत्पादन र बाँस उत्पादन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रमको नाममा सोझै अनुदान दिने उल्लेख गरेको थियो ।

गाउँपालिकाले दूध उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत दैनिक २० लिटर भन्दा बढी दूध उत्पादन गर्ने कृषकलाई प्रतिलटर दुई रुपैयाँ (दैनिक) अनुदान दिने भएको छ । त्यसका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको छ ।
स्कूस उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत २० झ्याङ भन्दा बढी स्कूस रोप्ने कृषकलाई प्रतिझ्याङ एक हजार रुपैयाँ दिने भएको छ । त्यसका लागि तिन लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यसैगरी केराखेती उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत ५० झ्याङ भन्दा बढी केरा रोप्ने कृषकलाई प्रतिझ्याङ एक सय रुपैयाँ दिने भएको छ । त्यसका लागि पचास हजार रुपैयाँ विनियोजन गरेको छ ।
कफि उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत प्रतिकिलोग्राम २० रुपैयाँ दिने भएको छ । त्यसका लागि तिन लाख रुपैयाँ विनियोजन गरेको छ ।
गाउँपालिकाले बाँस उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत २५ झ्याङ भन्दा माथि मलिबाँस रोप्ने कृषकलाई प्रतिझ्याङ एक सय रुपैयाँ दिने भएको छ । त्यसका लागि दुई लाख रुपैयाँ विनियोजन गरेको छ ।

माङसेबुङको माथिल्लो क्षेत्रमा दूध उत्पादन र स्कूष उत्पादन बढी हुने गर्दछ । तल्लो क्षेत्रमा भने दूधसँगै दाल, केरा, बाँस उत्पादन हुने गर्दछ । मध्यम क्षेत्रमा कफि उत्पादन हुने गर्दछ ।

मुख्यगरी कृषिमा व्यावसायिकरण गर्ने र आर्थिक उपार्जन गर्ने लक्ष्य रहेको यो कार्यक्रमका लागि गाउँसभाले १६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

पछिल्लो पुस्ताको युवाहरु वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता हटाउँदै व्यावसायिक कृषि उपज उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ माङसेबुङ गाउँपालिकाले कृषि उपज उत्पादनमा अनुदान दिन थालेको हो ।

प्रतिक्रिया