पर्यटनलाई टेवा दिने नियात्रा

विभिन्न हिमाल र भन्ज्याङहरूको बारेमा तिथिमितिसहितको जानकारीले पाठकको सामान्य ज्ञानको दायरा भने अवश्य बढाउने छ । यो नियात्रा सङ्ग्रहले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनेमा विश्वस्त हुन सकिन्छ

रत्न प्रजापति

धेरै सोचेर र धेरै लामो योजना बनाएर गरिएको यात्राभन्दा कहिलेकाहीं अकस्मात् लहड वा मनको आवेगमा गरिएको यात्रा अझ बढी रोचक र आनन्ददायी हुन्छ । सङ्ग्रहमा सङ्गृहीत ‘पहाडैपहाड पूर्व–पश्चिम’ यस्तै एउटा यात्राको वर्णन हो । एक साँझ तमोर नदीको किनार माझिटारमा सुस्ताउँदै अनायासै बनेको योजनाले पहाडैपहाड पूर्व–पश्चिम यात्राको साइत जुरेको छ । त्यो पनि मोटरसाइकलमा

पछिल्लो समय नियात्रालेखन निकै फस्टाएको छ । नयाँ तथा पुराना नियात्राकारहरूको नियात्रासङ्ग्रह आउने क्रम जारी छ । कसैको सोख र कसैको उद्देश्यमूलक नियात्राले पाठकलाई विविध विषय र सन्दर्भका नियात्रा पठनबाट नौलो स्वाद र आनन्द प्राप्त गर्ने अवसर प्राप्त भइरहेको छ ।
यसै क्रममा पत्रकारको भूमिकामा रहँदै आएका गिरिराज बाँस्कोटा पनि ‘कञ्चनजङ्घाको काखबाट’ शीर्षकको नियात्रासङ्ग्रहमार्फत नियात्राकारको परिचय स्थापित गर्न आइपुगेका छन् । फरक समयमा नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न स्थानमा गरिएको यात्रामा आधारित यो सङ्ग्रहमा २० वटा नियात्रा सङ्गृहीत छन् । सङ्ग्रहमा ‘पहाडैपहाड पूर्व–पश्चिम’, ‘कञ्चनजङ्घाको काखबाट’, ‘ओलाङचुङ्गोला हुँदै टिप्तला’, ‘फक्ताङ्लुङ यात्रा’, ‘पाथीभरा दर्शन’, ‘केन्जे करिस्मा’, ‘गुराँसको गाथा’, ‘पानीटार हुँदै श्रीअन्तु’, ‘पौवाभन्ज्याङदेखि सन्दकपुर’, ‘शीरदेखि तिरसम्म’ लगायतका नियात्राहरू परेका छन् ।

धेरै सोचेर र धेरै लामो योजना बनाएर गरिएको यात्राभन्दा कहिलेकाहीं अकस्मात् लहड वा मनको आवेगमा गरिएको यात्रा अझ बढी रोचक र आनन्ददायी हुन्छ । सङ्ग्रहमा सङ्गृहीत ‘पहाडैपहाड पूर्व–पश्चिम’ यस्तै एउटा यात्राको वर्णन हो । एक साँझ तमोर नदीको किनार माझिटारमा सुस्ताउँदै अनायासै बनेको योजनाले पहाडैपहाड पूर्व–पश्चिम यात्राको साइत जुरेको छ । त्यो पनि मोटरसाइकलमा । धेरै पुरानो सरकारी योजना हो पूर्व–पश्चिम जोड्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्ग । यही मार्ग भएर पूर्व–पश्चिमको यात्रा भएको छ । पूरा भइनसकेको र सरकारको माया र स्याहार पाउन नसकेको, भन्नैपर्दा सरकारबाट उपेक्षित कच्ची अनि उबडखाबड मार्गमा मोटरसाइकलबाट गरिएको यात्रा कठिन नै भए पनि निकै रोमाञ्चक र साहसिक यात्रा बन्न पुगेको छ । यो यात्रावर्णनबाट पाठक स्वयंले पनि यात्राको रोमाञ्च र आनन्द महसुस गर्न सक्नेछन् ।

मध्यपहाडी लोकमार्गको प्रारम्भबिन्दु पाँचथरको याङ्वरक गाउँपालिकाको चिवाभन्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको १ हजार ८ सय ७९ किलोमीटरको दूरी मोटरसाइकलबाट पार गर्नु ठूलै आँट हो भन्नुपर्छ । यसलाई आँटले जुराएको यात्रा पनि भन्न सकिन्छ । २६ जिल्लाका २ सय १५ भन्दा धेरै बस्ती हुँदै अघि बढेको यो यात्राले यात्राका सहभागीलाई यात्राको रोमाञ्च र आनन्द त दिएकै छ, साथसाथै देश चिन्ने र बुझ्ने अवसर पनि दिएको छ । यही अवसर यो नियात्रामार्फत पाठकले पनि पाएका छन् । यद्यपि यो नियात्रा केही हदसम्म सूचनामूलक भए पनि यसमा नियात्राकारको अनुभव र अनुभूति सम्प्रेषण हुन सकेको छैन । त्यसैले यो नियात्रा केवल यात्रा विवरण जस्तो लाग्छ । यसो त सङ्ग्रहका सबै नियात्रामा विचार र अनुभूति पक्षको सम्प्रेषण अत्यन्तै न्यून छ र यात्राको विवरण अधिक छ । नियात्राकारको निजी विचार, अनुभव र अनुभूतिसँगै तत्तत् स्थानहरूका बारेमा प्रचलित धार्मिक, सामाजिक तथा ऐतिहासिक किंवदन्ती तथा लोकोक्तिहरूको अभाव टड्कारो महसुस हुन्छ । नियात्राकारको भावना, विचार र अनुभूतिको श्रृङ्गारले सजाउन सकिएको भए नियात्रा अझै सुन्दर बन्ने थियो । पाठकले नियात्रामा निजात्मक अनुभूति र कलात्मकताको कमी महसुस गर्नेछन् ।

नियात्रामा लेखक पाठकलाई आफूसँगसँगै यात्रामा हिँडाउन त सफल छन्, तर यात्राको सुखद तथा दुखद र रोमाञ्चकताको अनुभूति गराउन भने त्यति सक्षम हुन सकेका छैनन् । किनभने यात्राको विवरण धेरै छ र अनुभूतिको कलात्मक मीठास थोरै । पाठकको मनमा कौतुहल जगाउने, मुटु ढक्क फुलाउने, मुटुको धड्कन बढाउने, उल्लसित बनाउने, प्रफूल्ल बनाउने, सोचमग्न बनाउने, तृष्णा जगाउने अथवा सन्तुष्टिको श्वास अथवा निश्वास छोड्नुपर्ने स्थितिको सिर्जना गर्न चुकेका छन् लेखक । आहा, वाउ, हरे जस्ता खुसी, विषाद वा विष्मयको प्रतिक्रिया जगाउने पक्षको कमी टड्कारो देखिन्छ । सपाट वर्णन मात्रैले गर्दा पठनको मीठास र आनन्दमा बाधा पुगेको महसुस हुन्छ । नाटकीय प्रस्तुति वा त्यस्तै प्रसङ्गहरूको कमीले गर्दा पठनमा नीरसता महसुस हुन्छ । तर हरेक नियात्रामा सम्बन्धित आकर्षक तस्बिर समावेश गरिएकाले पुस्तकबाटै दृश्यावलोकनको आनन्द भने भरपुर प्राप्त गर्न सकिन्छ । आकर्षक तस्बिरहरूले नियात्रामा सौन्दर्य थपेको छ ।

नियात्राकारले आफू पुगेको र आफूले टेकेको ठाउँको भौगोलिक, सामाजिक तथा आर्थिक जानकारी दिने प्रयास त गरेका छन्, तर त्यो अति नै थोरैजस्तो लाग्छ । बरु स्थानीय जनताले भोग्नुपरेका अभाव र समस्याको उठान भने ठाउँठाउँमा गरिएको पाइन्छ । ‘पहाडैपहाड पूर्व–पश्चिम’ शीर्षकको नियात्राको ‘धादिङ तर्फ’ उपशीर्षकअन्तर्गत पृष्ठ २० मा नियात्राकारले लेखेका छन्, ‘राजधानी नजिकका नुवाकोट, धादिङमा पनि विकासका काम गर्न धेरै नै बाँकी रहेछ ।’ हो, विकासको काम गर्न देशैभर धेरै बाँकी छन् । तर जनप्रतिनिधि र सरकारलाई राजनीति गर्न र पद जोगाउनमै फुर्सद छैन । त्यसैले विकासकाले कम प्राथमिकता पाएको सत्य हो । त्यस्तै पृष्ठ ३०–३१ मा रुकुमकोटका महिलाहरूले चार घण्टाको बाटो बोकेर सुन्तला बजारसम्म ल्याएको प्रसङ्ग छ ।

यसलाई नेपालको कृषि पूर्वाधार विकास र कृषिको उत्थान नहुनुको प्रमाणको रूपमा लिन सकिन्छ । यसैगरी पृष्ठ ६८ मा लेखेका छन्, ‘ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रमा जनशक्ति, प्रविधि र औषधि पु¥याउन सरकारको ध्यान कहिले पुग्ने हो खै ?’ यो एउटा गम्भीर प्रश्न हो । ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रमा जनशक्ति, प्रविधि र औषधिको अभावमा जनताले अकालमा ज्यान गुमाउनुपर्ने समस्या अहिले पनि ज्युँकात्युँ छ । नियात्रामा यस्तै सामाजिक र आर्थिक समस्याका पाटाहरू ठाउँठाउँमा सन्दर्भवश आएका छन् । यसले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको अनुमान गर्न सकिन्छ ।

सङ्ग्रहको पहिलो र मुख्य नियात्रा हो ‘पहाडैपहाड पूर्व–पश्चिम’ । यसमा देशको आर्थिक, सामाजिक, राजनीतिक र ऐतिहासिक विषयमा धेरै कुरा चिन्न, बुझ्न र पाठकका लागि पस्किन सकिन्थ्यो । तर नियात्रामा त्यसो हुन सकेको छैन । यात्रा विवरणले मात्रै प्राथमिकता पाएको छ । भौगोलिक जानकारीसँगसँगै तत्तत् स्थानका मानिसका जीवनशैली, धर्म र संस्कृतिका बारेमा जानकारी लिएर पाठकलाई दिने कुरामा लेखक चुकेका छन् । यात्राको लागि मात्र यात्रा भएको छ । उद्देश्यमूलक यात्रा हुन सकेको छैन । जे भए पनि यो कठिन यात्रा आँट र साहसको प्रतिफल बन्न पुगेको छ ।

पूर्वको चिवाभन्ज्याङबाट सुरु भएको यात्रा १६औं दिनमा बैतडीको झुलाघाटमा पुगेर टुङ्गिएको छ । पहाडका गाउँगाउँ दुःखका पहाड बोक्दै अघि बढेको यात्रामा धेरै अनुभव बटुलिए पनि ती अनुभवहरू नियात्रामा पूर्णरूपमा आउन सकेका छैनन् ।

सङ्ग्रहको शीर्षकनियात्रा हो ‘कञ्चनजङ्घाको काखबाट’ । नेपालको दोस्रो र विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको बेस क्याम्पसम्मको यात्राको विवरण यो नियात्रामा छ । यो नियात्रामा यात्रा गरेको सडक, त्यस वरपरका गाउँवस्ती, स्थानीय जीवनशैली, कृषि, पशुपालन, भौगोलिक विशेषता, प्राकृतिक सुन्दरता, पर्यटन पूर्वाधार, यात्राको कठिनता, सुधारका पक्ष आदिका बारेमा वर्णन गरिएका छन् ।

‘सदरमुकाम तथा झापाबाट भरिएर आएका गाडीले छोटो दुरीका स्थानीय यात्रुलाई कमै चढाउँथे ।’ (पृष्ठ ४८) यो वाक्यांशले देशभरिका राजमार्गका छोटो दुरीका यात्रुले भोग्नुपरेको समस्यालाई प्रतिबिम्बित गरेको छ । लामो दुरीमा चल्ने यात्रुवाहक गाडीले छोटो दुरीका यात्रुलाई नचढाउने समस्या धेरै ठाउँमा छ । यसले गर्दा स्थानीय यात्रुलाई ती राजमार्गमा चल्ने गाडीहरू ‘बत्तीमुनिको अँध्यारो’ जस्तो भएका छन् ।

‘फक्ताङलुङ यात्रा’ मा पर्यटकीय स्थल धुन्साको पयाप्त वर्णन गरिएको छ । धुन्सामा २०६३ साल असोज ७ गतेको हेलिकप्टर दुर्घटनामा २४ जना संरक्षणकर्मीको मृत्यु भएको दुःखद प्रसङ्ग उल्लेख गरिएको छ । फक्ताङलुङको फेदीमा पूर्वाधारको अभाव रहेको तथ्यलाई पनि औंल्याइएको छ । यो पक्षलाई हेर्दा नियात्राकारले पत्रकारको भूमिका निर्वाह गरेको देखिन्छ । त्यसैले धेरैजसो नियात्रा एउटा नियात्राकारको नभई पत्रकारको यात्रा विवरण जस्ता लाग्छन् । नियात्राकार पुगेको र साक्षात्कार गरेको ठाउँको भौगोलिक दूरी, हिमालको उचाई, स्थानीय हावापानी र मौसम, कृषि, पर्यटन, स्थानीय जीवनशैली, धार्मिक र ऐतिहासिक विषयमा यथेष्ट जानकारी पाउन सकिन्छ । पूर्वाधार, स्वास्थ्य र शिक्षाको आवश्यकतामा सरकारको ध्यानाकर्षण पनि गराएको पाइन्छ । यहाँ पनि पत्रकारकै भूमिका निर्वाह गरेको देखिन्छ ।

यो नियात्रासङ्ग्रहका नियात्राहरू एउटा नियात्राकारले गरेको यात्रा नभई एउटा पत्रकारले गरेको यात्राजस्तै बनेको महसुस हुन्छ । यात्रालाई नियात्राकारको आँखाले हेर्ने र नियात्राकारकै मनले बुझ्नेभन्दा एउटा पत्रकारको आँखाले हेर्ने र पत्रकारकै मनले बुझ्ने काम भएको छ । त्यसो हुँदा नियात्रामा सन्दर्भअनुसारका सूचना र समस्याका कुरा हुँदाहुँदै पनि तिनमा विचार, कल्पना, भावना र अनुभूतिको सम्प्रेषण न्यून हुँदा समाचारजस्तै बन्न पुगेका छन् धेरैजसो नियात्रा । विभिन्न हिमाल र भन्ज्याङहरूको बारेमा तिथिमितिसहितको जानकारीले पाठकको सामान्य ज्ञानको दायरा भने अवश्य बढाउने छ । यो नियात्रा सङ्ग्रहले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनमा विश्वस्त हुन सकिन्छ ।

‘झोला बोकेर ठमठम हिँड्नुको मज्जा छुट्टै ।’ (पृष्ठ ६०) यस्तो मज्जा नियात्राकारले लिएका छन् । तर त्यो मज्जा पाठकलाई बाँड्नमा लेखकले अलि कन्जुस्याइँ गरेझैं लाग्छ । पाठकको मनमा उत्सुकता जगाउने भावना, विचार र अनुभूतिको सम्प्रेषणको कमीले पाठकले यात्रामा ठमठम हिँडेको आनन्द महसुस गर्न सक्दैनन् ।

‘आहा ! तिम्बू पोखरी ! घामको चुम्बन तिम्बूको पानीमा पर्दा आगन्तुकले चढाएका पैसा पोखरीको फेदमा टलक्क टल्किए । त्यही उज्यालोमा झल्किँदै थियो दर्शनार्थीका सपना ।’ (पृष्ठ ८०) यस्तै रोचक प्रस्तुतिले पठनमा रुचि बढाउने हो र पठनको आनन्द दिने हो । तर यस्तो प्रस्तुति धेरै ठाउँमा आउन नसक्दा अभाव खट्किन्छ यो नियात्रासङ्ग्रहमा ।

यथास्थानमा दिइएका आकर्षक तस्बिरहरूले गर्दा यो नियात्रासङ्ग्रह पढ्नभन्दा हेर्न मजाको लाग्छ । इन्द्रबहादुर आङबो ‘मौसम’ प्रकाशक र ज्ञानज्योति बुक्स पब्लिकेसन प्रालि वितरक रहेको यो पुस्तकको मूल्य रु. ५९५÷– रहेको छ ।
)

प्रतिक्रिया