आयआर्जनसँग जोडिँदै हनिमुन लेक

गण्डकी । सात तालको बगैँचा सहरका रूपमा परिचित लेखनाथको दिपाङ ताल मधुमास ताल(हनिमुन लेक)का रूपमा चर्चित छ । विभिन्न प्रजातिका पाहुना चरा जोडी मिलेर समय समयमा घुम्न आउने भएका कारण यस ताललाई हनिमुन लेक भन्ने गरिएको यहाँका बासिन्दा बताउँछन् । यो ताल पछिल्ला वर्षमा प्रेमी जोडीको गन्तव्यका रूपमा पनि विकास भएको छ । नवविवाहित जोडीलाई यस तालले लोभ्याउने गरेको छ । सन् २०१६ मा विश्व रामसार सूचीमा सूचीकृत यो ताल प्राकृतिक सौन्दर्य र दृश्यावलोकनका दृष्टिले आकर्षक छ । पर्यटकको आगमनलाई लक्ष्य गरी तालको किनारामा घुम्न चार किलोमिटर लामोे पदमार्ग बनाइएको दिपाङ ताल संरक्षण समितिका अध्यक्ष रामजी लामिछानेले बताए ।


आव ०६८÷६९ मा निर्मित उक्त पदमार्गका लागि पटक–पटक गरी करिब ६० लाख रूपैयाँ लगानी भएको उनले सुनाए । वरपर घुम्ने पदमार्ग भएका कारण साँझ बिहान एवं बिदाका समयमा यहाँ उल्लेख्य संख्यामा पर्यटक आउन थालेपछि ताल वरपर विभिन्न होटेल तथा रेष्टुरेन्ट बन्ने क्रम पनि बढ्दै गएको स्थानीय बताउँछन् ।

तालमा प्रायः बिदाका दिन पर्यटक आउने गरेको एचटुओ रेस्टुरेन्ट एन्ड बारका कमल गुरुङले सुनाए । ‘प्राकृतिक दृश्यावलोकनसँगै माछाका परिकारको स्वादका लागि ठाउँ ठाउँबाट पर्यटक आउने गरेका छन्,’ उनले भने, ‘शान्त एवं सुन्दर स्थानमा रहेका कारण यसले पर्यटकलाई आकर्षित गर्ने गरेको हो ।’

उक्त ताललाई स्थानीयको आयआर्जनसँग जोड्ने उद्देश्यले दिपाङ मत्स्य सहकारी सञ्चालनमा ल्याइएको छ । उक्त सहकारीले तालको संरक्षणसँगै यहाँबाट आम्दानी गर्ने लक्ष्य लिएको कार्यबाहक अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए । तालको जलाधार क्षेत्र पोखरा महानगरपालिका वडा–२७, २८ र ३० का बासिन्दालाई समेटेर सहकारी सञ्चालनमा ल्याइएको र हाल ५ सय ४६ जना सेयर सदस्य रहेको उनले सुनाए । यस तालले कुल ६ सय ६८ रोपनी ७ आना ३ पैसा ३ दाम क्षेत्रफल ओगटेको छ र त्यसमा लगभग ३ सय ३८ रोपनी ८ आना क्षेत्रफल पानीको भाग रहेको छ । लेखनाथको चौथो ठूलो तालको रूपमा रहेको यसको पूर्वमा रूपा, बेगनास र मैदी ताल तथा उत्तर पश्चिममा गुँदे, न्युरेनी र खाष्टे ताल छन् ।

ताल पर्यावरणीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । यहाँ २२ प्रजातिका चरा, १६ प्रजातिका माछा, आठ प्रजातिका अन्य घस्रने प्राणी, छ प्रजातिका कमलको फूलका साथै नाभो, गुँदजस्ता वनस्पति पनि पाइन्छ । पोखराका अन्य तालमा भन्दा यहाँ मानवीय एवम् प्राकृतिक अतिक्रमण कम भएकै कारण यसलाई कुमारी(भर्जिन) तालका रूपमा समेत लिने गरिएको छ ।

तालको सौन्दर्य जोगाउँदै संरक्षण एवं आयआर्जन बढाउनका लागि सहकारीले माछापालनलाई व्यवस्थित गराउँदै लगेको सहकारीका कार्यवाहक अध्यक्ष रानाभाटले जानकारी दिए । माछा उत्पादनका लागि अघिल्लो वर्ष १० लाख रूपैयाँका भुरा छाडिएको र प्रत्येक हप्ता दुईपटक माछा निकाल्ने गरिएको छ ।

एकपटकमा १५ देखि ७५ किलोग्रामसम्म माछा निकाल्ने र बिक्रीबाट भएको आम्दानी सहकारी कोषको बचतमा राख्ने गरिएको उनले जानकारी दिए । माछा बिक्रीबाट अघिल्लो वर्ष सहकारीले १० लाख आम्दानी गरेकाकामा यस वर्ष करिव ११ लाख आम्दानी भएको छ ।

‘तालमा २५ लाखदेखि ३० लाख रुपैयाँसम्मको भुरा राख्न सकेमा तालको पर्यावरणीय संरक्षणसँगै माछाको उत्पादन बढाउन सकिन्छ,’ अध्यक्ष रानाभाटले भने, ‘तालमा लगभग एक करोड रूपैयाँ बराबरका माछाका भुरा छोड्न सकिने अवस्था छ ।’

भूगोलका दृष्टिले पनि यो ताल पोखराका अन्य तालभन्दा सुरक्षित मानिन्छ । वरिपरि वस्ती नहुनु र चारैतिर सामुदायिक वनले घेरिनु यहाँको विशिष्टता हो । कतैबाट पनि अतिक्रमित नभएका कारण यसलाई कुमारी ताल भन्ने गरिएको छ ।

दिपाङ ताल संरक्षण समितिको सक्रियता र राष्ट्रिय ताल संरक्षण विकास समितिको सहयोगमा आर्थिक वर्ष ०६६÷६७ मा २९ लाख रूपैयाँको लागतमा तालको बाँध निर्माण गरिएको थियो । राष्ट्रिय ताल विकास तथा संरक्षण बोर्डको सहयोगमा ताल सरसफाइ, वृक्षरोपण, उद्यान तथा वनभोज स्थल आदि निर्माण गरिएको छ ।

दृश्यावलोकनका लागि प्रेमी प्रेमीकाको आकर्षण बन्दै गएको योे ताललाई नवविवाहित जोडीलाई पनि आकर्षण गर्ने किसिमले नै ‘हनिमुन लेक’ का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य छ । पर्यटकको सुविधालाई लक्ष्य गरी विस्तारै होटल तथा रेस्टुराँ, विश्राम स्थलजस्ता पूर्वाधार निर्माणलाई अघि बढाउने सोच राखिएको छ ।
ताल वरपर बाँधसहित पाँच किलोमिटर लामो पदमार्गले ताल अतिक्रमणको समस्या दीर्घकालीन रूपमा समाधान गर्नाका साथै यसले तालको दृश्यावलोकनलाई टेवा पु¥याएको छ । वरिपरि पन्थको डाँडा सामुदायिक वन, सहेलो पाखा सामुदायिक वन, पाखरे सामुदायिक वन, भालटारी भित्तेरी सामुदायिक वन र केही खेत छन् । वरिपरिका सामुदायिक वनका कारण पनि यो अन्य तालभन्दा सुरक्षित बनेको छ ।

ताल अवलोकन गर्न आउने पर्यटकलाई लक्ष्य गरी तालसँगै जोडिएको पन्थको डाँडा सामुदायिक वन क्षेत्रमा निर्मित वनभोज स्थलमा यतिखेर पोखरा आसपासबाट विभिन्न समूह समय समयमा वनभोजका लागि पुग्ने गरेका छन् । तालको किनारामा रहेको बनभोजस्थल भौगोलिकरूपमा पनि उपयुक्त रहेको बरिष्ठ पर्यटन व्यवसायी बोबरजंग गुरुङले बताए ।

प्रतिक्रिया