नेतामाथि प्रश्न गर्नै नमिल्ने पद्धति हो र हामीले खोजेको ?

नारायण गाउँले

प्रायः हामीलाई आफू र आफ्ना बाहेकका विषयमा जे खबर लेखिन्छ त्यो खबरदारी लाग्छ तर आफूविरुद्ध त्यही खबर खेदो लाग्छ । यो रविको हकमा मात्र होइन, सबैको हकमा यस्तै हुन्छ । हिजो रविले ओलीको खेदो खनेको जस्तो लाग्थ्यो धेरैलाई । ओलीले त्यो एउटा बच्चो पत्रकारले मेरो विषयमा यस्तो आधारहीन बोल्यो भनेर रोष नै प्रकट गरेका थिए । हिजो रविले गोकुलदेखि विष्णु पौडेल र देउबादेखि प्रचण्डसम्मका विसंगतिबारे निरन्तर बोलिरहँदा धेरैलाई खेदो खनेको जस्तो लागेको हुनुपर्छ । उनले त निर्मलाका हत्यारालाई सरकारले नियतवश लुकाएको सम्म भन्न भ्याएका थिए ।

विगत पाँच वर्षको राजनीति भ्रष्टाचारले मात्रै गिजोलिएको थिएन, नितान्त गालीगलौज, निम्न स्तरका व्यंग्य, संसद्मै व्यक्तिगत खेदो र कुण्ठित भाषण अनि एकले अर्कोलाई खुइल्याउने होडले रंगिएको थियो । दलको विकल्प त भेटिएला, संस्कारको विकल्प भेट्न गाह्रो हुने देखियो । संसद्देखि सडकसम्मका आजका भाषण र पत्रिकादेखि सामाजिक सञ्जालसम्मका सामग्री हेर्नुभयो भने त्यही घृणा, लाञ्छना, आरोप–प्रत्यारोप र निषेध देख्न सकिन्छ ।

देशमा कुनै पनि अंगले ढंगसँग काम गरेको छैन भने पत्रकारिता के अछुतो रहन्थ्यो र ? रविको रोषमा कुनै दोष नहोला तर उनको लडाइँ देशको सिस्टमसँग, राजनीतिसँग र कुशासनसँग हो भन्ने विश्वास थियो । उनी त अघिल्ला नेताहरूभन्दा बढी वैयक्तिक आरोप र गालीमा निस्किए । होला, मिडियाले आमनागरिकलाई दिनु दुःख दिएको होला । तिनले राजनीतिक नेतृत्वको गुलामीदेखि दलालीसम्मका धन्दा चलाएका होलान् । तर यत्रो वर्ष पत्रकारिता र सामाजिक खबरदारीको काम गर्दा उनले कहिल्यै औँला नउठाएको र आज आफूविरुद्ध समाचार लेख्नेबित्तिकै यत्रो ‘सप्रमाण’ रोष व्यक्त गरेको किन होला ? आफूलाई नपर्दासम्म अरूमाथि हुने अन्यायमा चुप बस्ने प्रवृत्ति त असल होइन ।

मिडियाका हजार गल्ती होलान् तर मिडिया हुँदैनथ्यो भने हाम्रो सिस्टम अझ बढी भ्रष्ट हुन्थ्यो, हाम्रा नेता अझ निरंकुश र व्यभिचारी हुन्थे अनि हामीले बालेन या रवि लामिछानेहरूलाई नेतृत्वमा देख्ने थिएनौँ । यत्ति त रविले पनि बुझेकै हुनुपर्छ । स्वयं बालेन र रविले चुनाब नजित्दै मिडियाले नै शानदार विजय हुने सुनिश्चित भएको समाचार छापेको पढिएकै थियो ।

रविले उदाहरण दिने गरेका देशहरूमा मन्त्रीले सरकारी खर्चमा खाजा खाएकोमा प्रश्न उठ्ने गर्छ । एउटा सार्वजनिक व्यक्तिको नागरिकता जस्तो विषयमा मिडियाहरूले लेख्नुलाई अन्यथा मान्न हुँदैनथ्यो । अलि बढी नै लेखेको अनुभव हामी धेरैलाई भएको थियो तर विश्वभरका मिडिया यस्तै हुन्छन् । अमेरिकामै पनि समर्थकले राष्ट्रपति भवनमा गरेको हिंसात्मक प्रदर्शनलाई लिएर मिडियाले डोनाल्ड ट्रम्पलाई अपराधी नै बनाई छाडेको उदाहरण पढ्नुभएको होला । लकडाउनमा प्रधानमन्त्रीको जन्मदिनका दिन जुस पिएको आरोपमा मिडियाले यति खेदे कि तत्कालीन अर्थमन्त्री ऋषि सुनकले जरिवाना नै तिर्नुप¥यो । अन्ततः प्रधानमन्त्री जोन्सनको पद त्यही स्क्यान्डलले गयो । राजा ज्ञानेन्द्रलाई मिडियाले हत्यारा बनाइदिए । प्रचण्ड, ओली र देउबाविरुद्ध मिडियाले यति धेरै लेखेका छन्, त्यसको हिसाब गाह्रो छ ।

प्रायः हामीलाई आफू र आफ्ना बाहेकका विषयमा जे खबर लेखिन्छ त्यो खबरदारी लाग्छ तर आफूविरुद्ध त्यही खबर खेदो लाग्छ । यो रविको हकमा मात्र होइन, सबैको हकमा यस्तै हुन्छ । हिजो रविले ओलीको खेदो खनेको जस्तो लाग्थ्यो धेरैलाई । ओलीले त्यो एउटा बच्चो पत्रकारले मेरो विषयमा यस्तो आधारहीन बोल्यो भनेर रोष नै प्रकट गरेका थिए । हिजो रविले गोकुलदेखि विष्णु पौडेल र देउबादेखि प्रचण्डसम्मका विसंगतिबारे निरन्तर बोलिरहँदा धेरैलाई खेदो खनेको जस्तो लागेको हुनुपर्छ । उनले त निर्मलाका हत्यारालाई सरकारले नियतवश लुकाएको सम्म भन्न भ्याएका थिए ।
पत्रकारिता सुध्रिनुपर्छ । त्यो सुधारका लागि प्रश्न उठाउने हक हामीलाई जत्तिकै रवि लामिछानेलाई पनि छ । तर, लामिछाने संसद्मा छन् । नियमकानुन बनाउने ठाउँमा पुगेका छन् । सरकार पनि उनकै रुचि र समर्थनको छ । यस्तोमा उनको दायित्व पत्रकारितालाई मर्यादित बनाउन आवश्यक नीतिगत सुधार गर्नेतिर बढी हुनुपर्ने हो । भाउजूहरू मकहाँ आउनुस्, म ह्वाट्सएपमा तपाईंका बुढाहरूको म्यासेज देखाउँछु, ती पनि कति चरित्रहीन छन् भन्ने स्तरको अभिव्यक्ति एउटा राष्ट्रिय स्तरको नेताले दिनु कत्ति शोभनीय छैन । अझ आफ्नाविरुद्ध पत्रिकादेखि ट्विटरसम्म लेख्नेहरूको सूची बनाएर व्यक्तिगत गालीगलौजमा उत्रिनुले उनमा परिपक्वताको अभाव भएको जस्तो देखिन्छ । अझ आवेगमा विदेशी प्रधानमन्त्रीहरूलाई सम्बोधन गरेर उनले बोलेको कुराले उनमा कूटनीतिक सेन्ससमेत विकास नभएको देखाउँछ । हेर्नुस् त आज आमजनजीवनसँग जोडि़एका कति विशाल प्रश्नहरू छन् ! मान्छे आत्मदाह गर्न विवश छन् । तर हाम्रो देशको सिंगो ध्यान अन्तै मोडिएको छ ।

जसले जति खेदो खने पनि रवि लामिछानेलाई जनताले अभूतपूर्व मत र विश्वास दिएर जिताएका हुन् । त्यो विश्वास कायम छ भन्ने देखिन्छ । जनमतलाई तेस्रो व्यक्तिले ठेक्का लिने कुरो त भएन तर यत्ति चाहिँ आत्मविश्वासका साथ भन्न सकिन्छ, आज रवि देशको जुनसुकै ठाउँबाट उठे पनि र जोकसै विरुद्ध उठे पनि जित्न सक्छन् । यो निकै ठूलो सम्पत्ति र जिम्मेदारी हो रविका लागि । व्यक्तिगत इगोका लागि उनले यो जिम्मेदारी भूल्न मिल्दैन । अदालतमाथि रोष पोख्न नमिलेका कारण उनले मिडियामाथि रोष पोखेको देखिन्छ । यो अपार शक्ति बदलामा कसैलाई खुइल्याउन होइन, एउटा बलियो दल र शक्ति बनाएर बेथितिविरुद्ध लड्नका लागि लगाउन सकियोस् भन्ने चाहना हो ।

उनी सरकारमा किन गएका थिए र किन फिर्ता भए ? केही दिनको अल्टिमेटम के थियो र के भयो ? अदालतको फैसला र पासपोर्टसम्बन्धी सम्भावित मुद्दाका कारण प्रधानमन्त्रीले उनलाई मन्त्रालय फर्काउन नचाहेको भन्ने बुझियो । पार्टी प्रमुख नै सरकारमा सहभागी हुने हुँदा उपप्रधानमन्त्री पद चहिएको उनको व्याख्या थियो । गृहमन्त्रालय जस्तो उच्च पोर्टफोलियो पनि उस्तै होला । पार्टी प्रमुखका रूपमा उनलाई दिइएको उक्त मन्त्रालय अरूलाई दिन आनाकानी गरिएको होला । तर उनीबाहेक अरू मन्त्रीहरू समेत फिर्ता हुनुपर्ने कारण के हो ? यत्ति मिडिया र ट्विटर मात्रै त कारण नहोला । यदि उनलाई धोका भएको हो भने समर्थन जारी नरहनुपर्ने हो । उनको समर्थन कायम छ भन्ने बुझियो । यसको अर्थ उनको लडाइँ सरकारसँग होइन । के देशका मुख्य समस्या कुनै पनि राजनीतिक दल होइनन् ? मिडिया मात्रै हुन् ? रामहरि खतिवडा र रवीन्द्र मिश्र देशका मुख्य समस्या हुन् ? ओली देउबा र प्रचण्ड सही हुन् ? अब जनताले गर्नुपर्ने के हो त ? प्रश्न सोध्ने बित्तिकै विरोधी र शत्रु भइने अनि लिस्टमा चढिने यो माहोलमा त्यो रिस्क लिएरै सोध्नुपर्ने हुन्छ, के नेतामाथि प्रश्न गर्नै नमिल्ने पद्धति हो र हामीले खोजेको ?

अझै पनि रविमाथिको आश भनेको साह्रै नै गन्हाएको सिस्टम र राजनीतिले गर्दा हो । ध्यान त्यताबाट मोडेर मिडियातिर लगियो भने झन् केही हासिल हुँदैन । धेरै बिग्रिएको केही थिएन । बाँकी सदस्य सरकारमै रहेर रविले उपचुनावसम्म पार्टी निर्माणमा ध्यान दिएको भए र शानदार कमब्याक गरेको भए सबै पूर्ववत हुन्थ्यो । यो उत्तेजनाको राजनीति किन हो भन्ने बुझिएन । उहाँका नजिकका र साँच्चिकै शुभचिन्तकले उहाँको दौड चार सय मिटरको नभई म्याराथनको हो भन्ने बुझाइदिन सक्नुहुन्थ्यो कि ? (फेसबुकबाट)

प्रतिक्रिया