परराष्ट्रमन्त्री पौड्याल र युएसएआइडीकी प्रशासक पावरबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) का प्रशासक सामन्था पावरले भेटवार्ता गरेकी छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र संयुक्त राज्य अमेरिकाबीचको अभिरुचिका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटवार्तामा अमेरिकी सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री पौड्यालले अमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेकी थिइन् भने प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि गरिने प्रतिबद्धता जाहेर गरिन् ।

दुई दिने नेपाल भ्रमणमा आज आएकी प्रशासक पावरले युएसएआइडीकी १९औँ प्रशासकका रूपमा सन् २०२१ को मे ३ तारिखमा पदभार ग्रहण गरेकी हुन् । उनले विश्वका अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आएकी छन् ।

उनी सन् २०१३ देखि २०१७ सम्म संयुक्त राष्ट्र संघका लागि २८औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवारत थिइन् । प्रशासक पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत थिइन् ।

प्रतिक्रिया