अमेरिकाले विशाल चिनियाँ बेलुन खसाल्यो

वासिंगटन । अमेरिकाले आफ्नो भूभागमाथि उडिरहेको एउटा विशाल चिनियाँ बेलुनलाई क्षेप्यास्त्र हानेर खसालेको छ । अमेरिकाले त्यो बेलुनले मुलुकभरकै प्रमुख सैनिकस्थलहरुमा जासुसी गरिरहेको आरोप लगाएको छ । अमेरिकाको रक्षा विभागले आफ्नो लडाकु विमानले सो बेलुनलाई अमेरिकी भूमिको जलीय क्षेत्रमा खसालेको पुष्टि गरेको छ । यसैगरी चीनको विदेश मन्त्रालयले मानवरहित गैरसैनिक विमानलाई आक्रमण गर्न अमेरिकाले फौज प्रयोग गरेकोमा कडा असन्तुष्टि र विरोध जनाएको छ ।

अमेरिकी टेलिभिजन फुटेजहरुले एउटा सानो विस्फोटनपछि बेलुन सागरमा खस्दै गरेको दृश्य देखाएका छन् । एफ–२२ लडाकु विमानले उचाइमा रहेको बेलुनलाई खासाल्न एआईएम–९ एक्स सायडवाइन्डर क्षेप्यास्त्र प्रहार गरेको थियो ।
रक्षा अधिकारीहरुले अमेरिकी सञ्चारमाध्यमलाई भग्नावशेष साउथ क्यारोलिनाको माइटल समुद्री तट नजिकको पानीको ४७ मिटर गहिराइमा खसेको बताएका बीबीसीले लेखेको छ ।

अहिले अमेरिकी सेनाले ११ किलोमिटरसम्म फैलिएको बेलुनको भग्नावशेष निकाल्ने प्रयास गरिरहेको छ । यसकार्यका लागि दुईवटा युद्धपोत खटिएका छन् । एउटा युद्धपोतमा हेभी क्रेन पनि रहेको छ ।

अमेरिकी रक्षा विभाग अर्थात पेन्टागनले जारी गरेको एउटा विज्ञप्तिमा एकजना वरिष्ठ अमरिकी रक्षा अधिकारीले भनेका छन्, ‘हामीले सुपरीवेक्षण बेलुनले गरेको संवेदनशील सूचना संकलन कार्यविरुद्ध सम्पूर्ण आवश्यक कदम चालेका छौँ । अमेरिकी भूभागमाथि बेलुन उड्नु हाम्रो लागि गुप्तचरी महत्वको कुरा हो । हामीले बेलुन र यसका उपकरणहरुको अध्ययन र छानबिन गर्न सक्नु नै बहुमूल्य कुरो हो ।’

रक्षा अधिकारीहरुले पहिलोपटक अर्थात बिहीबार आफूहरुले पछ्याइरहेको जानकारी दिएदेखि नै अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि यसलाई खसाल्नु पर्ने दबाब परेको थियो । यस बेलुनकाण्डको कारण चीन र अमेरिकाबीचको कुटनीतिक सम्बन्ध पनि प्रभावित भएको छ । यही ‘गैरजिम्मेवारीपूर्ण कार्य’लाई नै कारण देखाउँदै यसै साता हुने भनिएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमण तत्कालै रद्द भएको छ । चीन सरकारले यो जासुसी विमान नभएको बरु मौसम अध्ययन गर्ने विमान भएको जनाउँदै आएको छ ।

प्रतिक्रिया