टिका पुन सांगीतिक साँझ, प्रज्ञा प्रतिष्ठानको हलमा दर्शकहरुको भरिभराउ

काठमाडौं । लोक तथा दोहोरी गायिका टिका पुनको सांगीतिक साँझ सम्पन्न भएको छ । गायिका पुनको सांगीतिक साँझ शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भएको हो ।

कार्यक्रममा दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काको अध्यक्षता रहेको थियो भने उपराष्ट्रपती नन्द पुन (पासाङ) को प्रमुख आतिथ्यता रहेको थियो ।

सांगीतिक साँझमा वरिष्ठ गायक नारायण रायमाझी, वरिष्ठ गायक प्रेमराजा महत, नन्दकृष्ण जोशी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, लोक गायिका शर्मीला गुरुङ, गायिका शिला आलेलगायत थुप्रै कलाकारहरुको ठूलो संख्यामा सहभागीता रहेको थियो ।

कार्यक्रममा हल भरिभराउ भएर हलभित्र छिर्न नपाएर कतिपय दर्शकहरु घर फर्किएका पनि थिए । कार्यक्रममा गायिका टिका पुनसँगै गायक नारायाण रायमाझी, खड्ग गर्बुजा, बिबि अनुरागी, मिलन लामा, राजु परियार, रामजी खाँण, किरणबाबु पुनलगायत कलाकारहरुको प्रस्तुती रहेको थियो ।

साथै, सहयोगी कलाकारहरुको रुपमा स्मृती शाही, करिश्मा घर्ती मगर, शिव संगीत, धनराज चुनारा, खगेन्द्र बिक, सन्तु थापा, करिश्मा बिसी, प्रकाश रसाईली भावुक, करुणा गन्धर्वलगायत रहेका थिए ।

गायिका पुनले आफ्नो सांगीतिक साँझले सोचेभन्दा पनि धेरै सफलता पाएको बताइन् । साथै, उनले दर्शकको भरिभराउले खुसी भएको सुनाउँदै कतिपय हलभित्र नअटेर घर फर्किन परेकोमा दुःख व्यक्त गरिन् ।

उनले भनिन्, ‘यस्तो भब्य रुपले सम्पन्न होला भन्ने त मैले सोचेको पनि थिइन, सबैले साथ दिएर यो कार्यक्रम सफल भएको हो, धेरैले आर्थिक नैतिक भौतिकरुपमा सहयोग गरिदिनुभयो, तर कतिपय दर्शक मेरो कार्यक्रम भनेर हेर्न–रमाइलो गर्न आउनुभयो र हलमा फर्किन परेकोमा दुःख लागेको छ ।’

‘टिका पुन सांगीतिक साँझ’ दर्पण संगीतालयले आयोजना गरेको थियो भने सत्यवती कला केन्द्रले सहकार्य गरेको हो ।

प्रतिक्रिया