काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला हतारोमा निर्णय गरेको बताएका छन् । क्यानले बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा राखेपछि गगनले सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गरेका हुन् ।
‘मेरो धारणा स्पष्ट छ- बलात्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न,’ उनले लेखेका छन् ।
थापाले एक साताअघि क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको समेत बताएका छन्।
उनले अघि लेखेका छन्, ‘पुनः दोहोर्याउन चाहन्छु- बलात्कारजस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ,तत्काल फिर्ता लिनुपर्छ ।’ यसअघि कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि क्यानको निर्णयमा प्रश्न उठाएका थिए ।
लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा राखेपछि अहिले तीव्र आलोचना भएको छ । जघन्य अपराधको अभियोग लागेका सन्दीपलाई राष्ट्रिय टिममा राख्न नहुने भन्दै आलोचना भएको हो ।
प्रतिक्रिया