अष्ट्रेलियाले नोटमा अब बेलायती राजाको फोटो नराख्ने

सिड्नी । अष्ट्रेलियाको केन्द्रीय बैंकले अब नोटमा बेलायती राजारानीको फोटो नराख्ने भएको छ । बिहीबार बैंकले सो जानकारी दिएको हो । बैंकले महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि ५ डलरको नोटबाट उनको तस्बिर हटाएर राजा चाल्र्सको तस्बिर राखेको थियो । तर, अब यस्तो हुने छैन ।

वास्तवमा अष्ट्रेलियामा संवैधानिक राजतन्त्रको प्रणाली छ जस अन्तर्गत बेलायतका राजा वा रानी उनीहरूको संसदको प्रमुख हुन्छन् । जसका कारण त्यहाँका बैंक नोटमा उनको तस्बिर पनि छापिएको हुन्छ । अब सय वर्षपछि यो परम्परा तोडिदैछ ।

अब बैंक नोटमा राजा चाल्र्सको तस्बिरको सट्टा अस्ट्रेलियाले देशका नेताको तस्वीर छापिनेछ । यसका लागि बैंकले सुझाव समेत मागेको छ । नयाँ डिजाइनमार्फत अस्ट्रेलियाको संस्कृति र इतिहासलाई सम्मान गरिने रिजर्भ बैंकले जनाएको छ । यसका लागि केही वर्ष लाग्नेछ । सरकारसँगको वार्तापछि बैंकले यस्तो निर्णय गरेको हो ।

बैंक नोटमा राजा चाल्र्सको तस्वीर न छाप्ने निर्णयलाई त्यहाँका स्थानीय समुदायले स्वागत गरेका छन् । अष्ट्रेलियाले अब बेलायतको प्रभावबाट बाहिर निस्कनुपर्ने उनीहरूको धारणा छ । विगत ६५ हजार वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएको समुदायलाई महत्व दिनुपर्छ । जसलाई मौलिक वा देशी भनिन्छ ।
महारानी एलिजाबेथको निधनपछि अष्ट्रेलियामा फेरि एकपटक बेलायती राजालाई आफ्नो देशको संवैधानिक प्रमुख मान्ने कि नमान्ने भन्ने विषयमा बहस सुरु भएको छ । यसै सन्दर्भमा एन्थोनी अल्बानीजको सरकारलाई चुनाव गराउन दबाब पनि सिर्जना भइरहेको छ ।

तर, सन् १९९९ मा पनि जनमत संग्रह भएको थियो जसमा संवैधानिक राजतन्त्रलाई समर्थन गर्ने पक्ष निकै कम मतले विजयी भएको थियो । अलजजीराको रिपोर्टका अनुसार अहिले अवस्था फेरिएको छ । बेलायती राजतन्त्रप्रति जनताको लगाव घटेको छ ।

प्रतिक्रिया