काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल पार्टी सरकारबाट नबाहिरिने र गृह मन्त्रालयमा दाबी अझैँ दुई दिन पर्खिने निर्णय गरेको हो ।
बैठकमा सहभागी पार्टीका अधिकांश नेताहरुले सरकारबाट बाहिरिन नहुने पक्षमा धारणा राखेका थिए । ती नेताहरुले तत्काल सरकारबाट हटेको अवस्थामा जनतासामू कमजोरी र कच्चा व्यवहार देखिने भन्दै सरकारमै बसेर कुशल जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका थिए । केही नेताहरुले भने सरकारबाट बाहिरिएर जनतामा जानुपर्ने धारणा राखेका थिए ।
बैठकपछि पत्रकारसँग बोल्दै पार्टीका प्रवक्ता डा. मुकुल ढकालले गृहमन्त्रीका विषयमा निर्णय लिन प्रधानमन्त्रीलाई २ दिन समय दिने निर्णय भएको जानकारी दिए ।
ढकालका अनुसार बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेका थिए । दुवै नेताले सरकार छाड्ने निर्णय हतारमा नलिन आग्रह गर्दै २ दिन समय मागेको उनको भनाइ छ । त्यसै अनुसार वैठकले निर्णय लिएको छ ।
दुई दिनभित्र गृह नपाएको खण्डमा रास्वपाले के गर्छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘त्यसपछि फेरि वैठक बसेर उचित निर्णय लिनेछौं ।’
प्रवक्ता डा. ढकालले गृह मन्त्रालय पार्टीले कुनै हालतमा नछाड्ने बताए । साथै, आफूले पाएको मन्त्रालयमा कसलाई पठाउने भन्ने निर्णय पार्टीमै निहित रहने उनको भनाइ छ । गृहमन्त्रीमा कसलाई पठाउने भन्ने पार्टीले निर्णय लिइनसकेको उनको भनाइ छ ।
यसअघि सभापति लामिछानेले एक महिना गृह मन्त्रालयमा बसेर विभिन्न योजनाहरु बनाएकाले त्यसलाई कार्यान्वयन गर्न सो मन्त्रालय मागिएको उनको भनाइ छ । वैठकले केपी ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय संयन्त्रको वैठक बोलाउन पनि माग गरेको छ ।
प्रतिक्रिया