टुहुरा बालबालिकालाई कसले देला साथ ?

आमाबुबा दुवै गुमाएका पाँच बालबालिका बिचल्लीमा

कालिकोट । कर्णाली राजमार्गसँगैको छेउमै एउटा जीर्ण घर । घरको छतभरि सडकमा उडेको धुलो । त्यही धुलो टाँसिएको मलिन अनुहार लिएर साहारा खोज्दै बसेका टुहुरा पाँच भाइबहिनीहरू । जिल्लाको खाँडाचक्र नगरपालिका–२ को पुख्र्यौली घरमा साहाराविहीन भएका यिनीहरू सहयोगी मनहरूको खोजीमा कष्टकर जीवन बिताइरहेका छन् ।

चिसो मौसमका कारण फुटेका खुट्टासँगै अनुहार र कान छेउमा भएका घाउखटिरालाई कोट्याउँदै घरको पिँढीमा घाम तापिरहेका उनीहरूको साँझ पर्न थालेपछि अनुहारमा भएको चमक पनि हराउँदै जान्छ । प्रर्याप्त खाद्यान्न तथा लगाउने कपडासँगै ओढ्ने ओछ्याउनेको अभावले गर्दा उनीहरूको अनुहार साँझ पर्न थालेसँगै निन्याउरो हुने गरेको हो । उनीहरू भन्छन्, ‘दिनमा लाग्ने घामले रातको जाडो हराएको महसुस हुन्छ । ओढ्ने ओछ्याउनेको अभावले गर्दा हामीलाई दिनको घाम नै प्यारो लाग्ने गरेको छ ।’

सात वर्षअघि बुबा हसिंगे दमाईं र त्यसको पाँच वर्षपछि आमा जसुदा दमाईंको मृत्यु भएपछि यिनीहरू सहाराविहीन भएका हुन् । आमाबुबाको मृत्युपछि पाँच सन्तानमा जेठी छोरी मुगा दमाई १८ वर्षकी थिइन् । अहिले २१ वर्षीया आमपुर, १८ वर्षीया आरती, १७ वर्षका गज, १२ वर्षका भरिन्द्र र १३ वर्षका दिनेशको अभिभावकको रूपमा रहेकी छन् । घरको अवस्था नाजुक बनेपछि ११ वर्षको कलिलो उमेरमै आमाबुबाछँदै शुभकालिका गाउँपालिकाका काले दमाइसँग विवाह गरिकी मुगा अहिले २५ वर्षकी भइन् । उनका पनि दुई सन्तान छन् ।

मुगाले भावुक हुँदै भनिन्, ‘बुबाआमाको मृत्युपछि हामी सबै भाइबहिनीहरू पीडैपीडामा बाँचिरहेका छौँ ।’ उनले थपिन्, ‘श्रीमान्ले पनि छोडेर गएको १२ वर्ष भयो । आफ्ना दुई सन्तान (एक छोरा एक छोरी) र पाँच भाइबहिनीको हेरचाहको जिम्मेवारी मैले नै लिएको छु । त्यसमाथि दुई भाइबहिनी अपांग छन्, एक भाइ सानै छ । हाम्रो भविष्य त गयो गयो ती भाइको पढाइलेखाइको जिम्मा कसैले लिए भविष्य बन्थ्यो कि ! यी अपांग भाइबहिनी कसरी हुर्काउने समस्यामा छु ।’

आफ्नो पढ्ने चाहना हुँदाहुँदै पनि पढ्न नपाएको बताउँदै एक बहिनी आरती र सानो भाइ नजिकैको सरकारी विद्यालयमा कक्षा ६ अध्ययनरत छन् । अपांग भाइबहिनीको लालनपालन गर्न दिनहँु समस्या हुने गरेको छ । मुगाले भनिन्, ‘घरमा थोरै खेतबारी छ । हलो कोदालो गर्ने पुरुष घरमा छैनन् । अपांगहरूको भविष्य पनि यस्तै अन्धकार छ । आफू समस्यामा छु । कसैले सहयोग गरिदिनुप¥यो भन्दै हारगुहार नगरेको दिनै छैन । भाइबहिनीहरूलाई लगाउने कपडा पनि छैन । ओढ्ने, ओछ्याउने कपडा पनि उस्तै छन् । सानैमा बुबाआमा बिते अहिले छाक जुटाउन समस्या भइरहेको छ ।’

आमाबुबाको देहवसानपछि मागेर जीवन बिताइरहेका यिनीहरूको अवस्था अत्यन्तै दयनीय छ । तैपनि हरेस भने खाएका छैनन् । सहयोगी मन र हातहरूको खोजी भने गरिरहेका छन् । मुगाले भनिन्, ‘भाइबहिनीलाई मागेर पाल्छु । आमाबुबाले त छोडेर गए अब आफूले कसरी छोड्नु । एक बहिनीलाई मागेरै रास्कोटमा कृषि जेटिए अध्ययन गराउँदै छु ।’

घरमा एक बहिनी र दुई भाई अपांगको हेरचाह गर्न निकै समस्या आइलागेको छ । परिवारको यस्तो ब्रजपातले आफू विवाह गरेको घर नगएर माइती घरमा बस्दै आएको पनि नौ वर्ष भयो । यतिभन्दा मुगाको आँखामा आँसु र गहभरी भावना छरिएको प्रष्ट देखिन्थ्यो । भाइबहिनीको हेरचाह गर्न उनलाई चुनौती थपिएको छ । आफ्नै छोराछोरीको अवस्था पनि उस्तै छ । छोडेर गएका श्रीमान पनि कहाँ छन् अत्तोपतो छैन । यी विपन्न दलित परिवारका बालबालिकालाई खाँडाचक्र नगरपालिकाले पनि सहयोग गरेको छैन । सहयोगको आसमा बिहान बेलुका हारगुहार गर्दा पनि कुनै निकाय तथा स्थानीय सरकारले सहयोग नगरेको उनीहरूको भनाइ छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया