खासगरी केन्द्रीय तहका कर्मचारीहरू तालिम–तालिम भन्दै कुद्ने देखिएको छ । दक्षता र नयाँ कुरा सिक्नभन्दा भत्ता पाउने लोभले हिँड्नेहरूलाई नियन्त्रणमा ल्याउनुहोस् । गाउँपालिकामा एउटा अस्पतालभन्दा पनि स्वास्थ्यचौकीहरूको सहयोगमा गाउँघर क्लिनिकहरू डाक्टरको उपस्थिति वा सुपरिवेक्षणमा चलाउने व्यवस्था गर्नुहोस् । आवश्यकहरूलाई स्वास्थ्यकर्मी घरमा नै पुग्ने वा टेलिफोनमार्फत सेवा दिने व्यवस्था मिलाउनुहोस् ।
देशले फेरि नयाँ स्वास्थ्य तथा जनसंख्यामन्त्री र राज्यमन्त्री पाएको छ । मन्त्री र राज्यमन्त्रीले कामसमेत सुरु गरिसकेको अवस्था छ । नेपालमा छोटो समयमा धेरै स्वास्थ्यमन्त्री र राज्यमन्त्रीहरू फेरिने गरेका छन् । मन्त्री फेरिरहने तर स्वास्थ्य क्षेत्रको सुधार भने नहुने नियत भोग्दै आउनु परिररहेको अवस्था छ । हालसम्म भएका मन्त्रीले के योगदान गरे भनेर हेर्ने हो भने सबै छर्लंग हुने अवस्था छ । त्यसकारण अब आएका मन्त्री र राज्यमन्त्रीहरूले पनि केबल हाजिर गरेर कटाउने भन्दा पनि काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । नयाँ मन्त्रीहरूलाई बुँदागत सुझावहरू यसप्रकार छन् ।
तपाईं स्वास्थ्य मन्त्री हो, उपचार मन्त्री मात्र होइन । स्वास्थ्य मन्त्रालयको स्रोत सीमित भए पनि गैरसरकारी र दातृ निकायहरूले धेरै स्रोत र साधन खर्च गर्ने मन्त्रालय हो । बाहिरबाट आकर्षक नदेखिए पनि कर्तव्य र सेवाको हिसाबमा महत्वपूर्ण मन्त्रालय हो । सरकारी अस्पतालहरूको गुणस्तर र सेवा निजीको भन्दा राम्रो बनाउनुहोस् । केन्द्रीय, टिचिङ र क्षेत्रीय अस्पतालहरूको गुणस्तर, समन्वय र कार्यक्षमता विस्तार गर्ने हो भने पनि धेरै गर्न सकिन्छ । एम्बुलेन्स सेवालाई निःशुल्क र प्रभावकारी बनाउनुहोस् । स्वास्थ्यकर्मीहरू खासगरी चिकित्सक र नर्सहरूको तलब र सुविधा उल्लेख्य रूपमा बढाउनुहोस् ।
नेपालजस्तो देशको लागि राज्य करबाट गरिने बिमा नै उत्तम हो । यसको लागि गाउँपालिकादेखि नै स्रोत र साधन विनियोजन हुन जरुरी छ । यसको लागि पहल गर्नुहोस् । जनताले प्रिमियम तिर्ने मोडेल नेपालमा सफल हुन धेरै गाह्रो छ । नेपालको स्वास्थ सेवा प्रवाह विशेषज्ञ चिकित्सकभन्दा पनि समुदायसम्म रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरू र स्वास्थ्यचौकीहरूमार्फत भएको छ । अझै पनि यो प्रणालीबाट धेरै गर्न सकिन्छ । निर्णय गर्दा उनीहरूका कुरा पनि सुनेर गर्नुहोस् । स्वास्थ्य अध्ययन र अनुसन्धानलाई प्राथमिकतामा राख्नुहोस् । अड्कलबाजीमा निर्णय गर्नेभन्दा प्रमाणमा आधारित कार्यक्रमहरूलाई लागू गर्नुहोस् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई स्वास्थ्य वैज्ञानिकहरूको प्राज्ञिक थलो बनाउनुहोस् । पर्याप्त बजेट छुट्याइदिनुहोस् ।
खासगरी केन्द्रीय तहका कर्मचारीहरू तालिम–तालिम भन्दै कुद्ने देखिएको छ । दक्षता र नयाँ कुरा सिक्नभन्दा भत्ता पाउने लोभले हिँड्नेहरूलाई नियन्त्रणमा ल्याउनुहोस् । गाउँपालिकामा एउटा अस्पतालभन्दा पनि स्वास्थ्यचौकीहरूको सहयोगमा गाउँघर क्लिनिकहरू डाक्टरको उपस्थिति वा सुपरिवेक्षणमा चलाउने व्यवस्था गर्नुहोस् । आवश्यकहरूलाई स्वास्थ्यकर्मी घरमा नै पुग्ने वा टेलिफोनमार्फत सेवा दिने व्यवस्था मिलाउनुहोस् ।
प्रेषणलाई प्रभावकारी बनाउनुहोस् । टाउको दुख्दा पनि केन्द्रीय अस्पतालका विशेषज्ञ डाक्टरहरूलाई देखाउने अहिलेको अभ्यास छ । अहिलेको दरबन्दी भएका ठाउँमा नियुक्ति गर्नुहोस् । नभएको ठाउँमा दरबन्दी सिर्जना गर्नुहोस् । छरिएका औषधि पसलहरूलाई एकीकृत गर्नुहोस । बिरामीले पुर्जी बोक्दै औषधि खोज्दै हिँड्ने बाध्यताको अन्त्य गर्नुहोस् । सरुवा–बढुवाको घनचक्करमा नफस्नुहोस् । गैरसरकारी संस्थाहरूले गर्ने धेरै काममा डुप्लिकेसन छ । यसलाई हटाउने÷घटाउने गर्नुहोला । बिरामीलाई दिने सेवाको सम्भव भएसम्म डिजिटलाइजेसन गरेर अभिलेखीकरण गर्ने व्यवस्था गर्नुहोस् । उदाहरणको लागि, जुम्ला अस्पतालबाट टिचिङ प्रेषण भएको बिरामीको अभिलेख काठमाडौंको चिकित्सकले सजिलै हेर्न मिल्ने होस् ।
स्वदेशमा नै औषधि र उपकरण उत्पादन गर्ने कम्पनीहरूलाई आकर्षक प्याकेज ल्याउनुहोस् । जुन पालिकाबाट सबैभन्दा कम व्यक्तिहरू केन्द्रीय अस्पतालमा भर्ना हुन्छन् र÷वा अकालमा मर्छन् । त्यो पालिकालाई पुरस्कृत गर्ने व्यवस्था गर्नुहोस् । बिरामी कम हुनु भनेको रोकथाममा राम्रो हुनु हो । स्वास्थ्य मन्त्रालयले धेरै तथ्यांक संकलन गर्छ । तर ती तथ्यांकको विश्लेषण र प्रयोग निकै कम छ । यसतर्फ विशेष ध्यान दिनुहोस् । राज्यको सम्पत्ति दुरुपयोग गरेर विदेश उपचार गर्न सिफारिस माग्न आउनेहरूलाई रोकिदिनुहोस् ।
स्वास्थ्य मन्त्री÷स्वास्थ्य राज्यमन्त्री सफल हुने वा असफल हुने भन्ने कुरा यहाँहरूले तय गर्ने कार्य–योजनाले त निर्धारण गर्छ नै तर हालको हाम्रो प्राक्टिस हेर्दा यहाँहरूले नियुक्त गर्ने सल्लाहकार, सचिवालयको समेत ठूलो प्रभाव देखिन्छ । स्वास्थ्य एक प्राविधिक क्षेत्र त्यस भित्रपनि विभिन्न आयामहरू रहेको हुँदा कुन कुराको सल्लाह लिन कुन व्यक्तिसित परामर्श गर्ने भन्ने विषय महत्वपूर्ण छ, त्यसैले एकजना विज्ञ सल्लाहकार राखेर उसैलाई सर्वविज्ञ वनाएर निर्णय लिनुभन्दा स्वास्थ्यका विभिन्न विषयगत विज्ञहरूको रोस्टर बनाएर तथा स्वास्थ्य मन्त्रालय वा अन्तर्गतका विभिन्न विषयगत निकायकै प्रमुख परामर्श लिनु उपयुक्त हुन्छ ।
जनस्वास्थ्यको विषयमा निर्णय लिँदा जनस्वास्थ्यविद, मुटुरोग बारेमा मुटुरोग नै विशेषज्ञ, आँखा बारेमा आँखा स्वास्थ्यकै विज्ञसँग परामर्श लिएर निर्णय गर्न सकियो भने पक्कै पनि यहाँहरूको कार्यकाल सफल रहनेछ । यस पत्रमा उल्लेख गर्न छुटाइएका र व्याख्या गर्न नसकिएका तर स्वास्थ्य क्षेत्रको विकास र जनतालाई स्वस्थ राख्नका लागि सरकारले गर्नसक्ने र गर्नेपर्ने धेरै विषयवस्तुहरू छन्, यी सबै विषयवस्तुहरूलाई समेटर यहाँहरूको कार्ययोजना निर्माण हुनेछ भन्ने आशा व्यक्त गर्दै अहिलेलाई यत्ति । थाहा छ, कतिपय कुरा तपाईंहरूले चाहेर पनि गर्न सक्नुहुन्न । पुनः यहाँहरूको सफल कार्यकालको शुभकामना ।
(ड.न्यौपाने अमेरिकाको ब्लुमवर्ग स्कुल अफ पब्लिक हेल्थमा सहायक वैज्ञानिकको रूपमा कार्यरत छन्)
प्रतिक्रिया