शैक्षिक गुणस्तर सुधार गर्न अक्षयकोष स्थापना

गोरखा । गोरखाको घलाङमा जन्मिएर काठमाडौंमा रहेका घलाङवासीको साँझा संस्था घलाङ गोरखा सेवा समाजले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गोरखा नगरपालिका ३ मा रहेको राष्ट्रिय मावि घलाङको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । समाजका अध्यक्ष योगेन्द्रजंग बस्नेतको अध्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयको शैक्षिक सुधारको लागि छलफल भएको समाजका सह–सचिव अश्विन थापाले जानकारी दिए । उनले भने, ‘सामुदायिक विद्यालयको शैक्षिक गुस्तर खस्केर गएकोमा चिन्ता व्यक्त गर्दै सक्दो सहयोग गर्न कार्यक्रम आयोजना गरेका हौं ।’

अन्तरक्रिया कार्यक्रमसँगै विद्यालयमा एकलाख रकम बराबरको अक्षय कोष स्थापना गरिएको छ । शिक्षकको मनोवल बढाउन तथा शिक्षाको गुस्तर वृद्धि गर्न सो कोष स्थापना गरिएको थापाले बताए । अब सरकारी विदाको दिन पनि कक्षा सञ्चालन गर्ने र अंग्रेजी माध्यमबाट पनि पढाउने छलफल भएको थापाले जानकारी दिए । साँथै शनिबार पनि कक्षा सञ्चालन हुने र सो दिनको पािरश्रमिक अक्षयकोषबाट बेहोरिने सह–सचिव थापाले बताए । कार्यक्रममा सो रकमको चेक समेत प्रदान गरिएको थियो । शैक्षिक गुणस्तर बढाउनको लागि कोषलाई थप वृहत बनाउदै लगिने उनले बताए ।

सो एकलाख रकम समाजका सदश्यहरुबाट उठाइएको हो । समाजका सदश्यहरुको आफ्नो जन्मभुमिको विद्यालय राम्रो बनोस भन्ने मान्यता रहेको छ । समाजले यसअघि पनि थुप्रै समाजिक कामहरु गरेको छ । विरामीको उपचारमा सहयोग गर्नेलगायत सदश्यहरुलाई गाह्रो साह्रो पर्दा समाजले सहयोग गर्दै आएको थियो ।

अन्तरक्रिया कार्यक्रममा समाजका संस्थापक अध्यक्ष योगेन्द्रजंग बस्नेत, शिक्षाविद् अर्जुन राइमाझी, नेता यादवबहादुर बस्नेत, समाजका उपाध्यक्ष रमेश कुँवर, समाजका आर्थिक विभाग प्रमुख दिवस बस्नेत, आर्थिक विभागका उप–प्रमुख तथा सदश्य भिष्म थापा, सह–सचिव अश्विन थापा र सदश्य प्रदिप थापाको सहभागिता रहेको थियो । त्यस्तै, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश श्रीमल, प्रधानाध्यापक मिनबहादुर नेपाली, गोरखा नगरपालिका ३ का वडाध्यक्ष तुलबहादुर कुँवर, वडासदश्य इच्छा थापा, पूर्वडाध्यक्ष रामबाबु बोगटीलगायतको उपस्थिति रहेको थियो ।

अब केही दिनमा गोरखा नगरपालिकाका नगरप्रमुख, विभिन्न दलका प्रतिनिधि, जिल्ला शिक्षा अधिकारीलगायतका सरोकारवालासँग बृहत अन्तरक्रिया गर्ने समाजका अध्यक्ष योगेन्द्रजंग बस्नेतले बताए ।

प्रतिक्रिया