बाजुरा भूकम्प : २५ परिवारकाे झनै बिजोग

बाजुरा । गत मंगलबार हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्दु भएर दिउँसो २ः४३ बजे ५.९ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पले गर्दा एक जनाको मृत्यु भयो भने चार जना घाइते भए ।

जिल्लामा ६ सयभन्दा बढी घर पूर्ण र आंशिकरूपमा क्षति पुग्यो । त्यसमा पनि गौमुल गाउँपालिका–२ आगर, जुरेली, दहकोट र नेडा बस्तीमा बढी क्षति भयो ।

गौमुल गाउँपालिका–२ आगरमा रहेका दलित बस्तीका २५ परिवारलाई झनै बिजोग बनाएको देखियो । न खाने गास न त बस्ने बास नै छ ।

घरभित्र भएका लत्ताकपडा र अन्नसमेत निकाल्न नसकिने गरी घर चिरा–चिरा परेका छन् । भिरालो जमिनमा बनाइएका उक्त परिवारका घर एक फिटभन्दा बढी फाटेर गाउँवासी भित्र पस्नसमेतका सकेका छैनन् ।

यही माघ १० गते गएको भूकम्पका कारण गौमुल गाउँपालिकावासीको बिचल्ली छ । सबै घर बस्नलायक नभएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

उक्त गाउँपालिकामा एक हजार ६ सय ५० परिवारमध्ये पाँच सय ७० परिवारका घर जोखिममा छ । पाँच सय ७० परिवारका बासिन्दा सबै विस्थापित भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया