न्यौपानेको ‘घरको शिक्षा’ बजारमा

काठमाडौं । सञ्चारकर्मी दामोदर न्यौपानेको नवौं कृति ‘घरको शिक्षा’ बजारमा आएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शिक्षाविद् डा. विद्यानाथ कोइराला, अक्षरा स्कुलकी प्रधानाध्यापक अञ्जु भट्टराई, शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी, मनोविद् डा. विजय ज्ञवाली, पुस्तकका प्रमुख पात्र लेखक न्यौपानेका छोरा हार्दिक न्यौपाने लगायतले कृतिको संयुक्त रूपमा विमोचन गरे । अञ्जु भट्टराईले घर संस्कार सिकाइको पहिलो पाठशाला भएकाले शिक्षामा संस्कार जोडिनुपर्ने विचार व्यक्त गरिन् । उनले भनिन्, ‘बालबालिकाले घरबाटै संस्कार सिक्छन् । यसका लागि अभिभावक नै सचेत हुनुपर्छ । पुस्तकको प्रमुख पात्र हार्दिक न्यौपाने मेरो आफ्नै विद्यार्थी हुनुहुन्छ ।

उहाँको बुबासँग सधैं भेट भइरहन्छ । उहाँले हार्दिकको चाहना बुझ्दै सधैं उहाँलाई सहयोग गर्नुहुन्छ । यसरी संवेगात्मक विकासमा सहयोग पु¥याउनु बालचाहना अनुसार लेखिएकाले सबै वर्गका लागि उक्त पुस्तक पठनीय छ ।’
शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले ‘घरको शिक्षा’ पुस्तकको रुपमा नभइ दर्पणको रुपमा आएको बताए । उनले पुस्तक अभिभावक, शिक्षक, विद्यार्थीका लागि अमूल्य रत्न रहेको जिकिर गरे । उनले भने, ‘पुस्तक शिक्षक र अभिभावक सबैले पढ्नुपर्ने रहेछ । बच्चाको असीमित चाहना हुन्छ । यस्तो अवस्थामा बालबालिकासित हामीले कस्तो व्यवहार गरेका रहेछौं, पुस्तकले आत्ममूल्यांकन गर्न सहयोग पु¥याउने रहेछ ।’

पुस्तकबारे बोल्ने क्रममा विजय ज्ञवालीले सबैले सुरक्षित मानिएको घर किन असुरक्षित छ भन्ने कुरा लेखकले अप्रत्यक्ष तरिकाले पुस्तकमा चित्रण गरेका छन् । उनले भने, ‘मैले पुस्तकलाई बाबाको आँखाबाट पनि पढें । यसले बाबाको हृदय बुझ्न मद्दत पु¥याउने रहेछ । शिक्षक, अभिभावक र विद्यार्थी सबैले पढ्नुपर्ने रहेछ ।’ उनले हामी घरलाई सबैभन्दा सुरक्षित ठाउँ माने पनि कोरोना संक्रमणको जोखिमका कारण विद्यालय बन्द हुँदा सबैभन्दा सुरक्षित मानिएको घरमै धेरै बालबालिकाले आत्महत्या गरेको दुःखेसो पोखे । ज्ञवालीले थपे, ‘लेखकले घर किन असुरक्षित भन्ने कुरा अप्रत्यक्ष तरिकाले देखाएका छन् । सिकाइ र संस्कारसँग बालबालिकालाई जोड्न नसक्दा हुने यस्ताखाले सम्भावित घटना दोहोरिन नदिन अभिभावक सचेत हुनुपर्ने रहेछ ।’

प्रा.डा. विद्यानाथ कोइरालाले पुस्तकले किताब मात्रै बोक्ने प्रवृत्तिको निरुत्साहित गर्दै बालमनोविज्ञान बुझेर अभिभावकले बाल सिकाइमा अगाडि बढ्नुपर्ने विचार राखे । उनले भने, ‘हामी बालबालिकामाथि आफ्नो इच्छा लादिरहेका हुन्छौ ं। बच्चा चुलबुले हुन्छन् । उनीहरूको सिकाइ विशृंखिलत हुन्छन् । तर, हामी एकोहोरो किताब रटाइरहेका हुन्छौं । यस्तो अवस्थामा पुस्तकभन्दा आफ्नै तरिकाले सञ्चार, प्रविधि, संस्कार, पूजापाठका माध्यमबाट किताबभन्दा धेरै ज्ञान दिन सकिने रहेछ ।’ लेखक न्यौपानेले संस्कारहीनताको कारणले शिक्षा नीति असफल भएको बताए ।

उनले भने, ‘संस्कारहीनताको कारणले समाज भाँडिएको छ । त्यसलाई ठिक ठाउँमा ल्याउन पुस्तक लेखेको हुँ । हामीले बालबालिकालाई घरबाटै संस्कार सिकाउनु पर्छ । हिंसात्मक वातावरणमा हुर्काएका नानीहरू सामाजिक हुन सक्दैन ।’ यसअघि न्यौपानेका एम्बुसमा ६ वर्ष, कर्मः सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट सो, स्वर्णिम समय, स्कुल बेच्ने बालक, हाडको डोको, सम्पदा लडाइँ र दासप्रथाको नयाँ रूप प्रकाशित छन् । हार्दिक न्यौपानेको आवरण रहेको उक्त पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया