आउनै छोड्यो तराईको आलु

आलु उत्पादनमा निर्भर हुँदै बझाङ

बझाङ । हाम्रो दैनिक जीवनमा प्रयोग हुने तरकारी बाली मध्येको एक आलु तराईका जिल्लाहरूबाट बझाङ जिल्लामा आउन छोडेको छ । जिल्ला कृषि ज्ञान केन्द्र बझाङ र प्रधानमन्त्री कृषि आधुनीकरण परीयोजना इकाई कार्यालय बझाङले आलु उत्पादनका लागि सहजता ल्याएपछि बझाङ जिल्लामा तराईका जिल्लाहरूको आलु आउन छोडेको सरोकारवालाहरूको भनाइ रहेको थियो । आइतबार एक कार्यक्रमका बीच साना सिँचाइ प्राथमिक प्रशोधन तथा भण्डारण स्थापना कार्यक्रममा छनोट समूह सहकारी तथा फर्मका पदाधिकारीहरूलाई कार्यक्रम कार्यान्यनसम्बन्धी अभिमुखीकरण गोष्ठीमा बोल्ने अधिकांश वक्ताहरूले आलु बालीमा बझाङ जिल्ला लगभग निर्भर बन्ने लाइनमा रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख टेकबहादुर विष्टले बझाङ जिल्लाको हावापानी माटो आलु खेतीका लागि नै सुहाउने भएकाले सरकारले नै यै जिल्लालाई आलु उत्पादनका लागी छनोट गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परीयोजना लागू गरेको बताए । उनले यो परियोजना लागू भएपछि आलु उत्पादनमा लगभग आत्मनिर्भर बनेको र बाहिरी जिल्लावाट आउने आलुलगायत तरकारी बाली कम आउन थालेको यसवर्ष मात्रै यही जिल्लाबाट करिब पाँच करोडदेखि सात करोडसम्मको आलु बाहिरी जिल्लामा निर्यात भएको बताए । साथै हालसालै कैलालीको धनगढीमा सम्पन्न भएको सुदूरपश्चिम महोत्सवमा राखिएको स्टलबाट करिब जिल्लामा उत्पादन भएको आलु भागो कोदो भिरको मह सोइटाबाट ४० लाखभन्दा बढी बिक्री भएको उनको भनाइ थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्य समितीका सदस्य टोप बहादुर खड्काले हिजो हामी यही जिल्लामा बसेर छिमेकी राष्ट्र भारतमा उत्पादन भएको आलुको तरकारी खाने गरेका थियौँ आज यही जिल्लाको स्थानीयस्तरमै उत्पादन भएकोे अर्गानिक आलु बाहिरी जिल्लामा निर्यात हुनु खुसीको कुरा भएको बताए । उनले परियोजना कृषि ज्ञान केन्द्रले आलुमा आत्मनिर्भर बनाउनका लागि पहल चालेपछि स्थानीयस्तरमा रहेका कृषकहरूको जनजीवन फेरिएको बताए ।

कार्यक्रमा बोल्दै नेपाल पत्रकार महासघ बझाङका निवर्तमान अध्यक्ष जगदीश रोकायाले पनि बझाङ जिल्लामा आलु उत्पादनका लागि निकै सम्भावना रहेको बताए । उनले ज्ञान केन्द्र परियोजना इकाई कार्यालयले आलु उत्पादनका लागि पहल चालेपछि आलु उत्पादनका लागि आत्मनिर्भर बन्न लागेको र केन्द्र प्रदेश सरकार र स्थानीय सरकारले आलु भण्डारण केन्द्र र संकलन केन्द्रका लागि भवनहरू निर्माण गरेको भए तापनि कतिपय संकलन केन्द्र भण्डारण केन्द्र प्रयोगविहिन अवस्थामा आएको र ती भवनहरूको अपनत्व सरकोरवालाहरूले लिई तिनीहरूको संरक्षण गर्नु सबै निकायको दायित्व रहेको बताए ।
बझाङ जिल्लाका विभिन्न ग्रामीण बजारहरू र सदरमुकाम चैनपुर बजारमा स्थानीयस्तरमा उत्पादन भएको आलु प्रसस्तै मात्रामा पाइने गरेको छ । सदरमुकाम चैनपुरमा स्थानीयस्तरमा उत्पादन भएको अर्गानिक आलुको मूल्य प्रतिकेजी २५ रुपैयाँ मात्रै रहेको छ ।

प्रतिक्रिया