तीन तहको सरकारप्रति आशा र अपेक्षा

डा.डिआर उपाध्याय

पुराना दलहरूले नयाँहरूलाई नेतृत्वको मौका नै नदिने अवस्था रह्यो । एमाले, कांग्रेसमा पनि त्यस्तै छ । माओवादीमा पनि त्यस्तै छ । नयाँले नेतृत्व पाउन मुस्किल नै छ । कांग्रेस, एमाले अनि माओवादी सबै उस्तै हुन् । कसरी हुन्छ सत्तामा जाने र देश लुटने ध्यानबाहेक यी दलहरूमा अरू केही देखिएन । सत्ता स्वार्थ केन्द्रित राजनीतिले मुलुक बर्बाद बनाइरहेको छ । पछिल्लो समयमा खासगरी तीन व्यक्ति शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बढी मात्रामा आलोचित बन्दै आएका छन् । सत्तास्वार्थ केन्द्रित राजनीतिले मूल राजनीति नै फोहोर बनाइरहेको अवस्था छ ।

मंसिरमा चुनाव सम्पन्न भएर देशमा नयाँ जनप्रतिनिधि आएसँगै संघ र प्रदेशमा नयाँ सरकार गठन भएका छन् । अब आमनेपाली जनताले सरकारबाट परिणामको अपेक्षा गरेका छन् । राजनीतिक दल र तिनका नेताहरूले हिजो चुनावका बेला बोलेका कुराहरूको कार्यान्वयन जनताले खोजेका छन् । चुनावका बेलामा राजनीतिक दल र तिनका नेताहरूले जनतालाई जुन किसिमको आश्वासन बाँडेर चुनाव जिते त्यसअनुसार अहिले सरकारमा गएर नतिजा दिन सकेनन् भने भोलि उनीहरूको राजनीति भविष्य धरापमा पर्ने निश्चित छ । अहिलेसम्म राजनीतिमा ढाँटने काम भइरहेको छ । ढाँटको राजनीति लामो समयसम्म टिक्न सक्दैन यस कुरामा दलहरूले हेक्का राख्न जरुरी छ । नेपालको राजनीतिले भोलि कुन मोड लिन्छ त्यो त अहिले नै अनुमान गर्न कठिन हुन्छ । जे भए पनि आमजनतामाथि दलहरूले बेइमानको राजनीति गर्न छोडनुपर्छ ।

आज जनताले रोजेका मान्छे जनप्रतिनिधि छन् । जनप्रतिनिधिहरूले इमानका साथ जनताका काम गरेर खुसी बनाए कति राम्रो हुन्थ्यो । आज देशमा तीन तहका सरकार छन् । तीन तहका सरकारले देश र जनताप्रति गम्भीर भएर काम गर्ने हो भने जनता असन्तुष्टि हुने थिएनन् । जनता असन्तुष्टि हुनु भनेको काम नभएर हो । देश र समाजको भविष्य बनाउन भनेर जनताले जनप्रतिनिधि छनोट गरेका हुन् । जनप्रतिनिधिहरूको भविष्य बनाउन जनताले छनोट गरेका होइनन् । केही गलत मनोवृत्तिका मान्छे पनि पैसाले जनप्रतिनिधिमा छनोट भएका छन् । यो त हामीले देखेकै छौँ । पैसाविना चुनाव लड्न सकिँदैन । यस्तो हालतमा छौँ हामी । केही पहुँच र पैसाले पनि जनप्रतिनिधि बन्ने अवस्था आएको छ । शासन व्यवस्था राम्रोसँग चल्न सकेन भने देश र जनताले दुःख पाउँछन् । विगतदेखि अहिलेसम्म जनताले दुःख पाएको नै शासन व्यवस्था राम्रोसँग चल्न नसकेर हो ।

शासन व्यवस्था राम्रोसँग चलाउन नेतृत्वमा दूरदर्शिता र इमानदारी चाहिन्छ । इमानदारी भनेको व्यक्तिगत लोभ लालच नभएको । प्रजातन्त्र भनेको एउटा सक्षम नागरिकले नै शासन चलाउनु हो । देश अलि सभ्य मानिसले नै चलाउनुपर्छ । त्यसो भयो भने मात्र देशको प्रगति गर्न सकिन्छ । लोकतन्त्र आएपछि पनि दुई वटा संविधानसभा र तीन÷चार वटा आमचुनाव भइसकेको छ । यस अवधिमा आएको संघीय गणतन्त्र, धर्म निरपेक्षता हुन् । यी उपलव्धि छोटै समयमा प्राप्त भएका छन् । यी उपलव्धि प्राप्त भएपछि नेताहरूलाई फाइदा भएको छ । जनतालाई कुनै फाइदा भएको छैन । व्यवस्था फेरियो तर जनताको अवस्था उस्तैै छ । जनताको जनजीवन माथि उठ्न सकेको छैन । देशमा सेवासुविधा जति नेतालाई भयो जनतालाई केही छैन । देशमा यत्तिका नेता, जनप्रतिनिधि छन् । यिनीहरूलाई पाल्न हाम्रो अर्थतन्त्रले धान्न सकिरहेको छैन । तीन तहका सरकारहरू पाल्न सकस परिरहेको छ ।

तीन तहका सरकारहरूले सेवासुविधा प्रवाह गर्न सकेका छैनन् । परिणाम दिन नसकेपछि त्यसको के अर्थ ? यसरी जनतामा निराशा छाएको छ । कुनै पनि कुरामा कुनै पनि सरकारले गर्व गर्ने बाटो दिएनन् । जनताको आधारभूत आवश्यकता पूरा गर्नेतर्फ सरकार अघि बढ्नुपर्ने हो खै केही देखिएन । देशमा जति पनि सरकार आए ती कसैले मुलुकप्रति सोचेनन् । ती सबैले आफ्नै लागि सोचे । नेताहरूले आफू मात्र समृद्ध हुने बाटो अपनाएको देखिन्छ । नेताहरू फुक्दै जाने जनताहरू सुक्दै जाने देश गरिब हँुदै जाने यस्तो छ अवस्था । जो आए पनि राज्यसत्ताको मनपरी प्रयोग र शक्तिको दुरुपयोग गरे । जनताको जनमतको दुरुपयोग गर्ने काम नै बढी मात्रामा भयो । आज देशमा नयाँ दलहरू पनि उदाएका छन् । नयाँ दलहरूले कसरी काम गरेर देखाउँछन्, त्यो त हेर्दै जाने कुरा हो । परिणाम र परिस्थिति फरक कुरा हो ।

आज मुलुकमा राजनीति र जनमतले गम्भीर संकेत गरेको छ । पुराना दलहरूले राम्रो काम गरेर देखाउन नसकेकै कारण नयाँ दलहरूको जन्म भएको हो । पुराना राजनीतिक दल र तिनका नेताहरूमा कुनै ‘भिजन’ भएन । आर्थिक हिसाबले देश तहसनहस भयो । आर्थिक मात्र होइन, सामाजिक र राजनीतिक हिसाबले पनि । देशमा यस्तै भइराख्यो भने यो व्यवस्थामै ठूलो प्रश्न चिह्न उठ्ने अवस्था आएको छ । पुराना दलहरूले नयाँहरूलाई नेतृत्वको मौका नै नदिने अवस्था रह्यो । एमाले, कांग्रेसमा पनि त्यस्तै छ । माओवादीमा पनि त्यस्तै छ । नयाँले नेतृत्व पाउन मुस्किल नै छ । कांग्रेस, एमाले अनि माओवादी सबै उस्तै हुन् । कसरी हुन्छ सत्तामा जाने र देश लुटने ध्यानबाहेक यी दलहरूमा अरू केही देखिएन । सत्ता स्वार्थ केन्द्रित राजनीतिले मुलुक बर्बाद बनाइरहेको छ । पछिल्लो समयमा खासगरी तीन व्यक्ति शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बढी मात्रामा आलोचित बन्दै आएका छन् । सत्तास्वार्थ केन्द्रित राजनीतिले मूल राजनीति नै फोहोर बनाइरहेको अवस्था छ । फोहोरो राजनीति अझै सफा हुन सकेको छैन ।

जबसम्म राजनीति सफा हुँदैन तबसम्म केही हुँदैन । नेताहरूमा विवेक नै भएन । सत्ता स्वार्थका लागि जे पनि गर्न तयार हुन्छन् । नेताहरू सत्तामा जाने र त्यसको स्वाद चाख्ने अथवा रमाउनेबाहेक अरू केही देखिएन अहिलेसम्म । देशमा आर्थिक–सामाजिक विकास गर्ने भन्ने देखिएन । यसै साता एउटा नागरिकले संसद् भवनअघि आत्मदाह गरे । उनलाई बचाउन कसैले सकेनन् । सबै रमिते भएर हेरिरहे, भिडियो खिचिरहे उनलाई समयमै बचाउनेतिर कोही लागेनन् । अहिलेको सरकार दाहाल नेतृत्वमा छ । विगत हेरिसकेका जनताले यिनबाट अब के र कस्तो अपेक्षा गर्ने ? जनताप्रति उत्तरदायी नहुने सरकारहरूको कुनै काम छैन ।

यो सरकारले आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यको कुराप्रति गम्भीर बन्न सक्छ कि सक्दैन ? नयाँ दलहरूबाट पनि ठूलो आशा गर्ने ठाउँ देखिएको छैन । किनभने यिनीहरू पनि देश र जनताप्रति खासै गम्भीर भएको देखिएन । कुरा मात्र गरेर हँुदैन, परिणाम दिन सक्नुपर्छ । सामाजिक र आर्थिक सुधार नभइकन हालको पुँजीवादी लोकतन्त्र चल्न सक्तैन । यो संसारले नै स्वीकार गरेको कुरा हो । अब विकास र परिवर्तन गर्न एउटा अनुशासन चाहिन्छ । त्यो आर्थिक होस् वा राजनीतिक दुवै क्षेत्रमा जरुरी छ । मुख्यतः भ्रष्टाचार निर्मुल बनाउनुप¥यो । अब नेपालको राजनीति सही ढंगले चल्नुपर्छ । हिजो जसरी चल्यो त्यसरी हुँदैन । मुलुक परिवर्तनशील छ । परिवर्तनसँगै जनताका आकांक्षा पनि बढेका हुन्छन् । अब सबैभन्दा पहिला राजनीतिक दल र तिनका नेताहरू सुधर्न आवश्यक देखियो । नेताहरूमा सुधार आयो भने पक्कै देश बन्छ ।

आज देशमा नेताहरूप्रति कार्यकर्ताको विश्वास छैन । कारण के हो भने नेताहरूले मुलुकप्रति खासै राम्रो काम गरेर देखाउन सकेनन् । नेताहरूले जनताको मन जित्न सक्नुपर्छ । त्यसो भयो भने मात्र मुलुकको भविष्य बन्छ । आज देशमा विश्वासको संकट छ । सबै राजनीतिक दलका कार्यकर्ताहरू त्यति सन्तुष्टि छैनन् । नेताहरूले आफ्ना आसेपासे मात्र हेरे कार्यकर्ता हेरेनन् । यो कुरा त सत्य हो नि । राजनीतिका कारण हरेक कुरा बिग्रँदै गएको छ । राजनीति सही बाटोमा जानुपर्छ भन्ने हाम्रो कुरा हो । राजनीतिक बाटो सही भयो भने मात्र सबै कुरा सही बाटोमा आउँछ । यो विषयमा लामो समयदेखि बहस चलिरहेकै छ । तर, अझैसम्म सार्थक परिणाम आउन सकेको छैन ।

राजनीतिमा स्थिरता, अडान र सिद्धान्त हुनुपर्छ । अहिलेको राजनीतिमा खासै सम्भावना केही देखिँदैन । नयाँ पुस्ता उदाए, सरकारमा पनि गए तर परिणाम कस्तो दिने हुन त्यो त हेर्न बाँकी छ नि । अहिले नै खुसी हुने बेला होइन । खुसी त परिणामपछि हुने हो । नयाँ पुस्ताले इमानको राजनीति गरे भने भविष्य राम्रो हुने देखिन्छ । तर, अहिले नै यसै भन्न सकिन्न । हिजो बोलेका कुरा कार्यान्वयन हुन्छन् कि हँुदैनन् जनताले पर्खेर बसेका छन् । कुरा मात्र चर्को गर्ने कि परिणाम पनि दिने ? जनताले प्रश्न गरेका छन् । नयाँ अनुहार मन्त्रीमा छन् अब के हुन्छ ? अब उनीहरूले मुलुक कसरी बनाउँछन् ? अब नेपालको राजनीति नयाँ शिराबाट जानुपर्छ । जनताका इच्छा र आवश्यकता पूरा हुनुपर्छ ।

जनतालाई विश्वासमा दिलाउने किसिमले काम अघि बढ्नुपर्छ । अहिलेसम्म त्यस्तो देखिएको छैन । नयाँ अनुहारले राम्रो काम गरेर चमत्कार देखाउनुपर्छ । यदि उनीहरूले चमत्कार देखाउन सकेनन् भने पछि आफैँ सकिन्छन् । यो त इतिहासले देखाएको बाटो हो । इतिहासमा नराम्रो काम गर्नेहरू सकिँदै आएका छन् । अब यो भन्दा धेरै कुरा नगरौँ । राजनीति भनेको समाज सेवा हो । राजनीतिको नाममा जसले फाइदा लिन खोज्छ त्यो भविष्यमा समाप्त हुन्छ । राजनीति त्यति सजिलो कुरा होइन, जनताले मन नपाराएसम्म राजनेता बन्न सकिँदैन । राजनेता नभएसम्म देश बनाउन सकिँदैन । हाम्रो देशले राजनेताको खोजी गरिरहेको छ । अहिलेसम्म राजनेता मुलुकले पाउन सकिरहेको छैन ।

प्रतिक्रिया