तीन वर्षपछि रुकुमकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालन

रुकुम पूर्व । रुकुमकोट स्वास्थ्यचौकीका लागि निर्माण गरिएको बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ । आइतबार जिल्ला समन्वय समिति उपप्रमुख मोहन केसी र सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले वर्थिङ सेन्टरको उदघाटन गरे । केसी र रेग्मीले रिबन काटेर भवनकाे उदघाटन गरेका हुन् । सिस्ने गाउँपालिका ६ को ढकालबारमा रुकुमकोट स्वास्थ्यचौकी रहेको छ । स्वास्थ्यचौकी नजिकै वर्थिङ सेन्टर निर्माण गरिएको छ । २०७६ सम्म रुकुमकोट स्वास्थ्यचौकी सिस्ने गाउँपालिका ५ मा रहेको थियो ।

जिल्ला टुक्रिएपछि ५ मा रहेको रुकुमकोट स्वास्थ्यचौकी भवनमा जिल्ला अस्पताल स्थापना गरियो । त्यसपछि रुकुमकोट स्वास्थ्यचौकीलाई २०७६ मंसिरमा ढकालबारा सारिएको थियो । २०६४ बाट सुरु भएको बर्थिङ सेन्टरको सेवा स्वास्थ्यचौकी सरेपछि ठप्प भयो । उपयुक्त कोठा नहुदाँ वर्थिङ सेन्टरबाट दिइने सेवालाई पूर्ण बनाउन नसकिएको स्वास्थ्यकर्मीहरुले स्मरण गराए ।

स्थानान्तरण गरिएको स्वास्थ्यचौकीको सेवा भाडाको घरबाट प्रवाह हुदैँ आएकाे थियाे । २०७७ मंसिरमा सिस्ने गाउँपालिकाले रुकुमकोट स्वास्थ्यचौकीका लागि भवन निर्माण गरेकाे थियाे । त्यसपछि भाडाको घरबाट स्वास्थ्यचौकी आफ्नै भवनमा सेकाे थियाे । स्वास्थ्यचौकी आफ्नै भवनमा सरेपनि त्यहाँबाट बर्थिङ सेन्टरको सेवा भने सुरु भएन । त्यस भवनमा पनि प्रर्याप्त कोठा थिएनन् ।

यस वर्ष सिस्ने गाउँपालिका र सर्वाङ्गिन विकास केन्द्रको संयुक्त लगानीमा दुई कोठे भवन निर्माण गरिएको छ । सोहि भवनको आइतबार उदघाटन भएको हो । बर्थिङ सेन्टरका लागि भवन निर्माण भएपछि सेवा पनि सुचारु भएको छ । आवश्यक भवन, उपकरण र अन्य सामग्रीको व्यवस्था पछि बर्थिङ सेन्टरबाट सेवा दिन थालिएको स्वास्थ्यचौकी इन्चार्ज नमुना पुनले जानकारी दिइन् ।

यसअघि गाउँपालिकाले निर्माण गरेको तीन कोठे भवनबाट मात्र सेवा प्रवाह भइराखेके थियो इन्चार्ज पुनले भनिन, ‘बर्थिङ सेन्टरलाई चाहिने न्यूनतम कोठा नभएपछि निकै समस्या भयो । बर्थिङ सेन्टरका सामाग्री खुला रुपमा राख्न बाध्य भयौ । खुल्ला रुपमा सामग्री राख्दा केहि सामग्री घाम पानीले बिग्रीए ।’

बर्थिङ सेन्टरबाट दुई जनाले सेवा लिए

उक्त बर्थिङ सेन्टरबाट वडाका दुई महिलाले सेवा लिएका छन । सेवा सुरु भएपछि खोपिचारकी २९ वर्षिया कुमारी बुढा र ढकालबाराकी २५ वर्षिया कोपिला हमालको सुरिक्षत प्रसूति भयो । बुढाले छोरी र हमालले छोरालाई वर्थिङ सेन्टरमै जन्म दिए । वर्थिङ सेन्टर सञ्चालनमा आएपछि सेवा प्रवाहमा सहजता आएको सिनियर अनमी शकुन्तला पुनले जानकारी दिइन् ।
थप भवन निर्माणसँगै बर्थिङ सेन्टरको सेवा सुरु भएपछि बिरामीलाई सहज भएको छ । उनले भनिन्, ‘बर्थिङ सेवा नभएपछि यहाँका नागरिकहरु जिल्ला अस्पताल गएर प्रसूति सेवा लिने गरेका थिए । सेवा सञ्चालनमा आएसँगै गर्भवतीले स्वास्थ्य मापदण्डअनुसारको सेवा लिदै आएका छन् ।’


जसले गर्दा स्वास्थ्य परीक्षण र संस्थागत सुत्केरी हुने क्रम पनि बढेको उनको भनाई छ । गर्भ रहेदेखि स्वास्थ्य चेकजाँचका लागि स्वास्थ्यचौकी पुग्ने बिरामीको तथ्याङ्क राख्ने र नियमित निगरानी सहित आवश्यक परामर्श दिने काम भइरहेको छ । उनले भनिन् ‘बर्थिङ सेन्टर सञ्चालनमा आएदेखि सुत्केरी हुन स्वास्थ्यचौकी आएकालाई फर्काएका छैनौं ।’

स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सुरु भएसंगै घरमै सुत्केरी हुने र जिल्ला अस्पताल धाउनुपर्ने अवस्था अन्त्य भएको गाउँपालिका अध्यक्ष रेग्मीले बताए । स्वास्थ्यको पहुँचलाई ग्रामीण भेगसम्म विस्तार गर्नुपर्छ भन्ने लागेर रुकुमकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको सेवा थप गरिएको उनले सुनाए ।

तत्कालका लागि बर्थिङ सेन्टरमा आवश्यक पर्ने पूर्वाधार र उपकरणको व्यवस्था गरेका छौँ उनले भने, ‘स्वास्थ्यकर्मी पनि दक्ष हुनुहुन्छ । सवै कुराको व्यवस्थापन भएको छ । उनले स्वास्थ्यकर्मीलाई भने गुनासो रहित सेवा प्रबाहमा ध्यान दिनुहोस् यो मेरो आग्रह छ ।’ भवन निर्माण गर्न सहयोग र सहकार्य गर्ने फेयरमेड फाउण्डेशन, ग्रामिण स्वास्थ्य सुधार परियोजना सर्वाङगीन विकास केन्द्र र सम्पूर्ण स्वास्थ्य उपकरण उपलब्ध गराउने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष -युएनएफिए लाई अध्यक्ष रेग्मीले धन्यवाद दिए ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया