भूकम्पबाट बाजुरामा ४२ परिवार विस्थापित, चार सय घरमा क्षति

बाजुरा । बाजुरामा मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्णरूपमा विस्थापित भएका छन् । भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन् ।

भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

बडीमालिकाका १२, हिमालीका चार र गौमुलका १४ परिवार आफन्तकहाँ बसेका छन् । भूकम्पले घर चर्किएका र बस्ने अवस्थाका नभएकाले पाँच परिवार त्रिपालको सहारमा छन् ।

भूकम्पपछि त्रिपालको सहारामा बडीमालिकाका एक, गौमुलका एक र हिमालीका तीन परिवार रात काट्न बाध्य छन् । बडीमालिकाको एउटा परिवार मन्दिरमा बास बस्न थालेको थापाले बताउनुभयो ।

चार सय घरमा क्षति

भूकम्पका कारण झण्डै चार सय घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले संकलन गरेको क्षतिको विवरणानुसार सबैभन्दा बडीमालिका नगरपालिकामा क्षति भएको छ ।

भूकम्पले बडीमालिकामा २१, बूढीनन्दामा तीन र बूढीगंगामा एक घर पूर्णरूपमा क्षति भएका छन् भने हिमालीमा १९, गौमुलमा ११, खप्तड छेडेदहमा चार, स्वामीकार्तिक खापर गाउँपालिकामा एक गरी ६० घर पूर्णरूपमा क्षति भएको डिएसपी थापाले बताउनुभयो ।

बडीमालिकामा ३१, बूढीनन्दामा ९, हिमालीमा ९, खप्तड छेडेदह पाँच र गौमुलमा पाँच घरमा आंशिकरूपमा क्षति पुगेको छ ।

यसैगरी भूकम्पले बडीमालिकामा एक सय ८७, बूढीनन्दा नगरपालिकामा एक, हिमाली ४० र स्वामीकार्तिक खापर गाउँपालिकामा एक घरमा सामान्य क्षति पुगेको छ । भूकम्पबाट प्रहरी चौकी विच्छ्या जोखिममा छ । प्रहरी चौकी कुन्नार कारागार सुरक्षा गार्ड ब्यारेक चर्किएको छ ।

भूकम्पबाट गौमुल गाउँपालिका–२ जुरीलेकी ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो । भूकम्पबाट गौमुल–१ अम्लिसका ३५ वर्षीय राजदल बोहरा, बडीमालिका नगरपालिका–२ की ४२ वर्षीया चन्द्रा महत, हिमाली गाउँपालिका–१ की छ वर्षीया सुश्रीता थापा र हुम्ला जिल्ला घर घई हिमाली–६ मा दिदीको घर आएकी १६ वर्षीया सरिता नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।

बोहरा, महत र नेपाली उपचारपछि घर फर्किएका छन् भने थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । भूकम्पका कारण गौमुल–१ अम्लिसका बोहराका ३५ भेडा मरेको डिएसपी थापाले बताए । भूकम्पले पु¥याएको क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ ।

प्रतिक्रिया