‘ह्यारी कि प्यारी’ को गीत सार्वजनिक

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ह्यारी कि प्यारी’ को दोस्रो गीत सार्वजनिक भएको छ । आगामी माघ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा समावेश ‘मीठो मीठो’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । युग भुसालको संगीत तथा निर्देशक डा. कपिल रिजालको शब्द रचना रहेको गीतमा सौरभ दास र देवाञ्जली वी जोशीको स्वर रहेको छ । गीतमा चलचित्रकी मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको अभिनय छ । बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अभिनेत्री साम्राज्ञी र अभिनेता जितुसँगै विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय छ । यस्तै, चलचित्रको एक गीतमा अभिनेत्री रेखा थापाको समेत विशेष भूमिका रहेको छ ।

डा. कपिल रिजालको निर्देशनमा निर्माण भएको चलचित्रको छायांकन सुदीप बरालको रहेको छ । डा.रिजालकै कथा रहेको यस चलचित्रमा सुदीप बराल, गिरीराज घिमिरे, डा.रिजाल, अभिमन्यू निरवीले पटकथा र संवाद लेखन गरेका छन् । दन्त चिकित्सक डा. रिजालले यही चलचित्रबाट निर्देशनमा पाइला हाल्दै छन् । चलचित्रमा डा.भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुसालको संगीत, सपनकुमार राई, सौरभ दास, थोम्सन एन्ड्रयुज, मिना निरौलाको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । मुम्बईमा पोस्ट पोडक्सन गरिएको यस चलचित्रमा अर्जुन जिसीको सम्पादन रहेको छ ।

प्रतिक्रिया