प्रतिष्ठानद्वारा दुई पुरस्कार घोषणा

काठमाडौं । नेपाली मुक्तक साहित्यमा योगदान दिएका दुई स्रष्टा पुरस्कृत हुने भएका छन् । नेपाल मुक्तक प्रतिष्ठानको कार्यसमितिको बैठकको निर्णयअनुसार व्यक्तित्व चयन समितिद्वारा सिफारिस गरिएका मुक्तक स्रष्टालाई सम्मानित एवं पुरस्कृत गर्न लागेको हो । प्रतिष्ठानले लामो समयदेखि मुक्तक साहित्यमा योगदान दिएका मुक्तककार यादव खरेललाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ ५१ हजार रुपैयाँ तथा मुक्तककार रुद्र ज्ञवालीलाई ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ ३१ हजार रुपैयाँ राशिसहित प्रदान गर्ने निर्णय गरेको छ । खरेलको २०३० सालमा यादव ‘खरेलका मुक्तकहरू’ मुक्तक संग्रहलगायत विभिन्न विधाका आठ कृति प्रकाशित छन् ।

उनी यसअघि हिरण्यकुमारी कार्की पुरस्कार, रत्नश्री स्वर्ण पदक, छिन्नलता गीत पुरस्कार, सर्वश्रेष्ठ चलचित्र निर्देशक राष्ट्रिय पुरस्कार लगायतका विभिन्न पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।
यसैगरी, रुद्र ज्ञवालीका ‘उन्मुक्त आकाश’ (२०६६) र ‘रुझेर अग्निवर्षामा’ (२०७५) मुक्तक संग्रहलगायत विभिन्न विधाका सात कृति प्रकाशित छन् । उनी यसअघि छविलाल सिर्जनशील पुरस्कार, सिद्धार्थ साहित्य पुरस्कार, भानु साहित्य पुरस्कार, प्रलेस प्रतिभा पुरस्कार, लुम्बिनी साहित्य पुरस्कार, टेकध्वज खाती–लक्ष्मीदेवी खाती साहित्यसेवा पुरस्कार लगायतका पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाली आधुनिक मुक्तक लेखनका आरम्भकर्ता भीमदर्शन रोकाको सम्मानमा ‘भीमदर्शन मुक्तक पुरस्कार’ र अग्रज मुक्तककार कृष्णप्रसाद पराजुली, रत्नशमसेर थापा र चेतन कार्कीको सम्झना र सम्मानमा ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ स्थापना गरिएका हुन् ।

नेपाल मुक्तक प्रतिष्ठानद्वारा वार्षिकोत्सव तथा मुक्तक दिवसको अवसर पारेर हरेक वर्ष प्रदान गरिने यी पुरस्कार नेपाल मुक्तक प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष रामकाजी कोनेले स्थापना गरेका हुन् । दुवै पुरस्कार आगामी माघ १८ गते प्रतिष्ठानको दसौँ वार्षिकोत्सव तथा मुक्तक दिवसका अवसरमा काठमाडौंमा एक समारोहको आयोजना गरी प्रदान गरिने छन् । सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित स्मारिकाको लोकार्पणसमेत गरिने छ ।

प्रतिक्रिया