लामिछानेको सम्झना

काठमाडौं । नेपाली साहित्यका विशिष्ट प्रतिभा निबन्धकार शंकर लामिछानेको ४७औं स्मृति दिवसको अवसर पारेर उनको योगदानको परिचर्चा गरिएको छ । शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा मंगलबार राजधानीमा भएको कार्यक्रममा वक्ताले नेपालीआत्मपरक निबन्धका क्षेत्रमा देवकोटा र शंकर लामिछाने अद्वितीय प्रतिभा भएको बताए । उनीहरुले लामिछानेका निबन्धका विषय र शैलीलगायत विभिन्न पक्षका बारेमा विश्वविद्यालयबाट शोधको खाँचो रहेको जिकिर गरे ।

प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. रामदयाल राकेशले लामिछाने कलमका जादूगर भएको बताउँदै नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएको बताए । कवि एवं समालोचक प्रमोद प्रधानले ५० वर्षभन्दा अघिको समयमा लेखिएका लामिछानेका निबन्धहरू विषय, भाव, बौद्धिकता, गाम्भीर्य, कलात्मकता र शैली सबै दृष्टिबाट विशिष्ट रहेको धारणा राखे । उनले भने, ‘उनका निबन्धमा जीवनप्रतिको चिन्तन, अध्ययनबाट प्राप्त ज्ञान र बौद्धिकता र विभिन्न क्षेत्रमा कार्यरत रहँदाका अवस्थामा प्राप्त अनुभवहरूको समष्टिगत प्रस्तुति भएको पाइन्छ ।’

सो कार्यक्रममा निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले लामिछानेलाई पत्रपत्रिकाका सम्पादकले अग्रीम पारिश्रमिक दिएर निबन्ध लेख्न लगाउने गरेको सन्दर्भ उल्लेख गर्दै त्यसबाट पनि उनको साहित्यिक मूल्य र स्तरको मापन गर्न सकिने विचार व्यक्त गरे । उनले लामिछाने एक इमानदार स्रष्टा भएको जिकिर गरे । नियात्राकार प्रतीक ढकालले आफ्नो पुस्ता लामिछाने लगायतका स्रष्टाका निबन्ध पढेर हुर्केको साहित्यिक पुस्ता भएको स्मरण गर्दै उनको योगदानका बारेमा जति चर्चा परिचर्चा हुनुपर्ने थियो, जति लेखिनुपर्ने थियो, त्यस्तो हुन नसकेको बताए ।

निबन्धकार श्रीबाबु कार्कीले सञ्चालन गरेको सो कार्यक्रममा साहित्यकार देवीभक्त श्रेष्ठ (झापा), नरेन्द्रबहादुर श्रेष्ठ, नरेन्द्रराज पौडेल, डा. गोविन्दमान सिंह कार्की, शंकर भारती, डब्बु क्षेत्री, सुशीला देउजा, संगीता शर्मा, मन्जिला अनिल, पारस नेपाल, मुरारि सिग्देल, रमेश दाहाल, डिआर राई, डिल्लीरमण सुवेदी, रिपेश गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया