नगरपालिकाले लियो कृषि उपजको बजारीकरणको जिम्मा

कर्णाली वेभरेज र किसानबीच सम्झौता

रुकुम पश्चिम । किसानका कृषि उपज आठबिसकोट नगरपालिका आफैँले खरिद गर्ने व्यवस्था मिलाएपछि यहाँका किसान खुसी भएका छन् । नगरपालिकाको सवारीसाधन लिएर नगरप्रमुख आफैँ किसानका घरघरमा पुगेर फलपूmल खरिद गरेका छन् । बारीबाटै आफूले लगाएको किबी र सुन्तला धमाधम पालिकाले बजारीकरणको जिम्मा लिएपछि यहाँका किसान हर्षित बनेका छन् ।
कृषि उपज बिक्री हुँदैन कि भन्ने समस्याबाट आठबिसकोटका किसान मुक्त भएका छन् । किसानको बारीमै गएर यसरी ल्याइएका ती कृषि उपज आठविसकोट–१० मा रहेको कर्णाली बेभरेजले जुस तथा वाइन उत्पादनको लागि संकलन गर्दै आएको छ । कृषकलाई नगरपालिकाले किबी, सुन्तलालगायत हरिया फलफूलका बिरुवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
‘कृषिलाई पहिलो प्राथमिकता दिँदै किसानलाई व्यावसायिक खेतीतर्फ उन्मुख गरिरहेका बेला उनीहरूका उत्पादनलाई बेवास्ता गर्ने हो भने किसानमा निराशा देखिन सक्छ’, नगरप्रमुख रवि केसीले भने, ‘किसानको जोश, जाँगर र परिश्रमको मूल्यांकन गर्दै नगरपालिकाले किसानका अहिलेका उत्पादन खरिद गर्ने निर्णय गरेका हौँ ।’

आठबिसकोट नगरपालिका–८ का कर्ण घर्तीलाई खेतमा किबी फल्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उनले हरेक वर्ष करिब पाँच÷६ क्विन्टल किबी उत्पादन गर्छन् । पालिकामा धेरैले किबी खेती लगाएपछि उत्पादन हुने समय एकै हुँदा बजारमा उहाँलाई झट्ट बिक्री गर्न समस्या हुन्थ्यो । कहिलेकाहीँ त घरमा भण्डारण गरेर राखिएको नबिकेर त्यत्तिकै कुहाउनु पनि पथ्र्यो । अहिले भने आठबिसकोट नगरपालिकाले किसानले उत्पादन गरेको किबीलाई बजारीकरण गरिदिएपछि यहाँका किसान उत्साहसहित किबी खेतीमा लागेका छन् ।
त्यस्तै आठविसकोट नगरपालिका–१० का टीकाराम शाहीले वर्षमा २५ क्विन्टल किबी उत्पादन गर्छन् । खेतमा लगाइएको किबीलाई बजारीकरण गर्न समस्या हुन्छ कि भनेर चिन्तामा थिए । तर, नगरपालिकाले खरिद गरिदियो, शाहीले भने गाउँघरमा किबी बिक्री हुने सम्भावना थिएन । बजार लैजान पनि दुई घण्टाको बाटो हिँड्नुपर्ने कसरी कहाँ लिएर बिक्री गर्ने भनेर चिन्ता थियो । गाउँघरमै आलुसँग साट्ने योजना बनाएको थिएँ । नगरपालिकाले आफ्नै सवारीसाधन ल्याएर बोटबाटै खरिद गर्दा खुसी छु । अब अन्य खाली रहेको जग्गामा पनि किबी खेती लगाउँछु ।
नगरपालिकाले कृषि उपजको बजारीकरणको जिम्मा लिएपछि शाही जस्तै अन्य किसानलाई आफूले उत्पादन गरेको उपज बिक्री गर्न सहज भएको छ । किबीको बिरुवा लगाएको दुई वर्षमै किबी फल्न थालेपछि यहाँका किसान उत्साहित भएका छन् । पालिकाको खदी, घारीखोला, बार्खु लगायतका ठाउँबाट सुन्तला खरिद गरिएको छ । कर्णाली वेभरेज र किसानबीच सम्झौता भएपछि नगरपालिकाले निःशुल्क ढुवानी सेवा उपलब्ध गराएको छ । सम्झौतापछि किसानले उत्पादन गरेको कृषी उपजले बजार पाएको छ ।

‘धेरै किबी, सुन्तला उत्पादन भएपछि घरमा भण्डारण गरेर राख्ने ठाउँको अभाव, बजारमा झट्ट बेच्नै गाह्रो, समयमा नै किसानको उत्पादनन बिकेर बाहिरका विभिन्न बजारमा कम मूल्यमा पठाउने समस्या हटेको छ, कर्णाली वेभरेजका अध्यक्ष दलबहादुर शाहले भने, बजारीकरणको राम्रो प्रबन्ध नहुँदा कहिलेकाहीँ लगानी नउठ्ने गरी बेच्नुपथ्र्यो, अब यस्तो समस्या भोग्न नपर्ने भएपछि किसानलाई धेरै सजिलो हुने भयो’, हामीले किसानले उत्पादन गरेको उपज बारीमै पुगेर होलसेल मूल्यमा खरिद गरेका छौँ ।

खरिद गरेको फलफूलबाट वाइन उत्पादन गरिने अध्यक्ष शाहले जानकारी दिए । उनका अनुसार काठमाडौं, नेपालगञ्ज, सुर्खेत, घोराई र पोखराजस्ता सहरहरूमा डिलर राखिएको छ । सुन्तला प्रतिकेजी १ सय ५० र किबी प्रतिकेजी १ सय २५ रुपैयाँमा खरिद गरिएको छ । पालिकाभरबाट किबी ४ सय ५० क्विन्टल र सुन्तला ८० क्विन्टल खरिद गरिएको कर्णाली वेभरेजका अध्यक्ष शाहले बताए ।

‘फलफूलको उत्पादन वृद्धि गरी आयस्रोत बढाउने, बाहिरबाट आयातित फलफूललाई घटाउने, रोजगार सिर्जना गर्न नगरले किसानको मागको आधारमा किबी, सुन्तला उत्पादन तथा प्रवद्र्धन कार्यक्रम सुरु गरिएको छ’, नगरप्रमुख रवि केसीले भने । उनका अनुसार यस कार्यक्रममा करिब दुई सय किसान आबद्ध छन् । झण्डै पाँच सय क्विन्टल फलफूल खरिद गरेर ल्याइएको बताए । आठबिसकोटमा उत्पादन भएको कृषि उपज सो कम्पनीले खरिद गरेर लैजाने सम्झौता भएपछि किसानले उत्साहित हुँदै किबी र सुन्तलाखेती लगाएका छन् । ‘किसानले उत्पादनमा जोड दिनुप¥यो उत्पादित सामानले बजार नपाएमा त्यसको बजारीकरणको व्यवस्था नगरले गर्नेछ’, नगरप्रमुख केसीले भने । पछिल्लो समय आठबिसकोटमा किबीको उत्पादन राम्रो हुन थालेपछि आयस्रोतको एउटा दरिलो माध्यम बनेको छ ।

उक्त उद्योगले जिल्लाभरको उत्पादनलाई खरिद गर्दै आएको छ । करिब १८ करोड लगानीमा बनेको कर्णाली वेभरेजमा नगरपालिकाले ४० प्रतिशत लगानी गरेको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया