आगोको भरमा सुत्केरी गराउँदै स्यालाखदी स्वास्थ्यचौकी

रुकुम पश्चिम । जिल्लाको आठविसकोट नगरपालिकाको स्यालाखदी स्वास्थ्यचौकीमा बिजुलीको अभावले आगोको उज्यालोमा सुत्केरी गराउने गरिएको छ । गत सोमबार सुत्केरी व्यथाले च्यापेर उक्त स्वास्थ्यचौकी पुगेकी आठविसकोट–२ पहाडाकी २५ वर्षीया पूजा बुढाले आगोकै उज्यालोमै छोरा जन्माइन् । सोमबार राती १२ बजे अस्पताल पुगेकी बुढाले साढे २ बजेतिर छोरालाई जन्म दिएकी थिइन् । पहाडाबाट एक घण्टाको पैदल दुरीमा रहेको उक्त स्वास्थ्यचौकीमा आगोकै उज्यालोमै स्वास्थ्यकर्मीले सेवा दिने गरेका छन् । प्रसूति गृहमा बिजुलीको व्यवस्थापन नहुँदा गर्भवती महिला टर्च, लाइट, आगो र क्यान्डिलको उज्यालोमा बच्चा जन्माउने गरेका हुन् । सदुरमकाम खलंगाबाहेक अन्य दुर्गम भेगका गर्भवती महिलाले लामो समयदेखि यसरी नै बच्चा जन्माउने गरेको स्थानीय महिला स्वयंसेविकाले बताउने गरेका छन् ।

आठबिसकोट–२ स्यालामा रहेको स्वास्थ्यचौकी तथा प्रसूति गृहमा बिजुली छैन । इन्टरनेट चल्दैन । जसका कारण यहाँ स्वास्थ्य सेवादिन निकै गाह्रो छ । ‘एउटा स्वास्थ्यचौकीमा हुनुपर्ने कुनै पनि पुर्वाधार छैन’, स्वास्थ्यचौकी इन्चार्ज चेतना यरीले भनिन्, ‘दुर्गमका स्वास्थ्यचौकीमा पूर्वाधार अभावले आफैँ बिरामी परिन्छ । उपचारको लागि आउने बिरामीको कसरी उपचार गर्ने ? भौतिक पूर्वाधार र जनशक्ती नहुँदा स्वास्थ्य सेवा दिन कठिनाइ हुने गरेको छ । स्यालाखदीको स्वास्थ्यचौकीले ओपिडी सेवा, गर्भजाँच र बर्थिङ सेन्टरको सेवा दिइरहेको छ । सिस्ने हिमालको फेदैमा रहेकोले जाडोयाममा अत्यधिक चिसो हुन्छ । चिसोमा सुत्केरी र बच्चालाई न्यायो चाहिन्छ तर यहाँ स्वास्थ्यचौकीमा रहेको बर्थिङ सेन्टरमा आगोको भरमा सञ्चालन भइरहेको छ । स्वास्थ्य चौकीमा सुत्केरी हुन आउनेहरूलाई आगो बालेर उज्यालो र न्यानोपना गराइँदै आइएको छ ।

स्वास्थ्यचौकीमा उपचारका लागि आउने बिरामीलाई आगोकै भरमा उपचार गर्नुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बिजुलीको व्यवस्था नभएपछि सेवाग्राही र कर्मचारीले सास्ती खेप्नुपरेको छ । रातीको समयमा आउने सुत्केरी तथा अन्य आकस्मिक उपचारका लागि आउने बिरामीलाई टुकी बालेर उपचार गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीले गुनासो गर्दै आएका छन् । उक्त स्वास्थ्यचौकीमा पाँच जनाको दरबन्दी रहेकोमा चार वर्षदेखि दुई जना अनमीले मात्रै सेवा दिँदै आएका छन् । लामो समयदेखि समस्या राख्दासमेत स्यालाखदी स्वास्थ्यचौकीमा कर्मचारी नै नपठाउने गरेको इन्चार्ज यरीले बताइन् । उनी भन्छिन्, ‘स्वास्थ्यचौकीले दिनुपर्ने सेवा सबै दिन्छौँ’, तर ‘पूर्वाधार अभावले प्रभावकारी स्वास्थ्य सेवा दिन सकेका छैनौँ ।

‘मुख्य समस्या बिजुलीको हो’, बिजुली भएको भए सुत्केरीलाई हिटरबाट ताप दिन सकिन्थ्यो उनले भनिन्, ‘हालसम्म यस वडामा विद्युत् आपूर्ति हुन सकेको छैन ।’ उज्यालोका लागि स्वास्थ्यचौकीमा जडान गरिएको सोलारबाट प्रसूति गृहमा दुई÷तीन घण्टा मात्र काम गर्ने उनको भनाइ छ । ब्याट्री ब्याकअप पनि नभएकाले समस्या भइरहेको छ ।

बत्ती नहुँदा सुत्केरी गराउने बेला कहिले मोबाइलको टर्च र कहिले आगो, टुकी बालेर सेवा दिनुपर्ने सिनियर अनमी चेतना यरीले बताइन् । उनले भनिन्, ‘अहिलेसम्म स्वास्थ्य संस्थाबाट २ सय ३९ जना आमाले सुत्केरी सेवा लिएका छन् । प्रसूति गृहमा बिजुली नहुँदा समस्या भएको छ ।’ रातीको समयमा सुत्केरी हुनका लागि आएपछि अँध्यारोमा सुत्केरी गराउन कठिन हुने गरेको अनमि चेनता यरीले बताइन् ।

सुत्केरी मात्र होइन अन्य रोगका कारण राती आउने बिरामीको उपचार मोबाइल र दाउराको उज्यालोमा हुने गरेको छ । ०७५ सालमा उद्घाटन भएको प्रसूति गृहमा २ सय ३९ जनाले सुत्केरी सेवा लिएका छन् । अँध्यारोमा आमा र बच्चाको ज्यान जोखिममा राखेर डर लाग्ने गरी सुत्केरी गराउने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

स्वास्थ्यचौकीमा दुई जना मात्रै कर्मचारी हुँदा आफूहरू बिरामी पर्दा र बिदा लिँदासमेत कठिनाइ हुने गरेको स्वास्थ्यचौकी इञ्चार्ज चेतना यरीले बताइन् । रुकुम पश्चिममा २४ वटा स्वास्थ्यचौकी र एउटा प्राथमिक स्वास्थ्य केन्द्र छन् । सामान्य बिरामी पर्दा पनि डोको र स्टेचरको सहारामा बिरामी बोकेर स्वास्थ्यचौकी र सदरमुकाम मुसिकोटसम्म ल्याउने बाध्यता छ ।

स्वास्थ्यचौकीमा २४ घण्टा विद्युत्को सेवा हुनुपर्नेमा विद्युत् नहुँदा स्वास्थ्य उपचारमा समस्या भइरहेको छ । रातीको समयमा आगोको प्रयोग गरी प्रसूति गराइन्छ भने सुत्केरी आमा एवं अन्य बिरामीलाई तातोको लागि आगो बालेर सेवा दिइराख्नु परेको स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्यकर्मीलाई रातीको समयमा विशेष गरी सुत्केरी र अन्य इमरजेन्सी बिरामीको उपचारमा समस्या हुने गरेको छ ।

प्रतिक्रिया